लामो दुरीका सवारीसाधनमा दुई चालक, दोस्रो चालकको सट्टा ‘सौ÷पचास’

देवेन्द्र बस्नेत
दाङ, ८ माघ । लामो दुरीका सवारी साधन बढी दुर्घटना हुन थालेपछि चालकमा थकान र उनीहरू निदाउनुलाई प्रमुख कारण मानियो । फलतः ट्राफिक प्रहरीले लामो दुरीका सवारी साधनमा अनिवार्य दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्ने निर्णय ग¥यो । त्यसोत, यो व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मै व्यवस्था छ । यो ऐनको दफा १०४ मा लामो दुरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी चालक परिवर्तन भएर सवारी साधन चलाउनु पर्ने भन्ने उल्लेख छ ।

यो नियमलाई कडाईका साथ लागु गर्ने भनिए पनि अहिले लामो दुरीका अधिकांश सवारी साधन भने एकल चालकले हाँक्दै आएका छन् । दुई चालक राख्दा खर्च धान्न नसकिने भन्दै लामो दुरीका सवारी साधन धनीहरूले एक मात्रै चालक राख्ने गरेको बताउँछन् । ‘दुई चालक राखेर सवारी साधन कुदाउँदा खर्च धान्न सकिन्न,’ एक सवारी साधन धनीले भने ‘अहिले गाडी लाईनमा कमाई निकै न्यून छ, घाटामा रहेका बेला दुई जना चालक राखेर कसरी गाडी कुदाउन सकिन्छ ?’

एकजना चालकले लामो दुरीका सवारी साधन हाँक्नुलाई प्रहरी गलत भन्छ तर दुई जना चालक अनिवार्य लागु गर्न पनि सकिरहेको छैन । ‘मुश्किलले एकाध बसहरूमा दुई जना चालक होलान्,’ दाङदेखि काठमाडौँ चल्ने एक रात्रि बसका यातायात मजदुरले भने ‘दुई जना चालक राख्ने भन्ने त नियममा मात्रै हो, अधिकांश बसहरू एकजना चालकले मात्रै हाँकिरहेका छन् ।’ ट्राफिक प्रहरीले केही स्थानमा लामो दुरीका सवारी साधनमा दुई जना चालक भए नभएको चेकजाँच गर्छन् ।

तर दुई चालकहरू अनिवार्य राख्नका लागि दबाब दिँदैनन् । यातायात मजदुरहरुकाअनुसार सानो तिनोे रकममै कुरा मिलिहाल्छ । ‘कुनै–कुनै ठाउँमा दुईजना चालक बारे सोधी खोजी हुन्छ,’ ती बसका मजदुरले भने ‘अर्को ड्राइभरको सट्टा सौ÷पचास रूपैयाँ दिएपछि कुरो मिलिहाल्छ ।’ ती मजदुर कार्यरत बसमा पनि एकल चालक छन् । दुई जना चालक सोधी गर्ने ट्राफिक प्रहरीलाई उनले कैयन पटक सौ÷पचासमै कुरो मिलाउँदै आएको बताउँछन् । ‘हाम्रो बसमा एकजना मात्रै चालक हुनुहुन्छ,’ उनले भने ‘अर्को चालक खोजेपछि सौ पचास दिए काम चल्छ, हामीले लामो समयदेखि यही गर्दै आएका छौँ ।’

नेपालगंजदेखि काठमाडौँ चल्ने एक बसका मालिकले पनि आफ्नो बसमा एकजना चालक मात्रै राखेका छन् । उनलाई पनि लामो दुरीका सवारी साधनमा दुई चालक राख्नु पर्ने नियम बारे थाहा त छ तर उनी भन्छन् ‘दुई चालक राखेपछि खर्च कसरी धान्ने ? खर्च धान्नै सकिन्न, अहिले गाडी लाईनमा आम्दानीनै छैन’ तर राजमार्गमा हुने प्रहरी चेकजाँचमा दुई चालक बारे सोधी हुन्छ । यी मालिकले पनि अर्का चालकको सट्टा सौ–पचासको नोट दिन्छन् र गन्तव्यतर्फ जान छुट मिलिहाल्छ । ‘दुई चालक राख्न सकिने अवस्था छैन, एकै चालकले नै गाडी कुदाउने हो,’ उनले भने ‘बाटोमा हुने चेकजाँचका क्रममा हामीले दुई जना चालक देखाउन सक्ने कुरै भएन, अनि सौ पचास दिएर छुुट्टी पाउँछौँ, हाम्रा अर्का चालक भनेकै सौ÷पचासका नोट बन्दै आएका छन् ।’

कतिपय लामो दुरीका सवारी साधनमा त चालक एकै हुन्छन् तर चालक अनुमति पत्र भने दुईवटा हुन्छन् । दोस्रो चालक अनुमति पत्र देखाएर कैयन सवारी साधन सजिलै चेकजाँचबाट उन्मुक्ति पाउँछन् । यस्ता लामो दुरीका सवारी साधनहरूमा चालकसँगै सहचालक वा कन्डक्टरको पनि सवारी चालक अनुमति पत्र हुन्छ । प्रहरीले चेकजाँचका क्रममा सोधी खोजी गरे यस्ता यातायात व्यवसायीहरूले उनै कन्डक्टर वा सहचालकको सवारी चालक अनुमति पत्र देखाउने गर्छन् तर सवारी अनुमति पत्रधारी यस्ता सहचालक तथा कन्डक्टरहरू बस हाँक्न अनुभवी भने हुँदैनन् । ‘कुनै गाडीका खलासी वा कन्डक्रहरूको पनि लाईसेन्स हुन्छ, यी लाईसेन्स चेकजाँचका क्रममा मात्रै काम लाग्छन्,’ ती बस मालिकले भने ‘लाईसेन्स भएका कन्डक्टर तथा खलासीहरू सबै गाडी कुदाउने अनुभवी हुँदैनन्, उनीहरूको हात बसेकै हुँदैन, फलतः उनीहरूलाई सवारी साधन चलाउन दिए दुर्घटनाको झनै जोखिम हुन्छ ।’

यता यातायात व्यवसायी तथा मजदुरहरूले भने जस्तो चेकजाँचमा फितलो नभएको ट्राफिक प्रहरी दाबी गर्छ । काठमाडौँ भित्र्ने हरेक लामो दुरीका सवारी साधनमा दुई चालक भए नभएको बारे नागढुंगामा नियमित कडाईका साथ चेकजाँच भइरहेको ट्राफिक प्रहरी दाबी गर्छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नागढुंगामा कडाईका साथ चेकजाँच भइरहेको र सबै सवारी साधनहरूमा दुईजना चालक रहेको दाबी गरे । ‘काठमाडौँ उपत्यका भित्र्ने लामो दुरीका सबै सवारी साधनहरूमा दुई जना चालक भए नभएको बारे नागढुंगामा कडाईका साथ चेकजाँच भइरहेको छ,’ प्रवक्ता भट्टले भने ‘यो चेकजाँचका क्रममा सबै सवारी साधनमा दुई चालक रहेको र उनीहरूले पालैपालो सवारी साधन चलाएको देखिन्छ ।’

प्रहरीकाअनुसार २ सय ६० किलोमिटरको दुरीदेखि बढी दुरीमा चल्ने सवारी साधनहरूलाई लामो दुरीका सवारी साधन मानिन्छ । यो दुरीमा चल्ने सवारी साधनहरूमा अनिवार्य रूपमा दुई चालकहरू हुनुपर्ने र उनीहरूले पालैपालो सवारीसाधन चलाएको देखिनु पर्ने हुन्छ ।

यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले हरेक सवारी साधनहरू एकै चालकले नभएर पालैपालो चलाउने व्यवस्था रहेको दाबी गर्छ । महासंघका सल्लाहकार सुरेश हमालले सवारी साधनमै रहने दक्ष जनशक्तिबाट पालैपालो सवारी साधन चलाउने व्यवस्था रहेको बताए । ‘भत्ता खाने गरेर छुट्टै अर्को चालकको व्यवस्था छैन तर सवारी साधनमा रहने हेभि लाईसेन्सधारी जनशक्ति सहचालक वा परिचालकहरू हुन्छन्, चालक र सहचालक वा कन्डक्टरले पालैपालो सवारी साधन चलाइरहेको अवस्था देशैभरी छ ।’ एकल चालक हुँदा चालक थाक्ने, वा निदाउने समस्या रहने हुँदा दुर्घटनाको जोखिम हुने भएकाले अनिवार्य रूपमा दुई जनाले पालैपालो सवारीसाधन चलाउनु पर्ने नियमलाई कडाईका साथ लागु गरिएको पनि उनले बताए ।