स्वार्थले शङ्का र भय बढाउँछ

नारायणप्रसाद श्रेष्ठ

शंकाले मानिसलाई कहिल्यै पूर्ण हुन दिँदैन । न त यसले मानिसको जीवनमा कुनै तरक्की गर्ने अवसरको सिर्जना नै हुन दिन्छ । जब यो मानवीय चेतनामा देखा पर्न थाल्दछ तब त्यहाँ घृणा, द्वेष, इश्र्या, प्रतिशोध, अंहकार र स्वार्थ उत्पन्न गरी मानिस आफूले आफैलाई पतनको बाटो अपनाउन बाध्य गराउँछ । यति मात्र होइन यसले जीवनलाई अपांग बनाई समाजदेखि पर, अर्धचेतन अवस्थामा पु¥याउँछ । मानिसलाई स्वार्थी र अहंकारी बनाउँछ ।

भनिन्छ शंकाले लंका जलाउँछ । यसले आफू समाजमात्र होइन आफ्नो परिवेशलाई समेत अँध्यारो गल्लीमा हिड्न बाध्य बनाउँछ । जीवनलाई अधोगतितिर उन्मुख बनाई स्वार्थी तत्वभित्र विलय गराउँछ । जसका कारण मानवीय चेतनामा नयाँ जागरण प्रस्फुटन हुने गुन्जायस रहँदैन । न त यसले विश्वासको वातावरण बनाउन दिन्छ न त अरु कसैको मन जित्ने अवस्था प्रदान गर्दछ । जब मन नै विचलित हुने अवस्था सिर्जना हुन्छ तब मानिसमा भएको प्रतिभालगायत चेतना शून्य भई उ साहाराविहीन अपांग बन्न पुग्दछ । उ निसहाय र एक्लो हुन पुग्दछ । किनभने विश्वास नै सबै समस्याको समाधान भएको र यदि मन स्वार्थी छ भने जीवन नै अधुरो भएर देखा पर्ने हुन्छ ।

यो सास्वत सत्य पनि हो । यसले एकातिर आस्था र भरोसा गुमाएको हुन्छ भने अर्कोतिर जीवनको गति पनि विकृति तिर दौड्न बाध्य बनाउँछ । अर्को कुरा जहाँ शन्देह हुन्छ, त्यहाँ सत्य झुटमा र झुट सत्यमा परिणत हुने अवस्था हुन्छ । मानवीय चेतनामा सकारात्मकताभन्दा नकारात्मकतर्फ ध्यान केन्द्रित हुन र कार्य त्यतैतिर सलबलाउन थाल्दछ । जब सत्य झुटमा परिणत हुने अवस्था हुन्छ, तब मानव विवेक र दृष्टि अविश्वासको भूमरीमा फस्न बाध्य बन्छ । विस्तारै–विस्तारै उ कहिल्यै नउस्कने गरी दलदलमा फस्दै जान्छ र विलय हुन पुग्दछ ।

शन्देहले इगो बढाउँछ । यसले अरुमाथि दोषारोपण गर्ने अनर्थक प्रयास बढाउँछ । त्यो होइन म नै सबै हो भन्ने भाव जगाउँछ । जिद्दि र मुढेबलद्वारा आफूलाई योग्य सम्झन थाल्दछ । यसले उसमा आदर होइन अनादर गर्ने बानीको विकास हुन्छ । ईष्टमित्र, नाता, कुलकुटुम्बप्रतिको उसको भावना दुराचारतर्फ आकृष्ट हुन पुग्दछ । यसले गर्दा उसले जीवनलाई बुझ्न सक्दैन । न त जीवन जिउनुको सार्थकता नै उसले जान्दछ । जब अन्तिम घडी आइपुग्छ तेल सिद्धिन लागेको बत्तीको उज्यालो झै केही क्षणको लागि उसमा चेतना जागृत हुन पुग्दछ तर त्यसबेलामा समय घर्किसकेको हुने छ ।

त्यसैले यी सबै परेशानी र समस्या वा उल्झनबाट मुक्त हुन सधै एउटै सत्य ख्याल गर्नुपर्दछ । मैले यो जीवन छोड्नुपर्छ । अहिले म यो शरीरमा छु भने भरे वा भोलि यो शरीर नहुन सक्छ यो कुरालाई हमेशा मनको एउटा कुनामा राखेर आफूलाई प्रस्तुत गर्नुपर्दछ । त्यसको लागि आफ्नो बानी व्यहोरा र आचरणमा शुद्धता ल्याई संस्कारलाई परिस्कृत हुने वातावरण तयार गर्नुपर्दछ । सृष्टिको इतिहासदेखि अहिलेसम्म मानिसले मरेर के लगे ? र मैले पनि के लिएर जाने हो र ? यस कुरालाई सोचेर प्रत्येक क्षण आफूले प्रवाह गर्ने विचारमा अहंकार नल्याई विचारमा शुद्धता ल्याउनु पर्दछ र भावना सम्प्रेषण गर्नुपर्दछ । मरेर जाने चोला हो यो एकदिन अवश्य नासिन्छ । जन्मदा पनि नांगै र मर्दा पनि नांगै भन्ने सोच राखी आफूले व्यवाहारगत लागु गरिएका राम्रा संस्कार स्थापित गरेर जान्छु भनी आफूलाई रुपान्तरण गर्न सक्नु पर्दछ । विश्वासको धरातल बलियो बनाई निस्वार्थलाई आत्मसाथ गर्नुपर्दछ ।

अहिलेसम्मको इतिहास हेर्ने हो भने हाम्रा पुर्खाले आफ्नो जीवनमा के गरे के गरेनन् ? उनीहरुले कस्तो संस्कार छोडेर गए ? के राम्रा काम गरे ? के गरेनन् ? धन सम्पत्ति जोडेरसँगै लगे वा लगेनन् ? त्यसको लेखाजोखा गर्ने हो भने यसले प्रमाणित गर्दछ हाम्रा पुर्खाले आफ्नो शरीर त्याग गर्दा केवल उनले स्थापित गरेका चिनारीलाई आफ्नो चिनारी बनाएर गएको पाइन्छ । फलानाको समयमा यस्तो राम्रो प्रचलनको विकास गरेको रहेछन्, यही सम्झना छोडेर र आफूलाई त्यही परिचय दिई गएका रहेछन् ।

त्याग र समर्पणलाई जीवनको उद्देश्य राखेर कर्म गरी आफूलाई विलय गराएका रहेछन् । हामीले सुनेको भोगेको हिजोको इतिहास हेर्ने हो भने पनि मरेर जानेले साथमा केही लैजादा रहेनछन् । यो सत्य रहेछ । तसर्थ एक अर्काप्रतिको सद्भाव, सदाचार तथा नैतिक संस्कारमात्र मानिसको मृत्युपछिको चिनारी रहेछ भन्ने बुझि आफूलाई सचेत गराउन जरुरी छ । जीवन भनेको आशा र विश्वासको प्रतिमूर्ति भएकोले यसबाट स्थापित मान्यताले समाज आदर्श कसरी बन्दछ यस कुराको हेक्का राखी अघि बढ्न जरुरी छ ।

यसको लागि शंका भयले मानिसलाई पु¥याउने क्षतिको समयमै मूल्यांकन गर्न जान्नु पर्दछ । पद र प्रतिष्ठा प्राप्ति गर्नु छ भनी जथाभावी चरित्र नंग्याउने तथा प्रतिष्ठालाई रकमले खरिद गर्ने चेष्टा गर्नु, इमान्दारीतालाई तौलने चेष्टा गर्नु, निश्चय नै अस्वभनीय कार्य हुन् । यसले अविश्वास जन्माउँछ र शंका स्वतः उत्पन्न हुने अवस्था सिर्जना हुन्छ । जब यस्तो स्थिति आउँछ मानव अर्धचेतन भएर प्रस्तुत हुने अवस्था आउँछ । मानिस हो वा पशु हो उ नछुटिने अवस्था देखिन थाल्छ । यस्तो अवस्था आएमा एकातिर आफ्नो स्वच्छ विचार अरुको बन्धक बन्न सक्छ भने डर त्रास, भय र धम्कीले विचारमा संकृणता देखा पर्न थाल्दछ ।

विचार दविन सक्छ । मनका भावना खुम्चिन सक्छ । मानिस स्वयः गन्तव्यविहीन भएर एउटै कुरामात्र दोहो¥याइरहने स्थिति आउँछ । म किन अपवित्र, मेरो विचार किन अपवित्र, उसलाई थाहा हुँदैन । उ कसैको दास बनिसकेको हुन्छ । त्यसैले दास मनोवृत्ति जागृत गराउन खोज्ने मानव प्रवृत्ति र त्यस प्रवृत्तिलाई जन्माउने चरित्र कदापी गर्नु गराउनु हुँदैन । शरीरलाई चलायमान गराउने आत्माको स्वच्छतालाई पहिचान गरी विचारमा शुद्धता, आचरण र व्यवहारमा शुद्धता आउने मानसिकता बढाउनु पर्दछ । हरेक समस्याको समाधान चिन्ता, शंका, भय गरेर होइन सकारात्मक चिन्तन गरेर अगाडि बढ्ने कोसिस गर्नुपर्दछ ।

थोरै कुराले पनि मनमा पर्ने भ्रान्तीलाई यो मेरो पवित्र विचारलाई खण्डन गर्ने तुच्छ स्वार्थी तत्व हो भन्ने ठानी विचार र चिन्तनमा निखारपन ल्याउन सक्नुपर्दछ । इज्जत र प्रतिष्ठालाई रकममा खरिद गर्ने प्रवृत्ति छाडी व्यवाहारिक जीवनशैलीमा उच्चता प्रदर्शन हुने परिस्थिति उत्पन्न गर्नुपर्दछ । जीवनमा देखा पर्ने विविध समस्यालाई समाधान गर्ने आधार मूर्त बनेर आफूलाई प्रस्तुत गर्नुपर्दछ ।

दिनहुँ मनमा उब्जन सक्ने नकारात्मक प्रवृत्तिलाई हटाई हामी–हामीबिचको सुसम्बन्धमा आपसी मेल र सद्भाव छ, हामी एउटै शुत्रधार हौँ भन्ने ठानी संयम गर्ने बानीको विकास गर्नुपर्दछ । त्यस्तो भएमा गलत मानसिकता स्वतः हट्न गई विचार र सोचमा सिर्जनात्मक भाव जागृत भइरहन्छ । त्यसैले जीवनको हरेक क्षणमा आउने विविध समस्या र गलत स्वार्थी विचारलाई यो मायाको भ्रमपूर्ण चाल हो भन्ने ठानी आफूलाई म एक स्वतन्त्र आत्मा हुँ मेरो कर्म सकारात्मक प्रवृत्तिको विजारोपण गर्नु हो र समाज र वातावरणलाई स्वच्छ बनाउन पुर्खाले जसरी आफूलाई प्रस्तुत गरेका थिए त्यो कर्म मेरो प्राथमिकता हो भन्ने ठानी आफूलाई प्रस्तुत गर्नुपर्दछ ।

जन्ममरणको सत्यलाई बुझि आपसी द्वेष, क्लश भावना जागृत हुन नदिन आफूलाई सचेत बनाउनु पर्दछ । स्वार्थी प्रवृत्ति र शंकाले उत्पन्न हुने जति पनि नकारात्मक प्रवृत्ति छन् त्यसको समयमै पहिचान गरी मनको पवित्रतामा स्वार्थले बास गर्न नपाउने गरी आफूलाई प्रस्तुत गर्नुपर्दछ । म अरुको प्यारो कसरी बन्न सक्छु भनी चिन्तन गर्नुभन्दा म अरुको कसरी सहयोगी बन्न सक्छु भन्ने सोच वृद्धि गरी सहयोगी सदा सुखी भन्ने चरित्र प्रदर्शन गर्नु पर्दछ । अरुले के गरे भन्नुभन्दा मैले के गरे भनी आफूलाई सकारात्मक प्रवृत्तितिर जागृत गराउनु पर्दछ । यसैमा हाम्रो भविष्य उज्ज्वल छ । समय पनि यही खोजिरहेछ । अस्तु ।