मेला महोत्सवमा सहकार्य भएन : अध्यक्ष अग्रवाल
चिसो मौसम सकिन थालेसँगै दाङ जिल्ला महोत्सवमय बनेको छ । कतै उद्योग वाणिज्य संघको आयोजना त कतै चेम्बर र कतै स्थानीय क्लवहरूले पनि मेला महोत्सव लगाउने अभ्यास सुरु भएको छ । घाम तापेर बदाम खाने, बालबच्चालाई रोटेपिङ खेलाउने, साबुन, सर्फ किन्ने बाहेकका उपलब्धि कुनै पनि मेला महोत्सवबाट हासिल हुन सकेको छैन ।
खासमा यस्ता मेला महोत्सवले जिल्लाबासीको पैसा बिदेसिने पनि आँकलन गरिएको छ । तैपनि मेला महोत्सवको प्रवृत्तिमा भने अनावश्यक रुपमा प्रतिस्पर्धा भइरहेको छ । दाङ जिल्लामा पनि घोराही र तुलसीपुरमा एकै समयमा व्यापारिक महोत्सव आयोजना हुँदै छन् । यिनै मेला महोत्सवका विषयमा केन्द्रित रहेर मेलाको अर्थ, उद्देश्य र उपदेयिताका विषयमा केन्द्रित रहेर दाङ चेम्बर अफ कमर्शका अध्यक्ष विकास अग्रवालसँग गोरक्षकर्मि खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।
स्वागत छ, तपाईलाई गोरक्ष सातावार्तामा ।
धन्यवाद तपाई अनि तपाईको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई । मेला महोत्सवका विषयमा केही जानकारी लिन खोज्नु भएकोमा ।
लुम्बिनी प्रदेश स्तरीय दाङ एक्पोको आयोजना गर्दै हुनुहुन्छ, के–के तयारी भए ?
हामीले पछिल्लो पटक सम्पूर्ण तयारी गरिसकेका छौँ । करिब–करिब ९० प्रतिशत तयारी पूरा भइसकेको छ । किनकि हामीले पटक–पटक मेलाको समय तालिका पनि परिवर्तन गर्नु पर्यो । त्यसैले यो कार्य तालिका नसार्ने गरी मेला आयोजनाका लागि स्थानीय सरकारको तल्लो तहको वडा कार्यालय, घोराही उपमहानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतका निकायबाट अन्तिम स्वीकृति लिइसकेका छौँ । सोहीअनुसार हामीले स्टल व्यावस्थापन, मेलास्थलमा किसानको जग्गा प्रयोग गर्ने सम्झौता, विद्युतको व्यवस्थापनलगायतका सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ, आजैदेखि सम्बन्धित पाहुनाहरूलाई पत्राचार गरी आमन्त्रण गर्ने काम समेत सुरु भएको छ ।
प्रदेश एक्पो भन्नु भा छ, तपाईहरूले लुम्बिनी प्रदेशभरिका व्यवसायीलाई समेट्ने हो र ?
हाम्रो उद्देश्य सम्पूर्ण प्रदेशबासीलाई समेट्नु थियो । सोही अनुरूप कार्यक्रम पनि तय गरेका थियौँ तर प्रदेशका भिन्न– भिन्न सहरमा यस्तै मेला आयोजना भइरहँदा सबै प्रदेशबासीको प्रत्यक्ष सहयोग र सहभागिता नहुन सक्छ, तर विविध कारणले प्रदेश एक्पोको नाम दियौँ, किनकि हामी प्रादेशिक राजधानीबासी भएकाले पनि सम्पूर्ण प्रदेशका व्यवसायीलाई यो मेलामा सहभागि बनाउन चाहन्थ्यौँ । सोहीअनुसार सहभागिताका लागि आमन्त्रण पनि गरेका छौँ तर खासमा हामीले स्थानीय व्यवसायीक समृद्धिलाई केन्द्रिकृत गरेर यो मेलाको आयोजना गरेका हौँ ।
हरेक स्थानीय सरकारले मेला सञ्चालन कार्यविधि पनि जारी गरेका छन् । एउटा स्थानीय तहले एक पटकमा एउटा मात्र संस्थालाई यस्तो मेला लगाउने अनुमति दिने पनि कार्यविधि बनेका छन् । यति हुँदाहुँदै पनि घोराही र तुलसीपुरमा पनि मेला आयोजनाका लागि दुवै संस्थालाई स्वीकृति दिइएको छ, यसमा तपाईले के भन्न चाहनु हुन्छ ?
हामीले मेला महोत्सवको समय नजुधाउ भन्दै आएका थियौँ, हामीले तुलसीपुर उद्योग वाणिज्य संघसँग मेला जुधाएर प्रतिस्पर्धा गर्न खोजेका होइनाँै तर स्वीकृति दिने निकायको समन्वयकारी भूमिका निर्वाह गर्ने कुनै निकाय हामीले पाएनौँ । सम्पूर्ण जिल्लामा कहा कतिबेला मेला महोत्सवको स्वीकृति दिने निकाय जिल्ला समन्वय समिति भएको भए हुन्थ्यो तर स्थानीय सरकारले सिफारिस गर्ने र जिल्ला प्रशासन कार्यालयले सहजै स्वीकृति दिने अभ्यासले हाम्रा मेला महोत्सव जुध्न गएका छन् । यो हाम्रो कमजोरी होइन, यसलाई अन्तिम स्वीकृति दिने जिल्ला प्रशासन कार्यालयले हो । किनकि हामीलाई समय सादै लगेर तुलसीपुर उद्योग वाणिज्यसंघकै कार्यतालिकामा महोत्सव सञ्चालन गर्ने रहर थिएन ।
मेला महोत्सवमा ठेकेदारी परम्परा हावी छ, तपाईको मेला सञ्चालनका लागि पनि कुनै ठेकेदार हाजिर भइसकेका छन् कि ?
मेला महोत्वस एउटा संस्थाले मात्रै चलाउनु भनेको निकै चुनौतिको विषय पनि हो तर पनि स्थानीयको सहजीकरण र समन्वय गरेरै मेला चलाउने हो तर यसो भन्दैमा सबै मेलाको ठेक्का ठेकेदारलाई दिने र आफू पर्दापछिको आयोजक बन्ने हाम्रो उद्देश्य होइन तर पनि केही प्राविधिक पक्षहरू हुन्छन्, जुन काम ठेक्काबाट गर्नु पर्ने हुन्छ । त्यसका लागि आवश्यक प्राविधिक जनशक्ति पनि चाहिन्छ, त्यसमा मधेशबासी पनि सहभागि हुन सक्छन् तर समग्रमा हामीले यति पैसामा भनेर मेला महोत्सव ठेक्का दिने अवस्था हुन्न, खासमा हामीनै मेलाका मुख्य आयोजक हौँ । नाफा घाटा हामी आफैले व्यहोर्ने हो ।
मुलुक कोरोना भाइरसको संक्रमणले दुई वर्ष थलियो । त्यसपछिको विश्वव्यापी आर्थिक मन्दीका कारण फेरि दुई वर्ष आर्थिक गतिविधि चयालमान हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा मेला महोत्सव आयोजनाको अर्थ रहन्छ र ?
हो, हामीले विश्व अर्थतन्त्रलाई गहन रूपमा विश्लेषण गर्न नसके पनि सामान्य रूपमा बुझेका छौँ । नेपाल पनि गम्भीर आर्थिक मन्दीको चपेटोमा परेको छ । तैपनि बजारलाई चलायमान बनाउनु हाम्रो दायित्व पनि हो । किनकि घर–घरमा रहेका पैसालाई चलायमान बनाएर सबैको आर्थिक गतिविधिलाई चलायमान बनाउनु पनि मेला महोत्सवको उद्देश्य हो । किनकि घरमा पैसा थन्किनुभन्दा त्यसलाई बजारमा चलायमान गराउन सके धेरै व्यवसायीक चलखेल हुन सक्छ ।
मेलाकै कारण होटल व्यवसायीले आर्थिक समृद्धि हासिल गर्न सक्छन्, अटो व्यवसायीहरू चलायमान हुन्छन् । पर्यटन क्षेत्र चलायमान हुन सक्छ । कृषि क्षेत्रको बजारीकरणमा पनि मेला महोत्सव सार्थक हुन सक्छ । डम्पिङ भएको पैसालाई बजारमा ल्याउन त हाम्रो महोत्सवले साथर्तक भूमिका खेल्ने छ नि, अनि अर्को कुरा तपाईले प्रश्न नसोध्दै भन्न चाहन्छु । मेला महोत्सवको पैसा सबै विदेशी मुलुक भारतमा जान्छ भनेर । त्यो होइन । पैसा कमाउने नेपालीले नै हो । हामीले देख्दा मात्रै उनीहरू भारतीय जस्तो हुन सक्छन्, तर समग्रमा उनीहरू सबै तराईबासी नेपाली नै हुन् । कुनै–कुनै प्राविधिक जनशक्ति नेपालीहरू नभेटिएको अवस्थामा मात्र बाल उद्धान्न सञ्चालन गर्न केही भारतीय नागरिक जस्ता देखिने पनि आउन सक्छन् तर मेला महोत्सवलाई पुरै ठेक्कामा दिएको भने होइन ।
तपाईको एक्स्पोका केही आकर्षण भन्दिनुस न ?
मेलाका आकर्षण मैले भन्नु पर्ने होइन, उही उस्तै हो । हामीले केन्द्रीय कलाकार सबै नाम चलेकालाई ल्याउने छौँ । स्थानीय कलाकारलाई प्रार्थमिकता दिने छौँ । कति कलाकार आउनेभन्दा पनि केन्द्रबाट सुन्तली धुर्मुसेदेखि प्रमोद खरेलसम्म र स्थानीय कलाकारहरूमा थारु समुदायदेखि मगर समुदायको सोरठि नाचसम्म । अनि स्टलहरूको विषयमा पनि हामीले स्थानीय कृषि उपजलाई प्रार्थमिकतामा राखेका छौ्रँ । बंगलाचुलीको टिम्मुर चिउरीदेखि छिल्लीकोटको मालागेडि र स्थानीय कृषि उत्पादन तिल्की चामल र दाङकै बधिया भालेको मेला महोत्सवमा प्रचारप्रसार र बजार प्रवद्र्धन हुने छ । त्यसैगरी प्रागऐतिहासिक पर्यटनलाई पनि हामीले मेलामा ब्युझाउने प्रयास गर्ने छौँ । त्यसका लागि मेला महोत्सवमा त्यसै अनुरूपका स्टलहरू व्यवस्थापन पनि हुने छन् । त्यसका लागि हाम्रो नियमित छलफल र बैठक बसिरहेको छ । प्रदेश एक्सपोलाई भव्य र सभ्य बनाउन हामी प्रयत्नरत छ ।
अन्तमा केही भन्नु छ कि ?
हामी आएपछि यो दोस्रो महोत्सव हो । दाङ च्यावर अफ कमर्शको स्थापना भएको धेरै समय भएको छैन । हामीले वि.स. २०७५ सालमा च्यावर गठन गरेपछि वि.स. २०७६ सालमै पहिलो व्यापारिक महोत्सव सम्पन्न गरिसकेका पनि छौँ । अब यो दोस्रो महोत्सव पनि हो । यसमा उत्साहजनक सहभागिता जनाउन पनि मैले आम दाङ जिल्लाबासी आदरणीय व्यवसायीहरू, आम नागरिक, सम्पूर्ण सञ्चार माध्यम र स्थानीय सरकार एवम् स्थानीय प्रशासन समेतको साथ र सहयोगको अपेक्षा गर्दछु । महोत्सवको आयोजक दाङ च्यावर भए पनि साथ र सहयोगको भने सबै निकाय भागिदार हुनु हुने छ भन्ने पनि हाम्रो अपेक्षा हो ।