सल्यानको डोप्केमा खानेपानी समस्या

इन्द्र बुढाथोकी
सल्यान,८ बैशाख । सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिका–४ डोप्केमा खानेपानीको समस्या भएको छ । बनगाड कुपिण्डे नगरपालिका १२ वटै वडाका अधिकास बस्तिहरुमा खानेपानी समस्या हुने गरेको छ । सुक्खा मौसमसँगै खानेपानीका मुहान सुक्न थालेपछि गाउँमा खानेपानी हाहाकार भएको स्थानीयले बताएका छन । कोरोना भाइरसको सन्त्रासभन्दा पनि उक्त ठाउँका स्थानीयलाई खानेपानीको पिरलोले बढी सताउन थालेको छ ।

देशमा लकडाउन भएको र कोरोनाका कारण कसैको घरमा नजाने सरकार बताएपनि सल्यानमा पानी भर्नकै लागि भिडभाड हुने गरेको छ । दैनिक ५० लिटर खानेपानी पालो लगाए लिने गरेपनि उक्त पानी बस्तुभाउलाई खुवाउन ठिक्क हुने गरेको छ ।

खानेपानीको भरपर्दाे माध्यम नहुदा ‘‘खानलाई पानी पुग्दैन, नुहाउने, कपडा धुनेदेखि शौचालय प्रयोग गर्नलाई झन समस्या छ’, डोप्केकी रुमा बुढाले भनिन्,‘ खानलाई पानी छैन, कोरोनाबाट बच्नलाइ कसरी दैनिक हात धुने रु’ कोरोना भाइरसको भन्दा आफुहरुलाइ कति बेला पानी भर्ने र घरको काम गर्ने भन्ने चिन्ता लागेको उनले बताएकी छन ।

बनगाड कुपिण्डे नगरपालिका–४ डोप्केका दुर्गा बस्नेतलाई पनि उस्तै समस्या छ । ६५ घरधुरीलाई खानेपानी कहाँबाट ल्याउने भन्ने चिन्ताले सताउन बताए । एक गाग्री पानीका लागि दिनभर बिताउनुपर्ने बाध्यता रहेको उनले बताए । बालबालिकालाई पढाइभन्दा खानेपानी भर्नमा बढी समस्या हुने गरेको बताए । यस्तो समस्या प्रत्येक वर्षौदेखि बेहोर्दै आइरहेको उनले बताए । गाउँमा बर्षैदेखि खानेपानीको समस्या पनि सरकारले वेवास्था गर्दै आएको दुर्गा बस्नेतले बताएका छन ।

वषौंदेखि खानेपानीको हाहाकार हुँदा पनि कसैले सम्बिन्धि निकायले कुनै वास्ता नगरेको अर्का स्थानीय झलक बुढा बताउँछन । उनले भने, ‘खानेपानीको व्यवस्था गरिदिन नगरपालिकालगायत सबै ठाउँमा धाइयो, तर कहीँ कतैबाट पनि हाम्रो समस्या समाधान हुन सकेन ।’ खानेपानीको समाधानको उपाय भनेको लिफ्ट मात्र भएको र धेरै बजेट लाग्ने भएकोले कुनै निकायबाट पहल नभएको उनी बताउँछन ।