यादव गिरी
नेपालको संविधान २०७२ को प्रस्तावनाले देशमा ‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारको जातीय छुवाछुतको अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चितता गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । त्यही प्रस्तावनाले नेपालमा ‘लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध समाज निर्माणु गर्ने लक्ष्य निर्धारण समेत गरेको छ ।
नेपालको संविधानको धारा ३ ले नेपालको राज्यलाई ‘समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ भनेर परिभाषित गरेको छ । यस परिप्रेक्षमा नेपालका अबको राज्य प्रणाली लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद हुने कुरा खुला आकाशको घाम जत्तिकै छर्लङ्ग छ । राज्य प्रणाली समाजवादी चरित्रको भएपछि अर्थतन्त्र, संस्कृति र शिक्षा पनि समाजवादी चरित्रको हुने कुरा त्यत्तिकै स्पष्ट छ ।
नेपालको राज्य प्रणाली नै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादी चरित्रको भएपछि नेपालको शिक्षाको मूल दर्शन पनि त्यही अनुरुपको लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादी चरित्रको हुने कुरा स्वतः स्पष्ट छ । तसर्थ, समाजवादी शिक्षाले समुदायमुखी, श्रमप्रेमी उत्पादनशील मानवको निर्माण गर्दै हरेक व्यक्तिको क्षमता र प्रतिभाको चौतर्फी विस्तार तथा जागृत, विवेकशील, अन्वेषणकारी र समालोचक मनुष्यत्वको निर्माण गरी हरेक व्यक्तिको दृष्टिकोण र प्रवृत्तिमा नै प्रगतिशील परिवर्तन गर्नमा महङ्खवपूर्ण भूमिका खेल्दछ भन्ने मान्यता स्पष्ट हुन आवश्यक छ ।
अर्थात समाजवादी शिक्षाको मुख्य दर्शन भनेको हरेक व्यक्तिमा लुकेर रहेको क्षमता र प्रतिभाको चौतर्फी विकास र विस्तार गर्दै, हरेक बालबालिकालाई जागृत, विवेकशील, अन्वेषणकारी र समालोचक बनाउँदै, उनीहरुलाई समुदायमुखी, श्रमप्रेमी तथा हरेक हिसाबले सिर्जनशील र उत्पादनशील बनाउनु हो । उनीहरुको ज्ञान र सिपमा मात्र होइन, दृष्टिकोण र प्रवृत्तिमा समेत प्रगतिशील परिवर्तन ल्याउनु हो । तसर्थ समाजवादी शिक्षाका यी मान्यतालाई अझ मिहिन तवरले विश्लेशण गर्न आवश्यक देखिन्छ ।
मानवलाई बदलेको उसको सामुदायिक श्रम, निरन्तर नयाँ–नयाँ औजारको आविष्कार (विकास र जीविकाको सामाजिक उत्पादनले हो । श्रम र जीविकाको सामाजिक उत्पादनको प्रक्रियामा नै मानव चेतना र विवेक विकसित भएर मानिस हिजोको ढुङ्गे हतियार चलाउने जङ्गली अवस्थाबाट आजको विकसित अवस्थासम्म विकसित भएको हो । मानिसको बढ्दो चेतना र विवेकको मुख्य स्रोत नै श्रम, जीविकाको उत्पादन र सामुदायिकता हो ।
परन्तु हाम्रो शिक्षा भने समुदायमुखी, श्रमप्रेमी, उत्पादनशील मानिसको निर्माण गर्नबाट चुकिरहेको छ । हाम्रो समाजमा आफ्नो व्यक्तिगत हित मात्र हुन्छ भने समुदायको हितको पूरै उपेक्षा गर्ने चरम व्यक्तिवादी प्रवृत्ति समाजमा बढ्दो मात्रामा हाबी हुँदैछ । सडकमा हिँड्दा ट्राफिक नियम मिचेर आफू मात्र छिटो जान अरु धेरैलाई ट्राफिक जाममा फसाउने मानिसमा ज्यादाजसो शिक्षित मानिस नै देखिन्छन् । शिक्षित मानिसहरु स्वयम् आफ्नो घर वा कोठा मात्र सफा राख्नकै लागि प्लास्टिकमा फोहोर पोको पार्दै अरुका घर अगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्न अग्रसर देखिन्छन् । यो भनेको चरम व्यक्तिवाद हो ।
त्यस माथि थप मानिसहरुमा व्यक्ति जति धेरै शिक्षित भयो उति श्रम गर्न लाज र घिन मान्ने प्रवृत्ति बढ्दो छ । श्रमिक हुनुमा गौरव नमान्ने, श्रम गर्न लाज र घिन मान्ने मात्र होइन, श्रमिकलाई हेला होचो गर्ने र पाएसम्म ठग्ने प्रवृत्ति बढ्दो छ । यस्ता मानिसहरुको भिडबाट समाजवादी समाज त टाढाको कुरो रह्यो, पुँजीवादी समाज समेत ठिकसित चल्न सक्दैन । पुँजीवादी समाज ठिकसित चल्नका लागि पनि त श्रम गर्नमा गौरव गर्ने मान्छे चाहिन्छ । धेरैको हितमा नै आफ्नो हित देख्ने मान्छे चाहिन्छ ।
अतः समाजवाद उन्मुख शिक्षाको एउटा मुख्य दर्शन समुदायमुखी, श्रमप्रेमी र उच्च उत्पादनशील मान्छे बनाउनु हो । समुदायको हितलाई सर्वाेच्च ठान्ने मानिस नै समुदायमुखी मानिस हो । श्रम गर्नुलाई सम्मानित काम र आफ्नो पारिवारिक तथा सामाजिक दायित्वका रुपमा हेर्ने र स्वयम् श्रम गर्न अघि सर्ने मानिस नै श्रमप्रेमी मानिस हो ।
हरेक मानिस जन्मँदा नै विभिन्न क्षमता र प्रतिभासहित जन्मिन्छ । त्यो क्षमता र प्रतिभा नै समग्रतामा उसको व्यक्तित्व हो । कसैको विशेष क्षमता चित्रकारितामा होला, कसैको नृत्यमा, कसैको प्रतिभा साहित्य सिर्जनामा होला भने कसैको गायनमा, कसैको क्षमता खेलकुदको खास खास विधामा होला, कसैको प्रविधिमा, कोही वैज्ञानिक अन्वेषणमा बेजोड होलान्, कोही तर्क क्षमतामा । शिक्षाले त्यो क्षमता र प्रतिभालाई कोपिलैमा पहिचान गर्ने र त्यसलाई सम्पूर्णतामा फक्रन फस्टाउन दिने वातावरण र अवसर प्रदान गर्नु पर्छ ।
यो शिक्षाको आधारभूत काम हो । अनि मात्र समाजमा ठुलो सङ्ख्यामा पिकासो वा देवकोटा, नारायण गोपाल वा अरुणा लामा, आइन्स्टाइन वा बुद्ध, मेस्सी वा योगमाया पैदा हुने सम्भावना हुन्छ तर हाम्रो शिक्षा त्यस्तो हुन सकेको छैन । विभिन्न प्रतिभाका कोपिलालाई परिपूर्ण फूलका रुपमा फक्रन नदिएर, अलग–अलग क्षमताका बालबालिकालाई एउटै साँचोमा ढालेर नौ–नौ इञ्चको इँट्टा पैदा गर्ने शिक्षा हामीकहाँ प्रचलनमा छ । यस्तो शिक्षाले प्रतिभा पैदा गर्दन बरु त्यसैलाई कोपिलैमा चुँड्ने काम मात्र गर्छ । अतः समाजवादी शिक्षाको दोस्रो दर्शन हरेक बालबालिकामा अन्तरनिहित क्षमता र प्रतिभाको चौतर्फी विकास हो ।
मानव समाजमा शिक्षा नै त्यो माध्यम हो जसको सहाराबाट मानव जातिको एउटा पुस्ताले हासिल र विकसित गरेको ज्ञान, सिप, प्रविधि, दर्शन र कलालाई अर्काे पुस्तामा हस्तान्तरण गरिन्छ र त्यो पुस्ताले त्यसमा आफ्नो समालोचनात्मक–विवेचनात्मक क्षमता लगाएर थप अन्वेषण, प्रयोग र परिमार्जन गर्दै अर्को पुस्तामा त्यसलाई विकसित स्वरुपमा हस्तान्तरण गर्छ । यही प्रक्रियाबाट मानव जातिको एउटा पुस्ता अघिल्लोभन्दा ज्ञान, विज्ञान र सिपमा अझ ज्यादा विकसित र दक्ष हुँदै आएको छ ।
मानिस जति ज्यादा जागृत, विवेकशील, अन्वेषणकारी र समालोचक हुन सक्यो उति ज्ञान र विज्ञान, सिप र कला पहिलेभन्दा विकसित र परिमार्जित हुन्छ । नयाँ–नयाँ कुराको आविष्कार हुन्छ तर हाम्रो शिक्षाले मानिसलाई जागृत र विवेकशील, अन्वेषणकारी र समालोचक हुन सिकाइरहेको देखिँदैन । यसले दब्बु, भक्त र अन्ध अनुसरणकर्ता हुन ज्यादा सिकाइरहेको छ । हामी सदियौँदेखि एउटै कुरा सिकाइरहेका छौँ ः ठुलाले भनेपछि मान, शास्त्रमा लेखिएको भनेपछि मान, गुरुले भनेको भनेपछि मान । हामीले बालबालिकालाई यसरी मान्न मात्र सिकाइरहेका छौँ ।
हामीले हरेक कुरामा के, किन र कसरी भनेर प्रश्न गर्नमा र नयाँ कुराको अन्वेषण र स्वयम् प्रयोग गरेर जान्नमा जोड दिइरहेका छैनौँ । हाम्रो शिक्षाले कण्ठस्त पारेर जस्ताकोत्यस्तै लेख्नमा मात्र ज्यादा जोड दिइरहेको छ, मानौँ त्यसमा थप्नु पर्ने, सच्याउनु पर्ने, परिमार्जन गर्नु पर्ने केही कुरा बाँकी छैन । यसरी हाम्रो शिक्षा मूलतः घोकन्ते ज्ञान र भक्तिमार्गमा टिकेको देखिन्छ ।
यस्तो शिक्षाले न त ज्ञान र विज्ञानको विकास हुन सक्छ न यसबाट आविष्कारक मानिस नै पैदा हुन्छ । पश्चिममा विगत तीन÷चार सय वर्षमा विश्वमै हलचाल मच्चाउने किसिमको कति धेरै नयाँ आविष्कार भए, हाम्रो पूर्वमा यही अवधिमा एउटै पनि त्यस्तो वैज्ञानिक आविष्कार किन हुन सकेन ? यसको मूल कारण हाम्रो दोषपूर्ण शिक्षामा छ । यस्तो शिक्षा पुरापुर बदल्नु आवश्यक भएको छ । अबको हाम्रो शिक्षाले जागृत र विवेकशील, अन्वेषणकारी र समालोचक मनुष्यत्वको निर्माणमा मुख्य जोड दिनु परेको छ ।
जागृत र विवेकशील मनुष्यत्व भनेको त्यस्तो व्यँुझेको मानिसको निर्माण हो जसले हरेक कुरा आफ्नो बुद्धि, विवेक लगाएर आफूलाई ठिक लाग्यो भने मात्र मान्छ । अन्वेषणकारी र समालोचक मानिस भनेको त्यस्तो मानिस हो जसले हरेक कुरालाई समालोचनात्मक तथा विवेचनात्मक ढङ्गले हेर्छ । हरेक कुरा के कारणले ठिक भनेर प्रश्न गर्छ । त्यसमा नपुगेको कुरा आफैले खोजेर हेर्छ, अनुसन्धान गर्छ र बारम्बारको प्रयोगबाट सही सावित भएको कुरा मात्र स्वीकार गर्छ । तसर्थ समाजवादी शिक्षाको तेस्रो दर्शन जागृत, विवेकशील, अन्वेषणकारी र समालोचक मनुष्यत्वको निर्माण हो ।
शिक्षाको काम पुरानो सूचना ज्ञानलाई नयाँ बालबालिकामा स्थानान्तरण गर्नु मात्र होइन, हरेक मानिसको संसारलाई र समस्यालाई हेर्ने दृष्टिकोण र प्रवृत्तिमै प्रगतिशील परिवर्तन गर्नु हो । ता कि हरेक व्यक्तिले आफ्नो र मानव समुदायको समस्यालाई ठिक ढङ्गले विश्लेषण गर्न र समाधान गर्न सकोस् । हरेक व्यक्तिमा सही मानवीय प्रवृत्ति अरु ज्यादा परिपूर्ण रुपमा विकसित हुन सकोस् । दर्शन वा दृष्टिकोण सही हुनु वा नहुनुले समस्या समाधान हुनु वा नहुनुमा निर्णायक प्रभाव पार्छ । जसरी रोगको गलत डायग्नोसिसबाट रोगको सही उपचार कहिल्यै हुन सक्दैन, ठिक त्यसैगरी गलत वा अवैज्ञानिक दृष्टिकोणबाट समस्याको सही समाधान कदापि हुन सक्दैन ।
यही कारणले बुद्धले हरेक मानिसमा सम्यक दृष्टिकोण हुनु पर्नेमा ठुलो जोड दिएका छन् । समाजवादी दर्शन अर्थात् द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादीे दर्शनले पनि हरेक व्यक्तिमा सही वैज्ञानिक दृष्टिकोण र सही प्रर्वत्ति हुनु पर्ने कुरामा ठुलो जोड दिएको छ । यसले भन्छ कि दर्शनको काम नै संसारलाई बदल्नु हो । ता कि यो पहिलेभन्दा ज्यादा मानवीय र शोषण–उत्पीडन मुक्त होस् । शिक्षा र दर्शनको काम मानवको अमानवीय प्रवृत्ति बदल्नु हो, मान्छेलाई अरु ज्यादा पूर्ण रुपमा मानवीय बनाउनु हो ।
नेपाल त्यो भूमि हो जहाँ साङ्ख्य दर्शन, बुद्ध दर्शन र शैव दर्शन जस्ता विश्वमा हलचल मच्चाउने खालका तीन–तीनवटा द्वन्द्ववादी र भौतिकवादी दर्शन पैदा भए । परन्तु त्यस्तो मुलुकलाई यतिबेला दर्शनको दरिद्रता, अन्धविश्वास तथा गलत दृष्टिकोणले नराम्ररी गाँजेको छ । हामीले समातेको गलत र अवैज्ञानिक दृष्टिकोणका कारण हाम्रा समस्या झन–झन जटिल र असाध्य हुँदै गएका छन् । हाम्रो गलत प्रवृत्तिका कारण समाज नैतिक रुपले भ्रष्ट, चरम व्यक्तिवादी र स्वकेन्द्रित हुँदै गएको छ ।
अतः हाम्रै भूमिमा विकसित दर्शनहरु, अन्य पूर्वेली दर्शनहरु र समाजवादी दर्शन अर्थात द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादीे दर्शनको ज्ञानले र सामुदायिक नैतिक शिक्षाले अहिलेको पुस्तालाई लैश गर्नु आवश्यक हुन गएको छ । साथसाथै यतिखेर संसारमा विकसित ज्ञान र विज्ञानको सापेक्षतामा अहिले अस्तित्वमा रहेको दर्शनलाई पनि परिमार्जित, विकसित र प्रगतिशील बनाउनु आवश्यक हुन गएको छ । यसरी हाम्रो शिक्षाले हरेक व्यक्तिको दृष्टिकोण र प्रवृत्तिमै लगातार प्रगतिशील परिवर्तन ल्याउनु जरुरी हुन गएको छ । हरेक कुरामा समुदायको हितलाई केन्द्रमा राखेर हेर्ने र जे कुराले आम समुदायको अहित गर्छ त्यसले मेरो हित पनि पक्कै गर्दैन भन्ने प्रवृत्ति हरेक व्यक्तिमा विकसित गर्नु जरुरी भएको छ । तसर्थ समाजवादी शिक्षाको चौथो दर्शन हरेक व्यक्तिको दृष्टिकोण र प्रवृत्तिमा नै प्रगतिशील परिवर्तन हो ।