मेचिकालीको २६ औं बार्षिकोत्सव

दाङ,२४ माघ । घोराही उपमहानगरपालिका–१५ स्थीत मेचिकाली आवासीय सेकेण्डरी स्कुलले आफ्नो २६ औँ बार्षिकोत्सव मनाएको छ । बुधबार विद्यालयमा एक समारोहको आयोजना गरि बार्षिकोत्सव मनाईएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नंं. १५ का वडा अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वडा अध्यक्ष पाण्डेले मेचिकाली विद्यालयले शिक्षामा खेलेको भूमिकाको प्रशंशा गरे । साथै उनले वालवालिकाहरुको शिक्षाका लागि अभिभावकहरु समेत जिम्मेवार बन्नु पर्ने बताए ।

‘शिक्षा आर्जनका लागि विद्यालयको मात्रै दायित्व हुँदैन’, पाण्डेले भने,‘अभिभावकहरुको पनि उत्तिकै जिम्मेवारी हुन्छ, आफ्ना सन्ततीलाई उचित संस्कारसहितको शिक्षाका लागि अभिभावकहरुको भूमिका महत्वपूर्ण हुन्छ ।’

कार्यक्रममा प्याब्सनका बरिष्ठ जिल्ला उपाध्यक्ष विजय जिएमले विद्यालयले पठनपाठनसंगै अतिरिक्त ज्ञान समेत दिलाउनु पर्ने बताए । कार्यक्रममा प्याब्जस घोराही नगर अध्यक्ष विरेन्द्र चन्द,प्याव्सनका जिल्ला निवर्तमान उपाध्यक्ष निर्मल न्यौपाने,नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष सविन प्रियासन,शिक्षक अभिभावक संघका अध्यक्ष मौसम आचार्य,विकास नगर टोल समितिका अध्यक्ष बेचन वली लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सीपल चक्रबहादुर रावतले विद्यालयको शैक्षिक प्रगती विवरण पेश गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए । यसैगरि विद्यार्थीहरुले निर्माण गरेका चित्रकला समेत प्रदर्शनी गरिएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक नवराज खत्रीले गरेका थिए । यसअघि विद्यालयले मंगलबार रक्तदान गरेको थियो । विद्यालयका २६ जना शिक्षक कर्मचारीले रक्तदान गरेका थिए ।