मेरो खुशी : जनताको सेवा गर्न पाउँदा …
पैसा र पावरभन्दा जनताको मन जितेर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने दामोदर पौडेल पछिल्लो समय राजनीतिमा पार्टीको सिद्धान्त, निष्ठा, इमान्दारिता हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्छन् ।
पार्टी नेता तथा कार्यकर्तादेखि जनप्रतिनिधिहरू तल्लो तहदेखि माथिसम्म निष्ठावान र इमानदार बन्न सके मात्र देश विकास हुने उनी बताउँछन् । विद्यार्थी अवस्थामा कलेज पढ्दै गर्दा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीतिमा जोडिएका पौडेल निडर र स्ष्पट विचार राख्न सक्ने बक्ताका रूपमा चिनिन्छन् । नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तहमा उम्मेदवार भएर लमही नगरपालिका वडा नं. १ को वडा अध्यक्षका रूपमा निर्वाचित भएर जनताको सेवा गर्न पाउँदाको क्षणलाई खुसीको क्षणका रूपमा सुनाए ।
राजनीतिमा प्रतिष्पर्धा सामान्य भए पनि एकै ठाउँमा पहिले पराजित भएर पाँच वर्षपछि पुनः जित्दाको क्षण ठुलो खुसी भएको बताउँछन् । ‘पार्टीले उम्मेदवार बनाएपछि २०७४ सालमा लमही–१ मा निर्वाचन लडेको थिए, त्यो बेला दुर्भाग्य भन्नुपर्छ एक मतले पराजत भए’,पौडेलले भने,‘त्यसपछि २०७९ मा पुनः उम्मेदवार भएर निर्वाचन जित्दै जनताको सेवा गर्न पाउँदाको समय मेरो खुसीको क्षण हो ।’
गाउँ समाजको विकासका लागि राजनीतिका माध्यमबाट आफूले गरेको योगदानलाई जनताले मुल्याङ्कन गरेर निर्वाचनमा विश्वास गरेर जिताउँदाको क्षण आफ्नो जीवनको सबैभन्दा ठूलो खुसी क्षण भउको बताउँछन् । २०७४ सालमा एमालेका नेता नुमराज पौडेलसँग एकमतले हारेका पौडेलले २०७९ को निर्वाचनमा उनै एमाले नेता पौडेललाई दोब्वर मतले हराउँदै वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
२००७ सालदेखि नै घरपरिवार नेपाली कांग्रेसमा आवद्ध भएले पार्टीप्रति आस्था राखे पनि सक्रिय राजनीतिमा लागेका थिएनन् । तत्कालिन माओवादी द्वन्द्वको समयमा पौडेल पार्टी राजनीतिमा जोडिए । पार्टीको माथिल्लो तहमा पुगेका नेताहरूले तल्लो तहका नेता तथा कार्यकर्ताहरूलाई बिर्सने र व्यवस्था गर्ने संस्कार मौलाइरहेको समयमा नेपाली कांग्रेस नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे र नेता जानकीलाल बस्नेतले संगठन, पार्टीका तल्लो तहका नेता तथा कार्यकर्तालाई गरेको व्यवहारबाट प्रेरित भएर विद्यार्थी राजनीतिसँगै तत्कालिन समयमा प्रजातान्त्रिक कांग्रेस हुँदै नेपाली कांग्रेसमा आवद्ध भएको बताउँछन् ।
नेपाली कांग्रेसको राजनीतिमा आवद्ध भएका पौडेल क्रियाशील सदस्य, नेपाली कांग्रेस साविक सोनपुर गाउँपालिका इकाई सभापति हँुदै सङ्घीय संचरनामा पार्टी गइसकेपछि अहिले नेपाली कांग्रेस क्षेत्र नं. १ (ख) को उपसभापतिको रूपमा रहेका छन् । पार्टीको सङ्गठन निर्माण, तल्लो तहका नेता तथा कार्यकर्ताहरूको संरक्षणसँगै जनतालाई पर्ने समस्याहरू खट्ने गर्दछन् । त्यही कारण पनि पार्टीमा नेतादेखि कार्यकर्ताहरूले आफूलाई विश्वास गर्ने गरेको पौडेल बताउँछन् ।
देउखुरीको लमही नगरपालिका–१ मा रहेको सोनपुर निम्न माध्यामिक विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ गरेका पौडेलले २०५२ सालमा वनगाउँमा रहेको बाल जनता माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका थिए । त्योबिचमा उनले माध्यामिक विद्यालय फल्कापुरमा कक्षा ८ सम्म अध्ययन गरे । उनले ९ र १० कक्षा बाल जनता माध्यामिक विद्यालय वनगाउँ लमहीमा पढेका थिए । त्योबेला एसएलसी पास गर्ने चानचुने कुरा थिएन, निकै मेहनत गर्नु पथ्र्यो । त्यही कारण पनि धेरै फेल हुने गरेका थिए ।
त्यही कारण पनि मैले राम्रै तयारी गरेको थिए । तयारी राम्रो भएकाले पास हुने विश्वास्त थिए । लमहीमा पढे पनि परीक्षा दिन राप्तीपारी गढवामा रहेको जनता माध्यामिक विद्यालयमा जानु पर्ने बाध्यता रहेको थियो । त्यसको कारण होमसेन्टर हँुदैन थियो । लमहीमा अन्य अरू विद्यालय नभएकाले परीक्षाका लागि गढवा र सरस्वती माध्यामिक विद्यालय गोवरडिया जानु पर्ने हुन्थ्यो तर हाम्रो पालामा गढवा सेन्टर परेको थियो ।
परीक्षा राम्रै भए पनि नजिता नआउँदासम्म परीक्षा के हुने होला भन्ने भइरहन्थ्यो उनी भन्छन्,‘सायद असार महिना झै लाग्छ । एलएलसीको रिजल्ट आएपछि काठमाडौँमा रहनु भएका दाइलाई ल्याण्डलाइनबाट फोन गरेर सोध्दा पास भएको खबर सुनाउँदाको क्षण निकै खुसी भएको थिए, त्यो क्षण मेरो खुसी हो ।’ एसएलसीपास गरेपछि पौडेलले घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा आई.एसम्मको अध्ययन गरेको बताउँछन् ।