कोरोना त्रास : ई-हाजिरी हैन, रजिस्टरमै अब

इन्द्र डिसी

दाङ, ८ बैशाख । सरकारले लकडाउन घोषणा गर्नुअघि जिल्लाका अधिकांस कार्यालयहरुमा विद्युतीय हाजिरी नै प्रयोगमा थियो । तर कोभिड १९ को संक्रमणसँगै कार्यालयहरुले ई-हाजिरी रोकेका छन् । कार्यालयमा उपस्थित हुने कर्मचारीहरुले रजिष्टरमा नै हाजिरी गर्न थालेका छन् । संक्रमणको समयमा ई–हाजिरीसमेत जोखिम मानिएकाले कार्यालयहरुले तत्कालको लागि रोकेका जनाएका छन् । ई–हाजिरी गर्दा एकै ठाउँमा धेरै जनाले औलाले ल्याप्चे लगाएझैं गरी हाजिर गर्न पर्छ ।

लमही नगरपालिकाले लकडाउनभन्दा अघि ई–हाजिरीको व्यवस्था गरेको भए पनि लकडाउनसँगै ई–हाजिरी रोकेको जनाएको छ । ‘ई–हाजिरी तत्कालको लागि रोकेको छौ’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसीले भने–‘सहज वातावरण निर्माण नहुँदासम्म रजिष्टरमा नै हाजिर हुन्छ ।’ त्यसैगरेर राप्ती गाउँपालिकाले पनि तत्कालको लागि ई–हाजिरी रोकेको जनाएको छ । कार्यालयमा उपस्थित हुने कर्मचारीले रजिष्टरमा हाजिर गर्ने गरेका छन् ।

घोराही उपमहानगरपालिकाको कार्यालयका कर्मचारीले पनि आजभोलि रजिष्टरमा नै हाजिरी लगाउने गरेका छन् । ‘विगतमा ई–हाजिर गर्ने गरिन्थ्यो । तर लकडाउनसँगै कार्यालयमा जाने कर्मचारीले रजिष्टरमा हाजिरी गर्ने गरेका छौ’ उपमहानगरपालिकाका शाखा अधिकृत प्रेम केसीले भने । कोभिड १९ संक्रमण बढ्दै गएको छ । विश्वभर कोरानाबाट १ लाख ६५ हजारको ज्यान गैसकेको छ भने २४ लाख बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ६ लाख २४ हजार मानिस निको भएर घर फर्केका छन् । नेपालमा सोमवारसम्म ३१ जना संक्रमित फेला परेकोमा ४ जना पूर्णरुपमा निको भएर घर फर्केका छन् ।

सरकारले लकडाउन गरेसँगै अत्यावश्यक कामबाहेक अरु सबै स्थगित नै छन् । सरकारले आफूभन्दा माथिको कर्मचारीको सम्पर्कमा रहेर काम गर्न कर्मचारीलाई निर्देशन दिएको छ । त्यो कारण पनि अधिकांश कर्मचारी कार्यालय जाने गरेका छैनन् । कोराना संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठनले व्यक्तिगत सरसफाई र सामाजिक दूरी कायम राख्न भनेको छ । विगतका वर्षदेखि नै सूचना तथा सञ्चार प्रविधि मन्त्रालय मातहतको सूचना प्रविधि विभागले ई–हाजिरी प्रणालीमा आबद्ध हुन चाहने सरकारी कार्यालयलाई डिभाइस र सफ्टवेयर उपलब्ध गराउँदै आएको थियो । यस प्रणालीले उपस्थित कर्मचारीको व्यवस्थित हाजिरी संकलन र विदा तथा व्यक्तिगत सूचनाको केन्द्रीय व्यवस्थापन गर्ने र ई–हाजिरी प्रणालीमा आबद्ध भएका कार्यालयमा दैनिक कति कर्मचारी उपस्थित र अनुपस्थित भए वा विदामा छन् भन्ने आँकडा नियमित अपडेट राख्ने काम समेत गर्ने गरेको छ ।