खेमराज रिजाल
तुलसीपुर, ११ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिह राठौरले समाजमा सकारात्मक सोचको विकास गर्न अझै पनि चुनौती रहेको बताएका छन् । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले बुधवार तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री राठौरले उक्त अभिव्यक्ति दिए ।
नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा बोल्दै सहमहामन्त्री राठौरले वर्तमान राज्य व्यवस्थाको कुनै विकल्प नभएकाले यही व्यवस्थालाई सवल र लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो बन्नुको कुनै विकल्प नरहेको पनि बताए । एउटा परिवारमा असहमति हुने उल्लेख गर्दै नेता राठौरले पार्टीभित्रको असहमतिलाई नेतृत्वले व्यवस्थापन गर्दै लैजानु पर्नेमा उनले जोड दिए । ‘नेताहरूप्रति असहमति राख्न पाइन्छ, म पनि चालिस वर्षपछि मात्र संस्थापन हुन सकेको हुँ तर चारतारे झण्डा र चुनाव चिह्न रुखसँग असहमति राख्न मिल्दैन’, नेताकार्यकर्तालाइ सम्बोधन गर्दै सहमहामन्त्री राठौरले भने । कसैको रिस गर्नुभन्दा पनि प्रतिस्पर्धा गरेर नेतृत्वमा आउन पनि उनको आग्रह थियो । जसले पार्टीमा दत्तचित्त भएर काम गर्छ उसलाई कसैको विरोध गर्ने फुर्सद नै नहुने भन्दै उनले जित्नेलाई काम गर्न र हार्नेलाई पालो कुर्न पनि आग्रह गरे । अरूको रिस गर्ने मान्छे कहिल्यै पनि लोकतन्त्रवादी नहुने उनको अभिव्यक्ति थियो ।
सोही अवसरमा बोल्दै नेता राठौरले वडा जिताउन नसक्ने कुनै पनि नेतृत्वलाई आफूले नभेट्ने बताए । ‘म अर्को चुनावपछि आउँदा सबै नेताले आफ्नो वडा जिताएको देख्न चाहन्छु, त्यही अनुसार संगठन बलियो बनाउने अभियानमा लाग्नु होला’, सहमहामन्त्री राठौरले भने । पछिल्लो समयमा कम्युनिस्टहरूसँग भएको गठबन्धनलाई उनले नयाँ अभ्यास नभएको पनि बताए । ‘कम्युनिस्टसँग सहकार्य गरेर जाने अभ्यास स्वर्गीय नेता गणेशमान सिंहबाट ऐतिहाहसिक जनआन्दोलन २०४६ सालमा सुरु भयो, त्यसपछि तात्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको पालामा ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ सालमा भयो, त्यसैको निरन्तरता पार्टी सभापति देउवाले पनि दिनुभो’, सहमहामन्त्री राठौरले भने, ‘गठबन्धन नगरेको भए कांग्रेस अहिलेको अवस्थामा रहने अवस्था हुने थिएन ।’
उनी आफू नेविसंघमा लाग्दा पनि कांग्रेसलाई बुझेर नलागेको बताउँदै अहिले पनि नेपाली कांग्रेसको राजनीति बुझ्दै सिक्दै गरेको बताए । महामानव विश्वेश्वरप्रसाद कोइरालाले जहिले पनि प्रतिकूल अवस्थामा राजनीति गरेको सुझाउँदै उनले अहिले जस्तोसुकै प्रतिकूलता भए पनि लोकतन्त्र बलियो बनाउन, कांग्रेस बलियो बनाउन पनि नेता कार्यकर्तालाई आह्वान गरे । साथै उनले कांग्रेसको संगठन बनाउन लाज लाग्छ भने पद नै छाडिदिन नेता कार्यकर्तालाई उनले आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति, केन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति, मुख्य मन्त्री, पालिका सभापतिलगायतका थुप्रै जनवर्गीय संस्थाका पदाधिकारीको बाक्लो उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टिभित्र गुट–उपगुट हुनु स्वाभाविक भएको भन्दै यसले संगठनलाई धरासायी बनाउन नहुने बताए । सोही अवसरमा उनले निर्वाचन अधिकृतले अस्वाभाविक रूपमा मनोनयन शुल्क तोकिदिँदा निर्वाचन क्षेत्र नम्बर ३ को महासमिति सदस्यको निर्वाचन रोकिएको पनि स्मरण गराए । ‘यहाँ महासमितिमा अमुक मान्छे आउनु पर्छ तर त्यसो हुन नसक्दा यस क्षेत्रको महासमिति सदस्य निर्वाचन हुन सकिरहेको छैन’, केन्द्रीय सदस्य गिरीले भने ।
कार्यक्रममा प्रदेश सभापति अमरसिंह पुनले पार्टी र जनप्रतिनिधिबिच नङ र मासुको सम्बन्ध हुनु पर्ने बताए तर समग्रमा यस्तो वातावरण हुन नसकेकोमा पनि उनको गुनासो थियो । कार्यक्रममा लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कांग्रेसले आफूले गरेका विकास पनि जनतालाई भन्न नसकेको बताउँदै कांग्रेसमा एकले अर्काको कुरा काट्ने प्रवृत्ति हाबी भएकाले यसको अन्त्य हुनु पर्ने सुझाव राखे । साथै क्रियाशील सदस्यता नवीकरणमा कुनै विवाद नगरी एक पटकलाई सबैको क्रियाशील सदस्यता नवीकरण गर्न र पछि गल्ती गरे अन द स्पट कारबाही गर्न पनि मुख्यमन्त्री चौधरीको सुझाव थियो ।
कार्यक्रममा जिल्ला सभापति शंकरप्रसाद डाँगीले जिल्लामा धेरै विवाद आपसी सम्वादका माध्यमबाट किनारा लागिसकेको बताउँदै करिब–करिब ६६ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको बताए । साथै पैसा तिर्न नसक्नेलाई कैफियत खुलाएर निःशुल्क क्रियाशील सदस्यता नवीकरण गर्न पनि उनले कार्यक्रममार्फत इकाइ सभापतिहरूलाइ आग्रह गरे ।
नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति जगतबहादुर खड्काको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रमको खुल्ला बहसमा कांग्रेस नेता एकराज आचार्य, पुष्पराज गिरी, घनश्याम बस्नेत, थारू नेता चुर्णबहादुर चौधरी, महिला नेतृ सूष्मा गिरी, विनोद पाण्डे, दंगीशरणका वडाध्यक्ष रोशनजंग शाह, जिल्ला सदस्य रमेश मल्ल, तरुण दलका नेता टीका घर्ती, वडा नम्बर ४ का सभापति ओमबहादुर वली, १० नं का यमराज केसी, गेहेन्द्र वली, पूर्व पार्टी सचिव टेकबहादुर वलीलगायतले पार्टीमा देखिएको चरम गुटबन्दीका विषयमा केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका थिए । प्रदेश ३ ख का सचिव खिमबहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव पूर्ण केसीले गरेका थिए ।
‘लोकतान्त्रिक व्यवस्था उत्कृष्ट व्यवस्था हो’
यसैविच नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले लोकतान्त्रिक व्यवस्थामाथि कोहीकसैले प्रश्न उठाउन नहुने बताएका छन् । यो व्यवस्था असफल हुने हो कि भन्ने आशङ्ंका देखिएको भन्दै उनले यो व्यवस्थालाई कसैले खोसेर लैजान नसक्ने बताए ।
नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री राठौरले लोकतान्त्रिक व्यवस्थामाथि आशङका उब्जिएको भए पनि यसप्रति कसैले आशङ्का गर्न नहुने बताए । ‘यो व्यवस्थामाथि केही चुनौती छन् तर यो व्यवस्थामाथि आशङ्का गरिनु हुँदैन’, उनले भने, ‘यो संसारकै उत्कृष्ट व्यवस्था हो ।’ यो व्यवस्थाले तीन तहगत सरकारका संरचना निर्माण गरेको, लैङ्गिक, भौगोलिक, तथा समानुपातिक अधिकार प्रदान गरेको भन्दै यो सुन्दर व्यवस्थालाई जोगाउनु सबैको दायित्व रहेको बताए । उनले देशमा आशाभन्दा पनि हरेक क्षेत्रका व्यक्तिले वितृष्णाका कुरा धेरै गर्ने गरेको बताए । ‘अहिले जुनसुकै क्षेत्रका व्यक्तिले पोजेटिभभन्दा पनि नेगेटिभ कुरा धेरै गर्नु हुन्छ यस्तो कुरा गरेर देश बन्दैन, सबैले पोजेटिभ कुरा सोच्नु पर्छ’, राठौरले भने ।
२०४६ सालको आन्दोलनपछि खुल्ला आर्थिक नीति र अन्य कारणले देश यो अवस्थमा आएको भन्दै देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेतर्फ सबै लाग्नु पर्ने उनको भनाइ थियो । ‘यो व्यवस्था ल्याउन हामीले ठुलो त्याग, तपस्या गरेका छौँ, देशमा केही नभएको भन्ने होइन धेरै परिवर्तन भएको छ’, उनले भने । उनले देशमा रहेको पर्यटन, विद्युत र पानीको सदुपयोग गरी देशलाई समृद्धितर्फ लैजानु पर्ने बताए । उनले नयाँ पार्टीले सबै एकैपटक परिवर्तन गर्छौँ भन्दै गलत प्रचारबाजी गरिरहेको समेत बताए ।
‘देशको विकासका लागि पैसा चाहिन्छ, कहाँबाट ल्याउने त्यो पैसा ? नयाँ पार्टीले हामीले सबै एकै पटक परिवर्तन गर्न सक्छौँ भनेर हुन्छ ?’ उनले प्रश्न गरे । उनले देशको विकास र समृद्धिमा कांग्रेस जहिल्यै प्रतिबद्ध रहेको बताए । ‘हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ’, उनले भने । नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जन्मजय तिमिल्सेनाले संगठन बलियो बनाउन सबै लाग्नु पर्ने बताए । पत्रकार सुशील बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए ।