गोरक्ष समाचारदाता
दाङ, ८ माघ । कृषि विकास बैंक ५७ औँ वर्षमा प्रवेश गरेको छ । ५७ औँ वर्ष प्रवेशका अवसरमा घोराहीमा रहेको कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालयले वार्षिकोत्सव तथा पुनर्मिलन समारोहको आयोजना गरेर मनाएको छ । ५७ औं वार्षिकोत्सव तथा पुनर्मिलन समारोहमा बोल्ने बक्ताहरूले कृषि क्षेत्रको विकासलाई प्राथमिकता राख्दै बैंकले प्रदान गर्ने अन्य सेवालाई सहजता बनाउँदै सेवाग्राहीको मन जितेर अघि बढ्नु पर्ने बताएका थिए ।
त्यसका लागि बैंकले प्रदान गर्ने सेवा सुविधालाई बढाउनुका साथै सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । कुनै समय देशकै प्रमुख बैंकका रूपमा स्थापित कृषि विकास बैंकलाई बद्लिदो समयमा किसान र सेवाग्राहीको विश्वासिलो र भरपर्दाे बंैक बनाउनका लागि बैंकले प्रदान गर्ने सेवा सुविधासँगै कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यानदिनु पर्ने बताएका थिए ।
कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय प्रदेश निर्देशक राजेन्द्र रानाभाटको अध्यक्षता तथा बैंकका पूर्व विभागीय प्रमुख शरदकुमार घिमिरेको प्रमुख आतिथ्यता तथा कृषि विकास बैंक धम्बोझी शाखाका मुख्य शाखा प्रबन्धक एवम् विभागीय प्रमुख अनोज बस्नेत र पूर्व कर्मचारी समाजका अध्यक्ष केशव पन्तको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
वार्षिकोत्सव तथा पुनर्मिलन समारोहमा नेपाल वित्तीय संस्था कर्मचारी संघ लुम्बिनी प्रदेशकी प्रतिनिधि निशा गिरी, कृषि विकास बैंक कर्मचारी संगठन नेपालका प्रतिनिधि तिर्थराज पण्डित, कृषि विकास बैंक कर्मचारी संघका अध्यक्ष अतिश शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । बैंकको वार्षिकोत्सवका अवसरमा २५ र २० वर्षे कार्यअवधि पूरा गरेका ९ जना कर्मचारीलाई नगदसहित कदरपत्र प्रदान गरेर सम्मान गरिएको थियोे ।
त्यस अवसरमा २५ वर्षे सेवा अवधि पूरा गर्ने बैंकका कर्मचारी जयनेपाल श्रेष्ठ, भेषबहादुर जिसी, मानबहादुर चौधरी, जोगबहादुर खड्का, विमला श्रेष्ठ, विष्णुजंग शाह, शिवशंकर गिरी, नुमबहादुर रायमाझी र २० वर्षे सेवा अवधि पूरा गर्ने हेमन्ताकुमारी थापालाई सम्मान गरिएको थियोे । कृषि विकास बैंक प्रदेश कार्यालय दाङका वरिष्ठ शाखा प्रमुख अनिल भुसालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण विजय जोजिजूले गरेका थिए ।