कविता : बेमौसमी सपना

लोकराज अधिकारी

राती समय मै सुतेको थिए
देबि देबतालाई सम्झेर
पितृहरुलाई पनि स्मरण गरेर
देशको भलो सोंचेर
भुसुक्क निदाएको म
ब्युझिदा शरीर पसिना पसिना थियो ।
कारण थियो मैले देखेको
बेमौसमी सपना

मेरो सपनामा
एउटा बोल्न सक्ने ‘सेतो हात्ति’
काँचको पर्दा अगाडि आयो
अग्लो कुर्सीमा फुर्ती देखाउदै
गजधम्म परेर बस्यो, अनि
पल्याक पुलुक दायाँ बायाँ हेर्यो
उसको मुहारमा आक्रोश र दम्भको
पूर्ण मिश्रणको गाढा रङ्ग थियो ।
छेउछाउँमा दुइचार ‘साढेहरु’ थिए
उनीहरु युद्द मैदानबाट भर्खरै
जितेर आएको योद्दा जस्तो
अनि मैमत्त शैलीमा खुच्चिङ गर्ने तयारिमा
ताली बजाउँदै ख्वामित रिझाउन बसेको शैलीमा ।
त्यसैबेला
शान्त बाताबरणलाई भङ्ग गर्दै
‘सेतो हात्ति’ले दाह्रा बजाउँदै भन्यो
ए रैती हरु ! सुन तँ हरु !
तँ हरु जनता हैन
तँ हरु बिरोधी हो
तँ हरु मेरो आलोचक हो
बेमौसमी बाजा बजाउने त हरु हो
कर्कश धुन निकाल्ने त हरु हो
तँ हरु बोल्दैमा मेरो रौ हल्लिन्न बुझिस्
तँ हरुले लेख्दैमा मेरो केही नापिन्न बुझिस्
तँ हरु जस्तोको बुद्दीले बिगारेको सबै
मेरो बुद्दीले मात्र हो सपारेको सबै
तँ हरुले भन्दैमा मैले मान्छु ?
तँ हरुले बोल्दैमा त हरुको सुन्छु ?
तँ हरु रहस्यमयी षड्यन्त्रकारी हो
तँ हरुको किन सुन्ने मेरो सुन
किनकी म नै त्रीकालदर्शी हुँ
मै विधि हुँ मै बिधान हुँ
मै प्रणाली हुँ म नै ब्रमाण्ड हुँ
ब्रमाण्डमा मुर्दा शान्ती छाएको भन्ने ?
तँ हरुलाई मैले किन पत्याउने ?
तँ हरुलाई मैले किन सुन्ने ?
तँ हरु जनता हैन
तँ हरु बिरोधी हो
तँ हरु मेरो आलोचक हो
बेमौसमी बाजा बजाउने त हरु हो
कर्कश धुन निकाल्ने त हरु हो ।

यति भनेपछि ‘सेतोहात्ती’
‘ढुङ्गे ओडार’तिर लाग्यो
ती साढेहरु भने दर्शकदीर्घा तर्फ रहेका
‘सेतो हात्ती’ले भनेका रैती हरुतर्फ बढे
सिङले उधिन्न थाले
कसैको हेर्ने आँखा फुटाए
कसैको बोल्ने जिब्रो सिङमा उन्न थाले
कसैको कानको जाली फुटाइ दिए
क्रन्दन र चीत्कार बढिरहेको थियो
अकस्मात ठूलो गर्जन सुनियो
खबरदार ! खबरदार ! खबरदार !
पशु हौ भने पशुको अनुशासनमा बस
मान्छे हौ भने मान्छेको अनुशासनमा बस
विधि र बिधानमा चल
जनमतको कदर गर
नत्र ! नत्र ! नत्र………?
झल्यास ब्युझिए ।
दुई आम्खोरा पानी पिए ।