घोराही, ८ माघ । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिकाको शान्तिनगरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं.३–०१–००५ ख ९७१९ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ झडीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका १ निवासी ३६ बर्षीय भीमनाथ योगी र मधुवन नगरपालिका २ अमरपुर निवासी ५२ बर्षीय युवराज चौधरी रहनुभएको जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लले जानकारी दिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख मल्लका अनुसार तीव्र्र गतिमा रहेको बस अनियन्त्रित भएर भित्तामा ठोकिदा बसको गाडी बसेका यात्रु हुत्तिएर च्यापिदा दुई जनाको मृत्यु भएको छ ।
उनका अनुसार दुर्घटनामा बस चालकसहित दुई सामान्य घाइते हुनुभएको छ भने बसमा सवार ४७ जनामध्ये अन्य यात्रु सकुशल रहनुभएको छ । बस रातीको करिव १२ बजेतिर दुर्घटनामा भएको थियो ।