अमरराज आचार्य
दाङ, १० माघ । घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्म ६४ वटा मुद्दा दर्ता भएका छन् । यसरी दर्ता भएकामध्ये २३ वटा मुद्दा फस्र्यौट भएका छन् भने ४१ वटा फस्र्यौट हुन बाँकी रहेका छन् ।
न्यायिक समितिले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । न्यायिक समितिमा आर्थिक वर्ष २०७९÷०८० मा ३३ वटा मुद्दा सरी आएका थिए । जसमध्ये २२ वटा मुद्दा फस्र्यौट भएको र ११ वटा फस्र्यौट हुन बाँकी रहेको घोराही उपमहानगरपालिका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक हुमा डिसीले जानकारी दिइन् ।
चालु आर्थिक वर्षमा स्थानीय सरकार सञ्चालन ऐनको दफा ४७ (१) अन्तर्गत २२ वटा मुद्दा परेका थिए । जसमा ११ वटा फस्र्यौट भएका छन् भने ११ वटा बाँकी रहेका छन् । यसैगरी दफा (२) अन्तर्गत १६ वटा मुद्दा परेकोेमा ९ वटा फस्र्यौट भएका छन् भने ७ वटा बाँकी रहेको छन् । अन्य उजुरी तथा निवदेन (लेनदेन, घरायसी झैभगडा, अंश ऐलानी जग्गा विवाद समेत) २६ वटा मुद्दा परेका थिए । जसमा ३ वटा फस्र्यौट भएका छन् भने २३ वटा बाँकी रहेको उपप्रमुख डिसीले बताइन् ।
दफा १ अन्तर्गत आली, बाँध, पानी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोगसम्बन्धी ३ वटा मुद्दा परेका थिए । जुन फस्र्यौट हुन बाँकी छन् । ज्याला मजदुरी नदिएकोसम्बन्धी ३ वटा मुद्दा परेका थिए । जसमा एउटा फस्र्यौट भएको छ भने २ वटा फस्र्यौट हुन बाँकी रहेका छन् । ज्येष्ठ नागरिक पालनपोषण तथा हेरचाह नगरेकोसम्बन्धी एउटा मुद्दा परेको थियो । जुन फस्र्यौट भइसकेको छ । नाबालक छोराछोरी वा पत्नीलाई इज्जत आमद अनुसार खान, लाउन वा शिक्षादप्क्षा नदिएकोसम्बन्धी १० वटा मुद्दा परेका थिए । जसमध्ये ८ वटा फस्र्यौट भएका छन् भने २ वटा बाँकी रहेका छन् ।
वार्षिक २९ लाख रुपैयाँसम्मको विगो भएको घरवहाल सुविधासम्बन्धी ४ वटा मुद्दा परेका थिए । जसमा एउटा फस्र्यौट भएको छ भने ३ वटा बाँकी छन् । संधियारको जग्गातर्फ झयाल राखी घर बनाउनु पर्दा कानुन बमोजिम छोड्नुपर्ने परिमाणको जग्गा नछोडी बनाएको एउटा मुद्दा परेको थियो । जुन फस्र्यौट हुन बाँकी रहेको छ ।
दफा २ अन्तर्गत सरकारी, सार्वजनिक वा सामुदायिक बाहेकको हकको जग्गा अर्कोले चाँपी, मिची वा घुसाइ खाएकोसम्बन्धी १० वटा मुद्दा परेका थिए । जसमा ५ वटा फस्र्यौट भएका छन् भने ५ वटा फस्र्यौट हुन बाँकी रहेका छन् । गाली, बेइज्जतीसम्बन्धी ५ वटा मुद्दा परेका थिए । जसमा ४ वटा फस्र्यौट भएका छन् भने एउटा फस्र्यौट हुन बाँकी रहेको छ । अर्काको हक–भोगमा रहेको जग्गा आवाद वा भोग चलन गरेकोसम्बन्धी एउटा मुद्दा परेको थियो । जुन फस्र्यौट हुन बाँकी रहेको उपप्रमुख तथा संयोजक डिसीले बताइन् ।
नागरिकलाई सहज रूपमा न्याय प्रदान गर्न आफूहरू लागिपरेको उनको भनाइ रहेको थियो । मुद्दा मेलमिलापलाई प्राथमिता दिएर टुङ्ग्याउने गरिएको उनले बताइन् । पत्रकार सम्मेलनमा नगर प्रमुख नरुलाल चौधरीले नागरिकलाइ मेलमिलापको माध्यमबाट विवाद समाधान गर्ने गरिएको बताए । पछिल्लो समय लैङ्गिक हिंसा न्युनीकरण हुँदै गएको उनको भनाइ रहेको छ । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव आचार्यलगायतले भनाइ राखेका थिए । पत्रकार सम्मेलनको सहजीकरण प्रतला देवकोटाले गरेकी थिइन् ।