मेरो खुशी : आफ्नै हातले रेडियो प्रशारण गर्दा…
1 min read
सरल र शान्त स्वभाव । कामप्रतिको मेहनत, लगनशिलता र इमान्दारीताका कारण रेडियो प्राविधिक क्षेत्रमा सफल प्राविधिकका रूपमा आपूmलाई परिरिचत गराउन सफल सन्तोष अधिकारी २२ वर्षदेखि यो क्षेत्रमा सक्रिय छन् । तत्कालिन २०५९ सालमा मध्य तथा सुदुरपश्चिम क्षेत्रकै पहिलो सामुदायिक रेडियो स्वर्गद्वारी एफएममा प्राविधिक कर्मचारीका रूपमा जिम्मेवारी सम्हालेका अधिकारीले अहिलेसम्म काम गर्दै आएका छन् । दुई दशक लामो रेडियो यात्राका क्रममा पैसाभन्दा धेरै श्रोताहरूको माया प्राप्त गरेको बताउने अधिकारी २०५८ पुसको ९ गते रेडियो प्रशारण प्रारम्भ भएको दिनलाई आफ्नो खुसीको ठुलो क्षणका रूपमा लिने गर्दछन् ।
‘रेडियो स्थापना हुने भएपछि रेडियोका प्रबन्ध निर्देशक दधिराम सुवेदी सरले मलाई विश्वास गरेर बोलाउनु भयो’, उनले भने ‘सायद गाउँसँगै बजारमा बिग्रिएका रेडियो सेटहरू बनाएकोसँगै काम गर्न सक्ने विश्वास गरेर मलाई रेडियो प्राविधिकका लागि बोलाउनु भएको थियो ।’ रेडियोहरू बनाउने भए पनि रेडियो बजाउनेसम्बन्धी ज्ञान नभएका उनलाई सिक्नका लागि सुवेदीले काठमाडौँ पठाए । रेडियोका प्रबन्ध निर्देशक सुवेदीले प्राविधिकतर्फ अधिकारी र समाचारतर्फ निराजन खनाललाई काठमाडौँ पठाएका थिए । ‘हामीले १५ दिन रेडियो सगरमाथामा काम सिकेका थियौँ’, उनले भने ‘त्यहाँ भगिरथ योगी सरले रेडियोको प्राविधिकको काम सिक्नका लागि सहजीकरण गरिदिनुभएको थियो ।’
रेडियोको प्राविधिकको काम इन्जिनियरले गर्ने काम भएकाले उनलाई सुरुमा कसैले विश्वास गरेनन् । किनकि उनले इन्जिनियरिङ पढेका थिएनन् । ‘मैले घोराहीका रहेको महेन्द्र बहुमुखी क्याम्पसमा आइकम पढ्दै गर्दा थप पढ्दै काममा लागेको थिएँ’ उनले भने ‘इन्जिनियरिङ नपढेकाले पनि होला, काम गर्न सक्दैन भनेर खासै सिकाउन पनि मन गर्दैन थिए, तर मलाई भने जसरी पनि प्राविधिक ज्ञान सिकेर रेडियो चलाउनुपर्ने चुनौती थियो, दधिराम सरले गरेको विश्वास पूरा गर्नु पर्ने थियो ।’
यहि लक्ष्यलाई मनन् गर्दै रेडियो कसरी अनएयर गर्ने, कसरी बन्द गर्ने, समाचार र कार्यक्रमहरू आउँदा कसरी प्राविधिक मेसो मिलाउनेलगायतका विभिन्न काम ध्यान दिएर हेर्ने र सिक्ने गर्न थाले उनले । काम सिकेर फर्किएर पनि आफ्नोतर्फबाट सिक्ने काम पनि गरिरहेका थिए, तर रेडियो चलाउन सक्छु कि सक्दैन भन्ने उनको मनमा डर थियो । ‘२०५८ सालमा रेडियो स्टेशन निर्माणलगायतको काम सकिएपछि पुसको ९ गते रेडियो परिक्षण प्रशारण प्रारम्भ गर्ने दिन थियो तर रेडियो ब्रोडक्राष्टमा भ्वाइस जान्छ कि जाँदैन भन्ने एक खालको मनमा डर पनि थियो’, उनले भने, ‘प्रविधितर्फको सम्पूर्ण काम सकिएपछि अन ग¥यौँ र १०२.८ मेगाहर्जमा रेडियो स्वर्गद्वारी एफएफ बजेको क्षण मेरो खुसीको क्षण बन्यो ।’ त्योभन्दा अघि सुर्खेतमा रेडियो नेपालको क्षेत्रीय प्रशारण कार्यालय भए पनि एफएफ कुनै पनि थिएनन् ।
‘बजारमा बिग्रिएका रेडियो बनाउने मान्छेलाई तिमीले टेक्निसियन काम गर्न सक्छौ भनेर काठमाडाँै पठाएपछि त्यो विश्वासलाई व्यवहारमा परिणत गर्नुपर्ने चुनौती थियो’, उनले भने, ‘त्यही अनुसार मेहनत पनि गरेका थियौँ । रेडियो प्रशारणको दिन मेरो पहिलो परीक्षा पनि थियो, त्यो परीक्षामा रेडियो बजाएर पास हुन सफल भएको थिएँ, त्यो क्षण मेरो जीवनको सबैभन्दा ठुलो खुसीको क्षण हो ।’ रेडियोमा प्राविधिकको काम गर्नुभन्दा पहिले अधिकारीले घोराही बजारमा भएका विभिन्न पसलमा पुगेर बिग्रिएका रेडियो (मर्मत गर्ने) बनाउने काम गर्दै आएका थिए । त्यसका लागि किताबी ज्ञान लिएर तथा रेडियो सुनेर बिग्रिएका रेडियो बनाउने काम सिकेको उनी बताउँछन् ।
रेडियोमा पर्दा पछाडिका नायकका रूपमा रहे पनि अधिकारीलाई कहिल्यै रेडियोमा बोल्न मन भने लागेन । त्यही कारण रेडियोबाट सयौँका आवाजलाई लाखौँ श्रोतामाझ पु¥याउने काम गरे पनि अधिकारीले अहिलेसम्म आफ्नो आवाज रेडियोमा दिएका छैनन् । सानैदेखि कम बोल्ने स्वभावका अधिकारीलाई टेक्निसियनका रूपमा आफूलाई श्रोतामाझ चिनाउन पाउँदा नै खुसी लागेको बताउँछन् । ‘सानैदेखि कम बोल्ने स्वभावका कारण होला मलाई रेडियोबाट बोल्ने रहर कहिल्यै आएन ।
रेडियोमा बोल्छु भनेर आउनेलाई सहयोग गरेर उनीहरूलाई बोल्न सिकाएँ’,उनी भन्छन्,‘तर मलाई बोल्न रहर लागेन, २२ वर्षसम्म काम गरिरहँदा पनि रेडियोमा अझै बोलेको छैन । आपूmलाई रेडियो प्राविधिककै रूपमा श्रोतामाझ चिनाउन पाउँदा खुसी लाग्छ ।’ लामो रेडियो यात्राका क्रममा पैसाभन्दा रेडियोबाट आफूले प्राप्त गरेको मानसम्मान र इज्जत ठुलो कुरा भएको भन्दै अधिकारी भन्छन् ‘जुन सम्मान र इज्जतले मलाई धेरै ठाउँमा चिनाउन सफल भएको छ ।’
क्याम्पस पढ्दै र बजारमा रेडियो बनाउँदै घरखर्च जुटाउँदै गरेको आफूलाई रेडियोमा प्राविधिकको काम गर्छुभन्दा सुरुमा कसैले विश्वास नगरेको उनले बताए । कतिपय त साँच्चिकै होत भनेर हेर्न समेत आएको अनुभव उनले सुनाए । ‘रेडियोको प्राविधिकको काम गर्ने गर्थे तर कतिपय मानिसले यसले सक्दैन होला भनेर विश्वास नगरेर हेर्न एफएफमै आउने गर्नु हुन्थ्यो’, उनी विगत सम्झिँदै भन्छन्, ‘त्यो बेला रेडियोको प्राविधिक काम गर्ने इन्जिनियर पढेको हुनु पर्छ भन्ने थियो ।
पछिल्लो समय सामान्य बन्दै गएको छ ।’ प्रविधिको विकासले पछिल्लो समय रेडियो प्राविधिकको काम सहज बन्दै गएको छ । नजानेका कुरा युट्युवमा हेरेर गर्न सकिन्छ तर पहिले युटुव थिएन, न इन्टरनेट नै थियो । त्यो बेलामा नजानेका आवश्यक कुरा बुझ्नलाई किताब पढ्नुपथ्र्यो कि रेडियो सुन्नु पथ्र्यो । त्यसका लागि उनले धेरै किताबसँगै रेडियो नेपाललगायत भारतीय एफएम समेत सुनेको बताउँछन् । अधिकांश रेडियोमा मानिस काम गर्ने तर नटिक्ने अवस्था रहेको समयमा तपाई कसरी टिकी रहनु भएको छ भन्ने प्रश्नमा अधिकारी भन्छन्,‘मलाई धेरै पैसा कमाउनु छैन । मेरो रहरको पेसा हो । जसले गर्दा थोरै आम्दानी भए पनि सन्तुष्ट छु र काम गरिरहेको छु तर पछिल्लो समय रहरमा आउने र पैसा धेरै नहुने गर्दा मानिस आउने र छोड्ने क्रम बढेको छ ।’
प्रविधिको विकासले पछिल्लो समय रेडियोमा काम गर्न सहजता भएको उनी बताउँछन् । पहिले अहिले जस्तो गीत युट्युवमा हुँदैन थिए, क्यासेट आउथे ती क्यासेट सुनेर कार्यक्रमका लागि मिलाउनु पर्ने हुन्थ्यो तर अहिले युटुवमा सिधै आउने भएकाले प्राविधिकलाई सजिलो भएको छ । त्यसैगरी तत्कालिन सरकार र माओवादीबिचको सशस्त्र द्वन्द्वका क्रममा धेरै चुनौती थियो । रेडियोमा नियमित डिउटी गर्नुपर्ने र त्यसका लागि घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीबाट दैनिक आउनुपर्ने अवस्था थियो । द्वन्द्वका क्रममा सहरमा सेना–प्रहरी र गाउँ जादा माओवादीको त्रासकाबिचमा काम गर्दा निकै चुनौतीपूर्ण क्षण भए पनि सम्झन लायक रहेको उनी बताउँछन् ।
‘सेना र माओवादीको जगजगी हुन्थ्यो, कतिबेला के हुने हो भन्ने टुंगो हुँदैन थियो’, उनी भन्छन्, ‘त्यस्तो अवस्थामा सबैलाई ज्यानको माया हुन्थ्यो तर हामीलाई रेडियोको काममा जसरी नि आउनुपर्ने हुन्थ्यो ।’ चुनौती र संघर्षका बिचमा प्राप्त गरेको सफलता र मान सम्मानलाई सम्पत्तिका रूपमा लिएका अधिकारीले रेडियो प्राविधिक क्षेत्रमै थप ज्ञान हासिल गर्ने सोचमा रहेको बताउँछन् ।
प्रविधिको विकासले सहजतासँगै थप ज्ञानका लागि अपग्रेड हुनु पर्ने भएको छ, त्यसतर्फ ध्यान दिएर लाग्ने सोच बनाएको उनी बताउँछन् । इन्जिनियर पढ्ने इच्छा भए पनि सानै उमेरमा बुबाको निधन भएकाले पढाइसँगै घरका लागि खर्च व्यवस्थापन गर्ने जिम्मेवारीले गर्दा चाहेअनुसारको अध्ययन गर्न नपाएको उनी बताउँछन् । घोराहीको पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयबाट १० कक्षासम्म पढेका अधिकारीले आइकम भने महेन्द्र बहुमुखी क्याम्प्सबाट गरेका थिए ।
बुबा राममणि शर्मा र आमा सुमित्रादेवी शर्माको कोखबाट २०३४ साल भदौको १५ गते घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीको मिलिजुली टोलमा जन्मिएका अधिकारी २०५६ सालमा बर्दिया निवासी सपना मजगैँया अधिकारीसँग विवाह बन्धनमा बाँधिएका थिए । अधिकारी दम्पतीका छोरा समित अधिकारी अध्ययनमा छन् ।