सामाजिक सञ्जालको सुरक्षित प्रयोग

भुवन पोख्रेल
अहिलेको युग विज्ञान र प्रविधिको युग हो । सूचना प्रविधिको यो युगमा हामीले आफ्नो कति समय यसमा खर्चन्छौँ । मानिसले सामाजिक सञ्जालको सदुपयोग गरिरहेको छ कि आफ्नो उत्पादनशील समय त्यतिकै सामाजिक सञ्जालमा खर्चिएको छ । यसको हेक्का राख्ने समय आइसकेको छ ।
वास्तवमा भन्ने हो भने मानिसले आफ्नो जीवनको असीमित र बहुमूल्य समय अनलाइनमा समर्पित गर्दै गरेका छन् । उनीहरुलाई आफ्नो उर्जाशील र सिर्जनात्मक समय अनलाइन संसारमा बिताउँदा वास्तविक संसारको हेक्कासम्म पनि छैन । भर्चूअल दुनियाको मुठ्ठीमा एउटा प्राणी कैद भइरहँदा पनि उ अनलाईन सिर्जना र संसारमा रमाइरहेको हुन्छ । एक आपसमा सम्बन्ध जोड्ने भनी आएका सामाजिक सञ्जालहरुका माध्यमहरुले मानिसलाई एक आपसमा जोड्नेभन्दा तोड्नेतर्फ धकेलिदिएको छ । जति सम्बन्ध जोडेको छ त्योभन्दा बढी समाजमा व्यक्तिहरु विघटन हुँदै गएका छन् । आस्था, विश्वास र सम्बन्धहरु निर्माण हुनुको सारी, भत्कँदै गएका छन् ।
 सामाजिक सञ्जालका प्लेटफम फेसबुक, युट्युब, स्टाग्राम, भाइवरले छोटो समयमै युवा, बालक, वृद्ध सबैको मन जितेका छन् । फोटो, समाचार, भिडियो पोष्ट गर्न सकिने, तुरुन्तै प्रतिक्रिया दिन वा टिप्पणी गर्न सकिने सुविधाका कारण विश्वव्यापी रुपमा सामाजिक सञ्जालप्रतिको आकर्षण द्रुतगतिमा बढ्दै गयो । यसले धेरै प्रयोगकर्तालाई आफ्नो दुनियामा लामो समयसम्म व्यस्त राख्न सफल रह्यो । सामाजिक सञ्जालको प्रयोग गर्ने व्यक्तिको स्वभाव र प्रवृति सबैको एकैनासको हुँदैन । सबैले सकारात्मक मात्र सामग्री पोष्ट गर्दैनन् । सकारात्मक र नकारात्मक दुवै किसिमका सामग्री पोष्ट गर्दछन् । प्रतिक्रिया देखाउनेहरुले पनि नकारात्मक र सकारात्मक दुवै किसिमका प्रतिक्रिया देखाउँछन् । मान्छेको स्वभाव फेरि आफ्नोभन्दा अर्काको बारेमा धेरै चासो दिने हुन्छ ।
 कोही–कोही त छन् अरुको जीवनमा के भइरहेको छ भनेर अवलोम मात्र गरिरहने खालका हुन्छन् जसले गर्दा सामाजिक सञ्जालले व्यक्तिको व्यक्तिगत जीवन नै लिलामी गरिदियो । निजी जीवन र गोपनीयतामाथि नै यसले निर्मम प्रहार गरिदियो । व्यक्ति कहाँ छ के गर्दैछ । सबैकुरा सामाजिक सञ्जालबाट छरपष्ट भएर सामाजिक सञ्जाल एउटा सुन्दर फलभित्रको किरा सावित भएको छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले व्यक्तिको मानसिक स्वास्थ्यमै असर पार्दछ जस्तैः चिन्ता, तनाव, दुखी, असन्तुष्ट, डिप्रेसन जस्ता रोगका सिकार समेत बन्न बाध्य पार्दछ ।
 सामाजिक सञ्जालका रमाइला घुमफिर, तस्वीरहरु हेरे मानिसले आफू र अरुको जीवनको मूल्यांकण गर्दछ र तुलना गर्दा आफूलाई असन्तुष्ट भएको महसुस हुन सक्छ । वास्तवमा बुझ्न के जरुरी छ भने सामाजिक सञ्जाल यथार्थ होइन भ्रम मात्र हो । अरुले वास्तविक जीवनमा सफलता र प्रगति गरेका हुन्छन् भने सामाजिक सञ्जालमा झुम्मिनेहरु त्यही सफलताका कथामा रमाएर आफ्नो वास्तविक जीवनको लक्ष्य के हो ? पत्ता लगाउन नसकि ग्भ्रिमित हुन पुग्दछ ।
अहिलेका युवाहरुले अधिकांश समय सामाजिक सञ्जालमा बिताइरहेका हुन्छन् त्यो समय उत्पादनमूलक क्षेत्रमा भए त ठिकै हो अनुत्पादक क्षेत्रमा प्रयोग भए समय र श्रम दुवैको बरवादी हुन्छ । यस्ता सामाजिक सञ्जाल फेसबुक, टुीटर, टिकटक, युट्युब जस्तालाई कसरी सुरक्षित रुपमा प्रयोग गर्ने अहिले चुनौती थपिएको छ । सामाजिक सञ्जालसँग व्यक्तिको परिचय समेत जोडिएको हुन्छ । यदि कसैले तपाईको सामाजिक सञ्जालमा पहुँच पाएको खण्डमा त्यसले तपाईको जीवनमा पार्न सक्ने क्षतिको आंकल गर्न जरुरी छ ।
अहिलेको समयमा सामाजिक सञ्जाल विश्वमा सञ्चारको प्रमुख माध्यम बनेको छ । सामाजिक सञ्जालले हामीलाई हाम्रा विचारहरु, समाचारहरु, सूचनाहरु, कागजातहरु साझा गर्न सक्षम बनाउँछ । सामाजिक सञ्जालमा सधै प्रश्न चिन्ह हुन्छ । चाहे हाम्रो लागि बरदान हो वा अभिशाप तर सामाजिक सञ्जालले हामीलाई अझ उन्नत बनाएको छ र यसले सञ्चारको क्षेत्रमा कान्तिकारी परिवर्तन ल्याएको छ भन्ने तथ्यलाई हामी नकार्न सक्दैन ।
सामाजिक सञ्जालको प्रयोग हाम्रो जीवनको एक अभिन्न हिस्सा हुन पुगेको छ । सूचना र प्रविधिको विकाससँगसँगै सामाजिक सञ्जालले गर्दा विश्वलाई नै सानो गाउँ बनाइदिएको छ । आजभोलि सामाजिक सञ्जालका माध्यमबाट नै विरोध र समर्थन, दवावलगायतका परिवर्तनका लागि आन्दोलन समेत हुने गरेका छन् । सामाजिक सञ्जाल राजनीतिको संसाधन समेत बनेको छ किनभने यसबाट सूचनाहरु यतै चाडै जनता समक्ष पुग्दछन् र प्रभावमा पार्न सहज हुन्छ । सामाजिक सञ्जालले मानिसका दवित, उत्पिडीत आवाजहरुलाई सहज र सरल तवरमा न्यायको बाटोमा लान सहज बनाइदिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिएको समयमा पनि नजिकको साथठी सामाजिक सञ्जाल बन्न पुग्यो । बन्दाबन्दीको अवस्थामा एक्लै घरमा बस्नु पर्दा सामाजिक सञ्जालले एक्लोपनको महसुस गर्न दिएन । सामाजिक सञ्जाल नै खबर आदानप्रदान गर्ने माध्यम बन्यो । विद्यालयको पठनपाठन, संस्थाका काम, कार्यालयका क्रियाकलापहरु सामाजिक सञ्जालको माध्यमबाट अघि बढेका थिए । सामाजिक सञ्जाल र इन्टरनेटको सही प्रयोगले आगामी दिनहरुमा पनि ८० प्रतिशत काम घरभित्रबाट नै गर्न सकिन्छ ।
मानिसको अमूल्य समयमा सामाजिक सञ्जालमा बढी नचाहिँदो च्याट र टाइमपासको लागि प्रयोग भइरहेको छ । यिनै नचाहिने काम र सोचाइले समाज विकृतितिर ढल्किरहेको पनि हामी अनुमान गर्न सक्छौ । आज समाजमा सामाजिक सञ्जाललाई सही रुपमा प्रयोग गर्न सकिएन भने यसैका आडमा विभिन्न साइक्राइम जस्ता घटनाहरुमा बढोउत्तरी हुन सक्छ । सामाजिक सञ्जाल अवास्तविक वा भर्चूअल भएकाले सामाजिक दुरी र मानिसलाई समाजबाट एकलकाटे बनाउन पनि सक्दछ र मानिस असामाजिक पनि हुन सक्दछ । सामाजिक सञ्जाल वर्तमान समयमा क्षमता अभिवृद्धिको प्रमुख साधन भएको छ । त्यसैले सामाजिक सञ्जाललाई एउटा अवसरको रुपमा प्रयोग गर्नु पर्दछ । त्यसर्थ हामीले प्रत्येक पटक सामाजिक सञ्जालको प्रयोग गर्नुभन्दा पहिला के का लागि र किन गर्दैछु ? कति समय गर्छु ? भन्ने विषयमा सोच विचार गर्नु पर्दछ ताकी यसको दुरुपयोग नहोस् ।
पछिल्लो समयमा नेपाली समाज धेरै हदसम्म सु–सूचित र जानकार भइसकेको छ । सञ्चार क्षेत्रमा आम जनताको पहुँच जवर्जस्त स्थापित हुन पुग्नु पनि यसको सकारात्मक पक्ष नै हो तर सामाजिक सञ्जालको बर्गेल्ती भीडमा यसलाई नियमन गर्न साइबर ब्युरोको व्यवस्थापनको पक्षलाई अझै प्रभावकारी बनाउन आवश्यक छ ।
सामाजिक सञ्जाललाई एकअर्काको विरुद्धमा अस्त्र बनाएर प्रयोग गर्ने, बदनाम गर्न खोज्ने, अनावश्यक टिका टिप्पणीको थलो बनाउन खोज्ने, संगठित साइबर समूह बनाउने, अमर्यादित गाली गलौजमा उत्रिने, आशिष्टता प्रदर्शन गर्ने, अश्लिलता प्रदर्शन गर्ने, समाज र राष्ट्रलाई हानी गर्ने कुरा शेयर गर्ने जस्ता गलत क्रियाकलापले नयाँ पुस्तालाई सक्ने कहाली लाग्दो चित्र आँखा अगाडि नै घुमिरहेको पनि छ । तसर्थ सामाजिक सञ्जाललाई आफ्नो निहित स्वार्थ र मनोरञ्जनको साधन मात्र नबनाएर यसमा खर्च हुने समय उत्पादशिल विषयमा उपयोग गरौँ ।
आफ्नो, अध्ययन, अनुसन्धान र राष्ट्रको हितमा सञ्जालको प्रयोग गरी ज्ञान प्रणालीलाई विकसित तुल्याउन उपयोग गर्न सकिन्छ । निजी र सार्वजनिक सेवा प्रवाहमा समेत यसको प्रयोगबाट समूचित फाइदा लिन सकिन्छ । सामाजिक सञ्जाललाई आफ्ना विचारm भावना र अनुभव आदानप्रदान गन, नयाँ प्रविधि र सिकाइ श्रेष्ठता हासिल गर्न र राष्ट्रहिनमा प्रयोग गर्न सकिन्छ ।
अहिलेको प्रविधिको युगमा स्मार्ट फोन र सोसियल साइट्सको प्रयोग अब प्रायः सबै उमेर र हरेक क्षेत्रका पेसा व्यवसायमा जरुरी भइसकेको छ । यसमा भएका एप्स र सोसियल साइट्स, जिन्दगिका महत्वपूर्ण हिस्सा बनिसकेका छन् । विशेषतः सोसियल साइट्स वा सामाजिक सञ्जाललाई मनोरञ्जन र समाचार संयन्त्रका रुपमा मात्र होइन, स्ट्यासटसको रुपमा समेत हेर्न थालिएको छ । कसका कति फलोबर छन्, कति लाइक र कमेन्ट आउँछ, यो होडमा अहिलेको जेनेरेसन अभ्यस्त भइसकेको छ । यसैको फाइदा उठाएर सामाजिक सञ्जालले आफ्नो व्यापारलाई अगाडि बढाइरहेका छन् ।
अहिले हरेक मानिस स–साना भिडियोहरुमा रमाउने प्रच्लन बढेको छ । समय बिताउन भन्दै विभिन्न साइट्स चलाउने बानी हरेक व्यक्तिका लागि अहिले अत्यन्त सामान्य भइसकेको छ तर सामाजिक सञ्जालले तपाई हामीलाई एक्लाइरहेको छ या अझै स्मार्ट बनाइरहेको छ, यो विचार गर्न जरुरी छ । सामाजिक सञ्जालको कारण संसारभरको सूचना र समाचार तत्काल तपाईले प्राप्त गर्न सक्नुहुन्छ । जुन अवस्था सामाजिक सञ्जालकै कारण सिर्जना हुन पुगेको हो । कुनै व्यापार व्यवसायका लागि एक्काइसौँ शताब्दीको उपलब्धको रुपमा आएको सामाजिक सञ्जाल ठुलो मार्केटिङ च्यानल बनिरहेको छ । जसले तपाईको व्यापार व्यवसायलाई उन्नत र विकसित गर्न मद्दत पु¥याएको छ ।
यसका साथै सामाजिक सञ्जालले अहिले संसारभर क्रान्ति सिर्जना गर्ने गतिलो माध्यम बन्न पुगेको छ । सामाजिक सञ्जाल विश्वभर सचेतना जगाउने र परिवर्तन गर्ने माध्यम बन्न पुगेको छ । सामाजिक सञ्जाल अहिले विश्वभर हरेक कुनामा रहे पनि आइडिया शेयर गर्ने गतिलो प्लेटफर्म बन्न पुगेको छ । सामाजिक सञ्जालमा प्रस्तुत भएका विभिन्न आइडियाका कारण संसारको एउटा कुनाबाट अर्को कुनामा यस्ता आइडिया आदानप्रदान भइरहेका छन् । यो सामाजिक सञ्जालकै देनको रुपमा लिन सकिन्छ । हुनत सामाजिक सञ्जालले मानिस जीवनमा आमूल परिवर्तन ल्याएको छ । सामाजिक सञ्जाल सही प्रयोग गर्ने हो भने तपाईहरुको हातहातमा सानो कम्प्युटर वा स्मार्ट फोन छ । यसले तपाईहरुलाई हरेक क्षेत्रमा अपडेट तुल्याउँछ ।
यदि गलत प्रयोग गर्नु भयो भने सामाजिक सञ्जाल तपाईका लागि अभिसाप सावित हुन्छ । सामाजिक सञ्जाललाई नियमन गने र यसको उचित प्रयोग गर्नका लागि राज्यले नै आम मानिसलाई सचेत र सजग गर्ने पहल गर्न जरुरी छ । सूचना प्रविधिको दुततर विकाससँगै सामाजिक सञ्जालप्रतिको आकर्षण बढिरहेको छ । किशोरकिशोरीदेखि वृद्धवृद्धामा समेत सामाजिक सञ्जालप्रति मोह जागेको छ तर पछिल्लो समय यसको प्रयोगसँगै दुरुपयोगका घटना बढिरहेका छन् । यसले सामाजिक जीवनलाई नै आक्रान्त पारेको छ । यसलाई निरुत्साहित गर्न नसक्ने हो भने आर्थिक हिसाबले विपन्न र अरुले आविष्कार गरेको प्रविधिमा भर पर्नु पर्ने नेपाल जस्तो मुलुकले अझै क्षति व्यहोर्नु पर्ने छ । नीतिगत तथा व्यवहारिक सुधारबाटै यसको दुरुपयोग रोक्नेतर्फ साझा पहल थाल्नु पर्छ ।
सामाजिक सञ्जालका सकारात्मक पक्ष भने हामीले सधै बिर्सिरहेका हुन्छौ । इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोग गर्न सके विश्वबजारमा सजिलै बिक्न सकिन्छ भन्ने ज्ञान प्रयोगकर्तामा हुनुपर्छ । सामाजिक सञ्जालले कतिपय अवस्थामा व्यक्तिमा रहेका अन्तरनिहित प्रतिभा प्रष्फुटनमा पनि मद्दत गर्दछ । विद्यालय तहको पाठ्यक्रम मै सामाजिक सञ्जाल भनेको के हो ? यसका फाइदा र बेफाइदाहरु के–के हुन् ? यसको उचित प्रयोग कसरी गरिनुपर्छ भन्ने विषयबस्तु समेटिनु पर्दछ । सामाजिक सञ्जाललाई कसरी रचनात्मक काममा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी किशोरकिशोरी अवस्थामा गराउनु पर्दछ । आफ्ना नानीबाबुले सामाजिक सञ्जालमा कस्ता सामग्री हेरिरहेका छन्, त्यही सामग्रीले व्यक्तित्व विकासमा कति सहयोग गराएका छन् भन्ने विषयमा अभिभावक सर्तक हुनु पर्दछ ।
संसारको जुनसुकै कुनामा रहेर पनि हामीले यसको प्रयोगबाट सारा संसारलाई नियाल्न सक्ने खुबी राख्दछौँ । यसको माध्यमबाट हामी कुनै देशको राजनीतिक उथलपुथलदेखि लिएर विश्वमा घटेका जल्दोबल्दो घटनाहरुको बारेमा जान्न सक्छौ । सबैको सूचना आदानप्रदानको सशक्त माध्यम सामाजिक सञ्जाल भएकाले यो एक्लोपन र सुखदुःख बाड्ने साझा चौतारी बन्न पुगेको छ तर सामाजिक सञ्जालको आवश्यकताभन्दा बढी प्रयोगले हाम्रो पारिवारिक मूल्यमान्यतालाई आझेल पार्ने, एकलकाटे, आत्मकेन्द्रित र असामाजिक त बनाइरहेको छैन ।
फेसबुक, इन्स्टाग्राम, भाइबरको आवश्यकताभन्दा बढी प्रयोगले हाम्रो पठनपाठन, स्वास्थ्य तथा दैनिकिमा कस्तो र कति नकारात्मक असर पार्न सक्छ भन्ने विषयमा हामी बेलैमा सतर्क हुनु पर्दछ । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत इन्टरनेटमा प्रदर्शन गर्न नहुने भनी रोक लगाइएका प्रदर्शन गरेमा सजायको व्यवस्था गरिएको छ । यी कानुनी व्यवस्थाहरु कापीका पानामा मात्र नभएर व्यवहारमा पनि उतारिनु पर्छ । वास्तवमा सकारात्मक र नकारात्मक दुवै असरहरु बोकेको सामाजिक सञ्जाल सदुपयोग र दुरुपयोग गर्ने हाम्रै हातमा छ । यसका सकारात्मक पक्षहरुलाई आत्मसात गर्दै यसको सदुपयोग गर्न सिकौँ । सामाजिक सञ्जालको प्रयोग गर्दा सजक बनौँ ।