‘फेरि कलाकारीतामै फर्कियौँ’

टिेकबहादुर पुन
लमही, ८ माघ । हास्यकलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुश–सुन्तली) लामो समयदेखि हाँस्य क्षेत्रमा देखिएनन् । २०७२ सालको भूकम्प पछि सामाजिक कार्यमा लागेका उनीहरू भूकम्प प्रभावित क्षेत्रमा बस्ती निर्माणमा जुटे । यस्तै चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणसम्म जुटेका उनीहरू रंगशाला निर्माणका क्रममा हण्डर खान पुगे । ०७२ देखि सामाजिक क्षेत्रमा खटिएका उनीहरू त्यसयताका केही वर्ष उनीहरूको उपस्थिति कलाकारीतामा शून्य प्राय बन्यो ।

रंगशाला निर्माणका क्रममा विभिन्न समस्या झेल्नु परेको भन्दै यो कामबाट हात झिकेका उनीहरू पुनः हास्यव्यङ्ग्य क्षेत्रमै ‘कम ब्याक’ गरेका छन् । दाङ देउखुरीको लालमटियामा चलिरहेको व्यापारिक महोत्सवमा प्रस्तुति दिन आएका उनीहरूले आफूहरू पुनः कलाकारीता क्षेत्रमा फर्किएको उद्घोष गरे । ‘हामीहरू सामाजिक कामका क्रममा केही वर्ष कलाकारीता क्षेत्रबाट टाढा रह्यौँ,’ कुञ्जनाले भनिन् ‘हामी फेरि अब तपाईहरूको मायाका कारण हास्यव्यङ्ग्यमा फर्किएका छौँ ।’ कलाकारीताबाट टाढा हुँदा दर्शकहरूले आफूहरूको उपस्थिति कलाकारीता क्षेत्रमै रहोस् भन्ने चाहेकाले दर्शकको अपेक्षाअनुसार नै यो क्षेत्रमा फर्किएको कुञ्जनाले बताइन् । ‘हामीहरू कलाकारीता क्षेत्रबाट टाढा हुँदा तपाईहरूले यिनीहरू कता हराए भनेर खोज्नु भयो, धेरैले फेरि कलाकारीतामै फर्किन सुझाव दिनुभयो,’ कुञ्जनाले भनिन् ‘तपाईहरूले नै यो क्षेत्रमा हामीलाई खोेजेको हुनाले हामी फेरि तपाईहरू माझ धुर्मुस र सुन्तली बनेर आयौँ ।’

मेरी बास्सै टेलि श्रृंखलाबाट हास्यव्यङ्ग्य क्षेत्रमा आफूहरूको अलग प्रभाव छोडेका उनीहरूको कलाकारीताको प्रभाव राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै चुलियो तर भूकम्पले निम्त्याएको विपत्तिले उनीहरूको यात्रालाई फरक मोड दियो , अनि लागे सामाजिक अभियानको बाटोमा । देउखुरीको महोत्सवमा हजारौँ दर्शकका अगाडि सीतारामले आफूहरूले सामाजिक अभियानका क्रममा भोग्नु परेका दुःख सुनाए । ‘काखे छोरीलाई अरूको जिम्मा लगाएर हामी दुईजना जहिल्यै सामाजिक कार्यमा खटियौँ,’सीतारामले भने ‘तर हामीले थालेका सबै कामहरू हामीले चाहेको र सोचेको जस्ता हुन पनि सकेनन् ।’ आफूहरू कलाकारीतामै फीट रहेको भन्दै सीतारामले अबको यात्रा कलाकारीता नै रहेको बताए ।

‘विभिन्न व्यवधानका बाबजुद पनि सामाजिक काम गरियो, केही गर्न सक्यौँ, केही गर्न सकेनौँ होला’ सीतारामले भावुक हुँदै भने ‘अब भने दर्शककै मायाले पुनःकलाकारितामा फर्किएका छौँ ।’ आफूहरूलाई पुनः पुरानै रूप धुर्मुस सुन्तलीका रूपमा अब निरन्तर दर्शकहरूले देख्न पाउने बताएका उनीहरूले महोत्सवमा धुर्मुस र सुन्तलीको अभिनय गरेर प्रस्तुती राखेका थिए ।

निरन्तर यो क्षेत्रमा लाग्ने प्रणसहित कलाकारीतामा फर्किएको यो जोडीले कलाकारीताबाट अब आफूहरू कतै टाढा नहुने समेत प्रतिबद्धता गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेसन नामक संस्थाबाट उनीहरूले सामाजिक कार्यको प्रारम्भ गरेका थिए ।