गोरक्ष समाचारदाता
दाङ, २३ माघ । बंगलाचुली गाउँपालिका–३ लेकतापा निवासी ३० वर्षीया गमला पुनलाई खानेपानी भर्न बिहान ४ बजे उठ्नु पर्ने बाध्यता हटेको छ । अझ खोलामा पानी सुख्खा बन्ने समयमा त मध्यरातमै खोलामा गाउँलेको लाइन लागिहाल्थ्यो अनि आधारातमै खोला झर्नु पथ्र्यो । गाउँमा खानेपानी आयोजना निर्माणसँगै घरमा धारा आएपछि वर्र्षाैँदेखिको खानेपानी समस्या हटेको पुन बताउँछिन । एक छोरा र दुई छोरीसहित परिवारको जिम्मेवारी सम्हाल्दै आएकी पुनलाई घरमै खानेपानीको धारा आएपछि राहत मिलेको छ ।
‘श्रीमान् कमाउन इन्डियामा हुनुहुन्छ, घरमा छोराछोरी सानै छन्’, उनले भनिन्, ‘त्यही भएकाले घरको सम्पूर्ण काम आफैले गर्नु पर्ने बाध्यता छ । त्यसैमाथि अँध्यारोमै उठेर खानेपानी ल्याउन खोला जानु पर्ने बाध्यता थियो तर अहिले घरमै धारा आएपछि सहज भएको छ ।’ गाउँमा खानेपानीको धारा नआउँदासम्म बिहान ३÷४ बजे नै उठेर आधा घण्टा टाढा रहेको निगलेनी स्थित खानेपानीको मुहानमा पुग्नु पर्ने बाध्यता रहे पनि अहिले हटेको बताउँछिन् । ‘वर्षाैँपछि अहिले घरमै खानेपानीको धारा आएको छ । जसले गर्दा खानसँगै घरको काममा सहज भएको छ’, उनले भनिन्, ‘खानेपानी नहुँदा एक गाग्रो पानी ल्याउनकै लागि एक घण्टा हिड्नु पर्ने बाध्यता हटेको छ ।’
घरमै खानेपानीको धारा आएपछि खानेपानी भर्न बिहानै उठ्नु पर्ने स्थानीयको बाध्यतासँगै समयको बचत हुने गरेको लेकतापाकै ४३ वर्षीया बिमला खत्री बताउँछिन् । पहाडको ठाउँमा घरदेखि टाढा रहेको अरुङखोलाको छेउमा खानेपानी ल्याउन जाँदा अँध्यारोमा कहिलेकाहीँ पानीको गाग्रोसँगै लड्नु पर्ने समस्या समेत टरेको उनी बताउँछिन । वर्षाैँदेखि भोगेको खानेपानीको समस्या सम्झँदै खत्री भन्छिन्, ‘वर्षाैँपछि गाउँमा खानेपानीको धारा आउँदा आधा दुःख हटेजस्तो भएको छ, अहिले खानेपानी मात्र होइन, सरसफाईसँगै गाईबाख्रालाई पानी खुवाउन समेत सजिलो भएको छ ।’ पुरुषहरू कमाउन इन्डिया जाने र घरको काम महिलाले गर्नु पर्ने बाध्यताका कारण महिलालाई धेरै दुःख हुने गरे पनि अहिले हटेको उनी बताउँछिन् । ‘अहिले एक दिन बिराएर धारामा आधा घण्टा पानी आउँछ, त्यो पानीलाई दुई दिनसम्म बचाएर राख्नु पर्छ’, उनले भनिन्, ‘दुई दिनमा आधा घण्टा आउने पानीले पनि ठुलो राहत मिलेको छ ।’
गाउँमा खानेपानी नहुँदा भान्साको प्रयोगदेखि सरसफाईमा समस्या हुने गरेको थियो तर अहिले घरमै धारा आएपछि समस्या हटेको निगलेनी खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष शिवराज पाण्डे बताउँछन् । नेताहरूलाई पटक–पटक भन्दा पनि गाउँमा खानेपानीको व्यवस्था हुन नसकेपछि स्थानीयले जनश्रमदानसँगै सामुदायिक वनको २१ लाख रुपैयाँ लगानी गरेर खानेपानीको धारा ल्याएको संस्थाका अध्यक्ष पाण्डेले बताए । ‘गाउँमा खानेपानीको समस्या भएकाले समस्या समाधानका लागि पटक–पटक यस क्षेत्रका जनप्रतिनिधिसँगै नेताहरूलाई भन्यौ तर पूरा भएन’, उनले भने, ‘त्यही भएर सम्पूर्ण गाउँबासी मिलेर खानेपानीका लागि सरस्वती सामुदायिक वन समूहको पैसा लगाएर पानी ल्याउने योजना बनाएका हौँ ।’ उनका अनुसार अरुङखोलादेखि लेकतापासम्म पानी ल्याएर घर–घरमा वितरण गर्न वन समूहको २१ लाख, बंगलाचुली गाउँपालिका वडा नं ३ कार्यालयको ३ लाख ५० हजार र जनश्रमदानबाट करिब ४ लाख ८० हजारको काम गरेर घर–घरमा धारा पु¥याउन सफल भएको अध्यक्ष पाण्डे बताउँछन् । अध्यक्ष पाण्डेका अनुसार वडा कार्यालयले पानी तान्नका लागि मोटर किनिदिएको र पोल र विद्युत जडानका लागि गाउँपालिका उपाध्यक्षले पहल गरिदिएका थिए ।
‘गाउँमा खानेपानीको समस्या हुँदा सामूहिक कामका लागि भनेर आकाशे पानी सङ्कलन गर्ने टेङ्की बनाएका थियौँ । त्यसले थोरै भए पनि सहज भएको थियो’, उनले भने, ‘तर खोपानीको व्यवस्थापन तथा नुहाउन भने खोला नै जानु पर्ने बाध्यता थियो, घर–घरमा धारा आएपछि अहिले त्यो समस्या हटेको छ ।’ गाउँमा खानेपानीको धारा पुगेपछि गाउँका ४२ घर बढीको समस्या हटेको उनी बताउँछन् । योजना सम्पन्न गर्न करिब चार महिना बढी समय लागेको उनी बताउँछन् । खानेपानीको योजना सम्पन्न भएपछि मुहानदेखि टेङ्की र टेङ्कीबाट घरघरमा धारा निर्माणसँगै पानी वितरण गर्दै आएको अध्यक्ष पाण्डेले बताएका छन् ।