तुलसीपुर महोत्सवको तयारी पूरा

गोरक्ष समाचारदाता
तुलसीपुर, २३ माघ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको तुलसीपुर महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन उद्योग वाणिज्य महासंघ जिल्ला÷नगर उपाध्यक्ष श्रीकृष्ण वैद्यले गर्ने छन् । वैद्यसँगै कम्तिमा दुई दर्जन बढी उद्योगी व्यवसायी नेतृत्व महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुने छन् ।

महोत्सवस्थलमा व्यवस्थापन गरिएका करिब तीन सय स्टल सबै बुकिङ भइसकेका छन् । महोत्सवमा अटो व्यवसायीदेखि सूचना प्रविधि र कृषिका स्टलसमेत राखिने छन् । स्थानीय व्यवसायीलाई स्टल बुकिङमा सहुलियत दिइएको छ । सचिवालय व्यवस्थापन तथा झाँकी ¥यालीको पनि तयारी भइसकेको छ । विभिन्न भेषभूषा, भाषाभासीहरू तथा विविध संस्कृतिका प्रस्तुती, झाँकी ¥याली तथा शोभायात्रामा प्रस्तुत हुने छन् । कम्तिमा एक सय जति झाँकीले सहभागिताका लागि नाम दर्ता समेत गराइसकेको शोभायात्रा व्यवस्थापन उपसमितिले जनाएको छ । उत्कृष्ट हुने झाँकीलाइ क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिने महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताएका छन् ।

तुलसीपुर महोत्सवका मुख्य आकर्षणमा राष्ट्रिय ख्यातिप्राप्त तथा स्थानीय कलाकारको प्रस्तुती, जातीय पहिचान झल्काउने विभिन्न सांस्कृतिक झाँकी, स्थानीय थारू, मगर तथा नेवार समुदायको फुड फेस्टिवल, राष्ट्रिय लोकदोहोरी तथा क्षेत्रीय लोकनृत्य प्रतियोगिता, आकर्षक बाल उद्यान्न, औद्योगिक व्यापार हस्तकला प्रदर्शनी तथा विक्री, कृषिजन्य उत्पादनको प्रदर्शनी, अटोमोबाइल तथा सूचना प्रविधिको प्रदर्शनी, वित्तीय संस्था तथा अन्य सेवामूलक संस्थाका सेवाबारे जानकारी रहेका छन् । अत्याधुनिक साउण्डसिस्टम सहितको स्टेज तथा आकर्षक मनोरञ्जनात्मक कार्यक्रम पनि महोत्सव अवधिभर आयोजना हुने मूल आयोजक समितिका संयोजक चालिसेले बताएका छन् ।
‘स्थानीय वस्तुको प्रवर्धन, समृद्ध नेपाल निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु हुन थालेको तुलसीपुर महोत्सव–२०८० लाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन आयोजकले आम उद्योगी व्यवसायी, अधिकारकर्मी, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, सञ्चारकर्मीलगायत नागरिक समाजका सबै तह र तप्कालाई हार्दिक आह्वान समेत गरेको छ । यस अघि तुलसीपुर उद्योग वाणिज्य संघले विभिन्न सामाजिक उद्देश्यसहित विभिन्न समयमा चारवटा उद्योग व्यापार तथा पर्यटन महोत्सव सम्पन्न गरिसकेको छ । यो महोत्सव पाँचौँ महोत्सवका रूपमा यो तुलसीपुर महोत्सव आयोजना हुँदै छ ।

केही वर्ष अघि विश्वव्याधि कोरोना भाइरसको सङ्क्रमणका कारण दुई वर्षजति महोत्सवलाई निरन्तरता दिन नसकेको उल्लेख गर्दै आयोजक तुलसीपुर उद्योग वाणिज्य संघले आर्थिक मन्दीका कारण फेरि मेला महोत्सवका लागि प्रतीक्षा गर्नु परेको जनाएको छ । अब विश्व अर्थतन्त्र विस्तारै लयमा फर्कँदै आएको अवस्थामा स्थानीय बजारलाई चलायमान गराउन पनि महोत्सव अपरिहार्य रहेको जनाएको छ । यस अघिका महोत्सवभन्दा यो महोत्सव केही पृथक शैली र पृथक सामाजिक उद्देश्यले आयोजना गरिएको उल्लेख गर्दै आयोजकले महोत्सव सञ्चालनका लागि स्थानीय सरकारबाट पनि मेला महोत्सव सञ्चालन कार्यविधि निर्माण भइसकेकोमा स्थानीय सरकारप्रति आभार व्यक्त गरेको छ । कार्यविधि निर्माणसँगै मेला आयोजनाका सन्दर्भमा हुने विवाद अब नहुने अपेक्षा पनि उद्योग वाणिज्य संघले गरेको छ ।

मेला महोत्सव सम्पन्न गरेपछि केही आर्थिक सङ्कलनको लक्ष्य हुने बताउँदै आयोजकले मेलामा बचत भएको रकमबाट विभिन्न सामाजिक कार्यसँगै आफ्नै स्वामित्वको सभाहलमा भौतिक पूर्वाधारलाई पनि पूरा गर्ने अठोट गरेको छ । यसैगरी महोत्सवबाट सङ्कलन भएको रकमको केही हिस्सा मानव सेवा आश्रमको भवन निर्माणार्थ, अरनीको मैदानको संरक्षण, आर्यकुलम दाङको योग भवन निर्माणार्थ, राप्ती बहिरा संघमा अध्ययनरत बालबालिकालाई अध्यापनमा सहयोग पु¥याउने उद्देश्य रहेको मूल आयोजक समितिले जनाएको छ । साथै तुलसीपुर महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आयोजक मूल समितिले हार्दिक अपिल गरेको छ ।