देउखुरी पब्लिक स्कुलमा खेल सप्ताह सुरु

टेकबहादुर पुन
लमही, २३ माघ । देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयको खेलकुद सप्ताह सुरु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामनारायण चौधरीले सोमवार सप्ताहको विधिवत उद्घाटन गरेका हुन् ।

उद्घाटन सत्रका प्रमुख अतिथि समेत रहेका चौधरीले स्वास्थ्यका लागि खेल अति आवश्यक रहेको बताए । खेलकुदबाट राष्ट्रलाई चिनाउनुका साथै व्यावसायिक सफलता उन्मुख हुने बताए । उनले खेलकुदले आपसी मेलमिलाप गराउनुका साथै समग्र राष्ट्रको नाम विश्वमा पहिचान गराउन सक्ने भएकाले खेलतर्फ चासो दिनु पर्ने बताए ।

स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने नारासहित विद्यालयले प्रत्येक वर्ष खेलकुद सप्ताह गर्दै आइरहेको छ । आपसी मेलमिलापसँगै प्रतिस्पर्धाले विद्यार्थीको मनोबल बढ्ने भएकाले खेलकुदको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल भू–माण्डप केसीले बताए । विद्यार्थीको पढाइसँगै विद्यालयले स्वास्थ्यमा ध्यान राख्दै आइरहेको छ ।

प्रतियोगितामा फुटबल, क्रिकेट, कपड्डी, रिले दौड, हाइजम्प, लङजम्प, सय÷दुई सय मिटर दौडलगायतका खेल समावेश गरिएको खेल संयोजक सन्दीप खनालले जानकारी दिए । विद्यालयका प्रिन्सिपल भु–माण्डप केसीको अध्यक्षतामा भएको कमर्यक्रममा शिक्षक सन्दीप खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक हेमन्त भुसालले गरेका हुन् । खेलकुद सप्ताह एकहप्तासम्म चल्नेछ ।