Goraksha

National Daily

स्थानीय उत्पादनको प्रवर्धन गर्न महोत्सव : अध्यक्ष चालिसे

तुलसीपुर उद्योग वाणिज्य संघले आगामी २४ गतेदेखि महोत्सव आयोजना गर्दै छ । तुलसीपुरमा पत्रकार सम्मेलन गरी आयोजकले महोत्सवबारे जानकारी दिएको छ । महोत्सवको लक्ष्य स्थानीय उत्पादनको प्रवर्धन र सामाजिक कार्य रहेको आयोजकले जनाएको छ । यससम्बन्धी गोरक्षकर्मी देवेन्द्र बस्नेतले महोत्सव आयोजक तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेसँग गरेको कुराकानीको सारसङ्क्षेप ।
 तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्दैछ, महोत्सवको लक्ष्य के हो ?
मूलभूत रूपमा तुलसीपुर उद्योग वाणिज्य संघको प्रमुख लक्ष्य भनेको स्थानीय उत्पादनको प्रवर्धन हो । कृषि उत्पादन तुलसीपुर क्षेत्रमा के–कस्ता छन् ? पशुपालनतर्फ किसानले कस्ता, कति उन्नत जातका पशुपालन गरिरहनुभएको छ, यो चिनारी झल्काइनु पर्छ भन्ने लक्ष्य अनुरूप महोत्सवको आयोजना गर्न लागेका हौँ । माहुरी पालनदेखि शुद्ध मह कहाँ पाइन्छ ? भन्ने जानकारी हामी दिन चाहन्छौँ । यसैगरी यहाँ उत्पादित अन्य चिजहरूको महत्व के छ ? जिल्लामा उत्पादित सामग्री कहाँ के पाइन्छ ? यस्ता विषयका बारेमा जानकारी दिने हाम्रो लक्ष्य हो । यो चिनारीसँगै स्थानीय उत्पादनमा लागेका व्यवसायीलाई यसको बजारीकरणमा टेवा पुगोस् भन्ने पनि हाम्रो लक्ष्य हो ।
कम्तिमा स्थानीय उत्पादनमा लागिरहनु भएका स्थानीयको उत्पादनको बजारीकरणमा टेवा पुगोस् भन्ने हाम्रो मनसाय हो । यससँगै तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलको थप व्यवस्थापन हाम्रो अर्को लक्ष्य हो । उक्त सभाहल निर्माणमा सहयोग गर्ने दाताका नाम शिलालेखमा लेखाउनु हामीले जरुरी देखेका छौँ, सबै दाताका नाम लेख्ने गरी शिलालेख निर्माण गर्ने छौँ । यससँगै महोत्सवका माध्यमबाट तुलसीपुर क्षेत्रका पर्यटकीय स्थलका प्रचारप्रसारसँगै प्रवर्धन गर्ने हाम्रो लक्ष्य हो ।
 प्रवर्धनका लागि महोत्सवका माध्यमबाट हुने सहुलियत के हुन्छ ?
मैले अघि पनि भनेँ, हामीले मूलतः कृषिसँगै स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर महोत्सवको आयोजना गर्न लागेका हौँ । यसर्थ कृषि उपजका लागि हामीले सहुलियत प्रदान गरेका छौँ । यसैगरी अन्य स्थानीय उत्पादनका स्टलमा पनि हामीले सहुलियत प्रदान गर्ने छौँ ।
साथै महोत्सवमा बाह्य व्यवसायीभन्दा पनि स्थानीय व्यवसायीका व्यापार प्रवर्धनलाई महत्व दिएका छौँ । उहाँहरूलाई पनि सहुलियतमा महोत्सवमा व्यवसाय चलाउने व्यवस्था गरिएको छ । हाम्रो सोँच के हो भने महोत्सवले कसैलाई पनि घाटा नहोओस्, सबै व्यवसायीलाई आर्थिक मुनाफा मिलोस् भन्ने विषयमा सजग छौँ र सोही अनुसार हामीले योजना बनाएका छौँ ।
 यस्ता महोत्सव व्यापार उन्मुख मात्रै हुन्छन् भन्ने छ नि ?
हिँजोका दिनमा महोत्सव सञ्चालन गर्नेले के गर्नु भयो ? त्यो फरक कुरा भयो तर हामीले आर्थिक लाभ केन्द्रितभन्दा पनि सामाजिक सेवा भावका साथ यो महोत्सवको आयोजना गर्न लागेका छौँ । यसमा आर्थिक मुनाफाको नियत कत्ति पनि छैन ।
महोत्सवबाट आम्दानी भएको खण्डमा उक्त आम्दानीलाई हामी सामाजिक कार्यमै जोड्ने छौँ, अर्को कुरा महोत्सवबाट हुने आम्दानी हामी तत्कालै यहाँहरू सबैसँग बसेर सार्वजनिक गर्ने छौँ । मूलभूत रूपमा यहाँको स्थानीय उत्पादन र ती उत्पादनको बजार प्रवर्धनसँगै महोत्सवबाट सङ्कलित रकम सामाजिक कार्यमा लगाउने महोत्सवको एक मात्रै लक्ष्य हो ।
 महोत्सवका लक्ष्य कति सफल होलान् त ?
स्वाभाविकै रूपमा तुलसीपुर उद्योग वाणिज्य संघ महोत्सवको आयोजक संस्था हो । यो महोत्सवलाई सफल पार्नका लागि आयोजक मात्रै नभई समग्र तुलसीपुरबासीकै साथ, सहयोग आवश्यक हुन्छ । त्यसो त कृषि तथा स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने र सामाजिक अभियानका साथ आयोजना गर्न लागिएको यो महोत्सवलाई सिङ्गो तुलसीपुरबासीले सहयोग गर्नेमा म पूर्ण विश्वस्त छु ।
महोत्सव कसैका लागि घाटा नभई सबैको हितका निम्ति गर्ने योजनाका साथ हामी अगाडि बढेका छौँ । यो महोत्सव विशुद्ध सामाजिक अभियानसँग जोडिएको हुनाले पनि हामीले सबैको पूरापुर साथ र सहयोग पाउने छौँ भन्नोमा विश्वस्त छौँ । समग्र तुलसीपुरबासीको साथ हामीलाई मिल्ने छ र हामीले महोत्सवबाट लिएका लक्ष्य शतप्रतिशत पूरा गर्ने छौँ ।