विदेश पलायन रोक्ने नीति ल्याउन आवश्यक : उपाध्यक्ष वैद्य 

तुलसीपुर महोत्सव सुरु
बालाराम खड्का
तुलसीपुर, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले पछिलो समयमा नेपालका युवादेखि उद्योगी व्यवसायीसमेत विदेश पलायन भइरहेको बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरमा सुरु गरेको तुलसीपुर महोत्सव २०८० को उद्घाटन कार्यक्रममा बोल्दै वैद्यले विभिन्न कारणले उद्योगी व्यवसायी विदेश पलायन हुनेदेखि आत्महत्यासम्म गर्ने अवस्था आएको भन्दै अब सरकारले प्रस्ट नीति ल्याउनु पर्ने बताए ।
उनले नेपालमा अब केही हुँदैन भनेर युवा सँगसँगै उद्योगी व्यवसायी विदेश पलायन भइरहेको भन्दै यसलाई रोक्न सरकारले अब नयाँ प्याकेजका कार्यक्रम ल्याउनु पर्ने बताए । ‘नेपालमा आर्थिक क्षेत्र चलायमान अझै पनि हुन सकेको छैन, जबसम्म नेपालमा उद्यमशीलताको विकास र उद्योग क्रान्ति हँुदैन तबसम्म आर्थिक क्रान्ति सम्भव छैन’, वैद्यले भने । उनले प्लस–टु पास गरेर विदेश जाने युवा र विदेशबाट नेपाल फर्किएकालाई व्यावसायिक सिप दिई नेपालमै उद्यमशीलताको विकास गर्नु पर्ने बताए । ‘अब सरकारले कनिका छरेजस्तो अनुदान बन्द गर्नु पर्छ, अहिलेका युवाले खोजेको जस्तो अनुदान दिई यहीँ उद्योग कलकारखाना र उद्यमशीलताको विकास गर्नतर्फ लाग्नु पर्छ’, उपाध्यक्ष वैद्यले भने ।
उनले अहिले नेपालमा अझै पनि डर त्रासको अवस्था भएको भन्दै राष्ट्र बैंकले ऋणको व्याज घटाए पनि केही बैंकले नघटाएको बताए । ‘उद्योगी व्यवसायी धारासायी हुने अवस्था छ, पहिले बैंकको आतङ्क थियो भने अब बैंकले बिमा कम्पनीलाई प्रयोग गरेर बिमा आतङ्क सिर्जना गरेका छन्’, उनले भने । उनले अब बिमा कम्पनीसँग आफूहरू लड्नु पर्ने अवस्था अएकाले जनप्रतिनिधिलाई त्यसमा साथ दिन आग्रह गरे । वैद्यले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसँग युवालाई नेपालमै बस्ने वातावरण बनाउनका लागि कुरा भइरहेको भन्दै विभिन्न प्याकेजका कार्यक्रम ल्याउने कुरा भइरहेको बताए । त्यस्तै उनले दाङमा रहेको विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल गराउन आफूहरूले पहल गर्ने भन्दै सबैले त्यसमा सहयोग गर्नु पर्ने बताए । ‘तुलसीपुरमा रहेको एयरपोर्टलाई स्तरोन्नति गर्न किन कन्जुस्यार्इँ गरिएको छ, यो विडम्बनाको कुरा हो, यसमा सबै लाग्नुहोस्, हाम्रो पनि पहल हुने छ’, वैद्यले भने ।
उनले आर्थिक क्षेत्रलाई चलायमान गराउन तथा विभिन्न सामाजिक तथा शैक्षिक कार्यका लागि मेला महोत्सव आयोजना आफूहरूले देशैभरि गरेको बताए । उनले यस्ता मेला महोत्सवले यहाँको उत्पादन र उद्यमशीलताको विकासका साथै देशविदेशमा प्रचारप्रसार हुने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले तुलसीपुरमा आयोजना गरेको महोत्सवले आफ्नो उद्देश्य पूरा गर्नतर्फ लाग्नु पर्ने बताइन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले पछिल्लो समयमा आर्थिक सङ्कट बढिरहेको भन्दै आर्थिक क्षेत्रलाई चलायमान गराउन सबै लाग्नु पर्ने बताए । उनले यस्ता मेला महोत्सव आर्थिक रकम भित्राउने किसिमका हुनु पर्ने बातए । उनले तुलसीपुरमा रहेको एयरपोर्टको विकासका लागि आफूहरू लागेको भन्दै सबैले सहयोग गर्नु पर्ने बताए । ‘यो एयरपोर्टको विकास किन हुन सकेको छैन, यसमा के शक्ति लागेको छ, अब यहाँ हामीले कम्तिमा ७२ सिटे जहाज बसाल्ने गरी विकास गर्नु पर्छ’, खड्काले भने ।
महोत्सव उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद सुवेदीले यो महोत्सवले विभिन्न सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्य लिएको भन्दै सफलताको कामना गरे । उद्घाटन कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टङ्क बुढाथोकी, चेम्बर अफ कमर्श तुलसीपुरका अध्यक्ष टोपबहादुर घर्तीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण वाणिज्य संघका सहकोषाध्यक्ष बिमल गौतम र वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए । उक्त महोत्सव एक लाखभन्दा धेरैले अवलोकन गर्ने लक्ष्य राखिएको छ । बुधवारदेखि सञ्चालन भएको तुलसीपुर महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुने छ । उद्घाटन हुनु अघि तुलसीपुरमा शोभा यात्रा गरिएको थियो । शोभा यात्रामा विभिन्न संघ संस्थाले ¥यालीसहित झाँकी प्रस्तुत गरेका थिए ।