नारायणप्रसाद श्रेष्ठ
सहिद सप्ताहको अन्तिम दिन हिजो हामीले सहिदहरुको सम्झनामा विविध कार्यक्रम गरी सम्पन्न गरेका छौँ । सहिदहरुको फोटोमा माल्यार्पण गर्दै उनीहरुले देखेको सपना साकार गराउन पर्छ भनी मनैदेखि श्रद्धासुमन अर्पण गर्ने कार्य सम्पन्न गरेका छौँ । सहिद हाम्रा मार्ग निर्देशक हुन् उनीहरुको त्याग र समर्पणबाट नै आज हामीले प्रजातन्त्रको रसस्वादन गरेका छौँ भनी ठूला–ठूला स्वरमा भाषण ग¥यौ । १०४ वर्षीय जहानिया राणा शासनको अन्तलगायत एकतन्त्रीय शासन व्यवस्था अन्त गरी प्रजातान्त्रिक एवम् गणतान्त्रिक शासन प्रणालीमा हामी आज राष्ट्रलाई समृद्धि गर्नतर्फ लागिरहेका छौँ भनी कुर्लन पछि परेनौँ ।
सप्ताह व्यापी कार्यक्रम गरी आफ्ना भावनाहरु व्यक्त गरेका थियौँ । सहिद हाम्रा आदर्श हुन् भनी उनीहरुले पु¥याएको योगदान र पदचिन्हलाई पहिल्याउँदै अगाडि बढ्न उत्प्रेरणा जगाउने कार्य समेत गर्न चुकेनौँ । सहिदलाई सम्झना गर्दै राष्ट्रलाई समृद्धिको दिसातर्फ उन्मुख गराउनु र राष्ट्रिय स्वाभिमानलाई बचाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित भाव जगाउनु हाम्रो परम दायित्व पनि हो भनी कुर्लदै छौँ । राष्ट्रिय अखण्डतालाई शुद्ध राख्न सहिदले जस्तो किसिमले त्याग र समर्पण गरे, आफ्नो ज्यानको बाजी लगाएर सार्वभौम नेपालको अस्तित्व जोगाई राखे यो नेपाली जनको अमूल्य उपलब्धी हो । कोही कसैको दास नबनेर युगौदेखि वर्तमानसम्म नेपालको स्वतन्त्रताप्रति सहिदहरुले जुन किसिमको बलिदानीयुक्त कार्य गरे यो हाम्रो लागि साच्चीकै गौरवको विषय हो ।
अमरसिंह थापा र कालु पाडेँ जस्ता विर योद्धा भीमसेन थापा जस्ता कुशल नेतृत्व कर्ताले सिर्जेको नेपालको गरिमा अहिले विश्वसामु परिचित छ । त्यसैगरी एकतन्त्रिय शासन अन्त भई जनताको जनइच्छाअनुसार शासन पद्धति हुनुपर्छ भन्ने प्रजातन्त्रवादी सोचका धनी दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री तथा गंगालाल श्रेष्ठलगायतका सहिदले देखाएको अदम्य शाहस हाम्रो लागि नबिर्सने क्षणको रुपमा रहेको छ भनी यिनै सहिदहरुको सम्झनामा सहिद सप्ताह सम्पन्न गर्ने कार्य ग¥यौँ । यस अवसरमा हामी पनि सहिदप्रति श्रद्धासुमन अर्पण गर्छौँ ।
सहिदले देखेको सपना पूरा गर्न सबैमा अुनरोध पनि बिसाउँछौँ । हाम्रो धर्ती हाम्रो लागि स्वर्गसरी छ, हामी नेपाली धर्तीका पुजारी र पुज्य दुवै हौँ । यसको अखण्डता र समृद्धिको लागि सबै एक बनौँ । यो आजको आवश्यकता हो । आज सहिदको सपना भाषण र कागजमा पढेर लेखेर होइन व्यवहारगत त्याग र समर्पण भाव जागृत गरी समृद्धि राष्ट्र सुखी नेपालीको नाराका साथ आफूलाई समर्पण गर्नु परेको छ । राष्ट्र र राष्ट्रियता, नेपाली परम्परा र संस्कृति, हाम्रा लागि अमूल्य निधी हुन् । यिनको संरक्षण र समद्र्धन हाम्रो जिम्मेवारी भनी आफूलाई प्रस्तुत गर्नु पर्ने समय छ ।
यसरी सहिद दिवस मनाइरहँदा हामीले हाम्रो वर्तमानलाई कसरी अगाडि बढाइरहेका छौँ यसको मूल्यांकन गर्न पनि त्यत्तिकै जरुरी र सान्दर्भिक देखिन्छ । यतिमात्र होइन आजभोलि हाम्रो कर्म र व्यवहारले देखाएको मार्गचित्रतिर पनि हाम्रो ध्यान पुग्न जरुरी देखिन्छ । प्राकृतिक मनमोहकताले भरिएको हाम्रो नेपाल स्वतन्त्र राष्ट्र हो । शान्ति र सद्भाव नेपाली जनको आदर्श हो । हामी स्वतन्त्र भएर बाँच्न चाहन्छौँ ।
सहिदले राष्ट्रिय अखण्डता कायम गर्न गरेको त्याग र बलिदानीपूर्ण इतिहास हाम्रो लागि मार्ग दर्शन भएर आएको छ तर पनि कता–कता राजनीतिक अदुरदर्शिताले वा आर्थिक र सामाजिक पछौँटेपनको कारणले, हाम्रो आचरण र व्यवहारमा राष्ट्रियता प्रति त्यति जागरुकता नभइरहेको अवस्था देखिँदै छ । अन्य मुलुकहरु राष्ट्रियताप्रति बढी चनाखो छन् तर हाम्रो मुलुकको राजनीतिक दृश्य भने अरुको इशारामा चलेको रोवोट जस्तो देखिन्छ । केवल निहित स्वार्थको लागि राजनीतिलाई आफ्नो पेवा सम्झी नातावाद, कृपावाद, अवसरवाद, आदीवादको पछाडि लागि नेतृत्वले आफूलाई प्रस्तुत गरेको राजनीतिक दृश्य देखिँदै गरेको छ ।
यस्तो अवस्थामा बाह्य शक्तिले गरिबीको फाइदा उठाई सम्पन राष्ट्रले हामीसँग धेरै फाइदा लुट्न लागेको अवस्था देखिन्छ । यसले हाम्रो असंलग्न नीतिमा प्रश्न चिन्ह उठ्ने गरी हाम्रो आचरण आकृष्ट हुँदै गरेको स्थिति देखिन्छ । स्वतन्त्र विचारलाई रकममा सटही गर्नेतर्फ कतै हाम्रो ध्यान गएको त छैन ? हाम्रो अस्तित्वलाई गमलामा सजाइएको फूलसरी किन बनाइँदै छ ? प्रकृतिको बरदान प्राप्त हाम्रो सार्वभौमिक अखण्डतामाथि गिद्दे दृष्टि राखी कर्तव्यप्रति आकृष्ट भई हामी प्रलोभनमा किन फसिरहेका छौँ । आफ्नो राष्ट्रियता भाषा, धर्म र संस्कृतिमाथि धावा बोल्दै हाम्रो अस्तित्वलाई सिजनल फुडसरी बनाउनेतर्फ हामी स्वयम् किन लागि परेका छौँ ?
सरकारले सबै गरोस् भन्ने मानसिकता पनि यदाकदा देखिन्छ । हामी सरकारको काम कार्वाहीमा आलोचना गर्न पनि नचुकिरहेको अवस्था छ । यति मात्र होइन क्षणिक प्रलोभनमा परी आफ्नो नैतिकताको सौदा पनि गर्दैछौँ ? यसरी नैतिकताले हामीलाई चुनौती दिएको अवस्था पनि छ । बिरामीलाई आवश्यक औषधी दिई सन्चो गराउनुको साटो बिरामीलाई धनले, मर्यादालाई दौलतले, तौलनतर्फ हाम्रो मानसिकता किन बढिरहेको देखिँदै छ ? बाह्य शक्तिले पानीबिनाको गमलाको फूलसरी मुर्झाएको अवस्थातर्फ हामीलाई लैजान खोजेको त होइन ? यस्तो किसिमको विकृतिले सहिदले देखेको सपना के साकार होला ?
हामी गमलामा सजाइएको पानीबिनाको प्लाष्टिकको फूल बन्नेतर्फ किन आफूलाई प्रस्तुत गर्दैछौँ । के हाम्रो अस्तित्व फूलबारीमा सजाइएको सुन्दर बगैँचाभित्रको फूल होइन र ? हामी आफ्नोे सोँच र चिन्तनलाई अरुको पोल्टामा पार्ने कार्य हामी आफै गर्न लाग्नु कति उपयुक्त होला ? हामीले पुर्खाको गौरवपूर्ण इतिहास र सहिदको सपनालाई कुन अर्थमा परिभाषित गर्दैछौँ । कतै स्वाभिमानी नेपालीको गौरवमय इतिहास बोकेको हाम्रो स्वाभिमानलाई रोवोटको इशारामा चल्ने यन्त्र झै बनाउन खोजेको त होइन ? गम्भीर भएर चिन्तन मनन् गरौँ सोँचौँ । छातीमा हात राखी सोँचौँ कतै हामीले उपनिवेश स्वीकारेका त होइनौँ ?
सहिद सप्ताहमा सहिदको फोटोमा माल्यार्पण गर्दैमा र उनको त्याग र समर्पणलाई भाषणमा चिनाउँदैमा केही भइहाल्ने होइन । सहिदको सपना सकार बनाउनेतर्फ हाम्रो आचरण र व्यवहार प्रष्टिन जरुरी हुन्छ । राष्ट्र रहे राष्ट्रियता, यो कुरा कहिले भुल्नु हुँदैन । विश्वमा हालै भए गरेका घटना र नापनक्सालाई केलाएर हेर्ने हो भने अहिले नेपाल दुई ढुंगाबिचका तरुल भएर रहेको छ । यसबेला नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न निकै चनाखो भएर लाग्नु पर्ने अवस्था छ ।
दुरदर्शी चिन्तन बढाई सहिदप्रतिको स्नेहलाई कर्मद्वारा परिणत गर्नुपर्ने बेला आएको छ । क्षणिक स्वार्थभन्दा कर्तव्यको बोध गरी नेपाली माटो समाई प्रतिज्ञा गर्नु परेको छ । हामी हिजो पनि स्वतन्त्र थियौँ र आज पनि छौँ भनी कोही कसैको अफवाह र प्रलोभनमा नफसी आफूलाई प्रस्तुत गर्नुपर्ने बेला भएको छ । तसर्थ दास मनोवृत्तिबाट अलग रहने दृढ संकल्प गरी आचरण र व्यवहारमा शुद्धता ल्याउनु परेको छ ।
जबसम्म हामीले हाम्रो विश्वास र सहिदको सपनालाई राष्ट्रिय विकास र अखण्डतामा समझदारीपूर्ण चरित्र प्रदर्शन गर्ने परिस्थिति बनाउँदैनौँ तबसम्म सहिद सप्ताह मनाउनुको औचित्य प्रष्ट हुँदैन । अर्को कुरा मै खाउँ, मै लाउँ, मै मोजमजा गरु भन्ने पूरातनवादी सोच राखी हाम्रो आदर्श गतिविधिमा हिलो छ्याप्ने काम हामी आफैले ग¥यौँ भने महाभारत कथामा सकुनी मामाले गरेको चाल झै नहोला भन्न सकिन्न । तसर्थ गम्भीर बनौँ ।
म र मेरो भन्ने अहंमभावनाले अपराध प्रवृत्ति निम्त्याउन सक्छ । यो अपराध पछि गएर सामाजिक कलंक बन्न सक्छ । त्यसैले देश र राष्ट्रको चिन्तन गर्ने राजनीतिक नेतृत्वले शान्ति र सद्भावपूर्ण विचार राख्ने नेपालीको चाहना र सहिदको राष्ट्रप्रतिको समर्पणलाई बुझ्न जरुरी देखिन्छ । विश्वसामु पहिचान बनाइसकेको नेपाली शाहस र विरताको इतिहासलाई अब अझ परिस्कृत गर्नु परेको छ । संविधान प्रद्धत अधिकारलाई कर्तव्यसँग गाँसेर राष्ट्रिय अखण्डतामाथि प्रश्न चिन्ह नउठ्ने गरी अब हामीले आफूलाई प्रस्तुत गर्नु परेको छ ।
शान्त र सभ्य समाज, नेपाली चाहना र आदर्श हो । यस कुरालाई मनन् गरी इतिहासको प्रत्येक पानामा लेखिएको नेपाली विरताको छाप र चिनारी विश्वसामु छर्लंग पार्न अब हामी सबै एकजुट बनौँ । त्याग र बलिदानी पूर्ण कार्य गरी राष्ट्रिय गौरव कायम राख्न सकेमा विर सहिदहरुको बलिदानी इतिहास जीवन्त रहने छ । त्यसैले हामीले हाम्रो कर्म र व्यवहारलाई परिस्कृत गरी नेपाल र नेपालीको भविष्य निर्माणमा हामी सबै लागि परौँ । तब मात्र सहिद प्रति सच्चा श्रद्धाञ्जली हुनेछ । तसर्थ फुटेर होइन जुटेर, अनेकतामाएकता कायम गर्न सक्षम नेपाली विरताको इतिहास पुनः प्रमाणित गर्न अब हाम्रा स्वर एउटै गराउनु परेको छ । हुन त सहिदको परिभाषा बदलिएको यस समयमा राष्ट्रिय पर्वको रुपमा सहिद दिवसलाई मनाउनेतर्फ सरकार गम्भीर नबनेको पनि देखिन्छ तर सहिदले प्रजातन्त्रको लागि जुन त्याग र समर्पण गरी प्रजातन्त्रको उदय भएको छ । यसलाई गम्भीर रुपले चिन्तन गर्न जरुरी छ ।