गोरक्ष समाचारदाता
दाङ, ६ माघ । हिन्दु धर्मावलम्बीको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी हो । स्वर्गद्वारीमा महाप्रभुले आश्रम स्थापनासँगै विश्व शान्ति र कल्याणका लागि १९५२ सालमा गरेको महायज्ञको धुनि अहिलेसम्म निरन्तर बल्दै आएको विश्वास छ । स्वर्गद्वारीमा यज्ञकुण्ड, गौशाला सञ्चालन, पर्व पूजा, विशेष पूजालगायत दैनिक कार्य सञ्चालनका लागि खर्च जुटाउन महाप्रभुले भक्तजनको दानबाट उठेको पैसाले जग्गा किनेको बताइन्छ । यसर्थ स्वर्गद्वारी आश्रमको जग्गालाई विशेष प्रकारको निजी गुठी भनेर परिभाषित गरिएको छ ।
स्वर्गद्वारी आश्रमका उपाध्यक्ष डा ध्रुवश्रीले स्वर्गद्वारी महाप्रभुले झोली (दानबाट उठेको रकम)को रकम खर्च गरेर किनेको जग्गा भएकाले यसलाई कानुनतः विशेष प्रकारको निजी गुठी मानिएको बताउँछन् । महाप्रभुले व्यक्तिगत लाभभन्दा पनि विश्व कल्याणका लागि व्यक्तिसँग किनेको सम्पत्ति भएकाले स्वर्गद्वारी आश्रमको जग्गालाई विशेष प्रकारको गुठी भनिएको उनले बताए । ‘स्वर्गद्वारी आश्रमको जग्गा महाप्रभु आफैल स्वयम् व्यक्तिगत पैसा खर्च गरेर किनेको जग्गा हो, यो कतैबाट सहयोग वा प्राप्त भएको जग्गा होइन’, ध्रुवश्रीले भने, ‘जसले गर्दा स्वर्गद्वारीको जग्गालाई विशेष प्रकारको निजी गुठी भनिएको हो ।’ उनका अनुसार महाप्रभुले विश्व शान्ति र कल्याणका लागि स्वर्गद्वारीमा यज्ञकुण्ड, गौशाला, पर्व पूजा, विशेष पूजालगायत दैनिक कार्य सञ्चालनका लागि झोलीको पैसा खर्च गरेर किनेको जग्गा हो । अन्य ठाउँमा राजाबाट वा अन्य व्यक्ति वा संघसंस्थाबाट प्राप्त भएको जग्गा भए पनि स्वर्गद्वारीको विशुद्ध रूपमा स्वर्गद्वारी महाप्रभुबाट दैनिक वैदिक कार्य सञ्चालनसँगै गाईपालनका लागि किनेको जग्गा भएको उनले बताए ।
त्यही कारण अन्य गुठीमा मोही कायम भए पनि स्वर्गद्वारी आश्रमको गुठीमा मोही कायम नहुने २०६२ साल चैतमा जारी सर्वोच्च अदातलतको परमादेशमा भनिएको छ । स्वर्गद्वारी आश्रमको प्युठानसहित दाङका विभिन्न स्थानमा जग्गा रहेको छ । आश्रमको करिब एक हजार ५० विगाहा जग्गामध्ये सात सय ७६ विगाहामा दुई सय ८९ जना किसानले मोही दाबी गर्दै आएका छन् । सर्वोच्च अदालतले भने स्वर्गद्वारी आश्रम विशेष प्रकारको गुठी भएकाले यो जग्गा खण्डीकरण गर्न नमिल्ने भन्दै परमादेश जारी गरिदिएकाले किसान समस्यामा परेको बताइएको छ । स्वर्गद्वारी आश्रमको जग्गालाई अन्य गुठी सरह बनाउँदै मोही कायम गर्न थालिएपछि आश्रमकै तर्फबाट सर्वाेच्चमा रिट दायर गरिएपछि सर्वोच्च अदालतले मोही नलाग्ने परमादेश जारी गरेको धुर्वश्री बताउँछन् । उनका अनुसार सरकारको सहयोगमा जग्गा कब्जा गर्ने उद्देश्यले केही व्यक्ति आश्रमको जग्गालाई राजगुठी बनाउन थालेपछि आश्रम सर्वोच्च अदालत गएको हो । बाल तपस्वी गौतमले जग्गा किन्दा बनाएका लिखतसमेत अदालतमा पेस गरिएका थिए ।
‘आश्रमको जग्गा कब्जा गर्ने उद्देश्यले केही व्यक्तिहरूले राजगुठी बनाएर खण्डीकरण गर्न चाहेका थिए’, उनी भन्छन्, ‘थाहा पाएपछिले अदालत गयौँ र अदालतले आश्रमको पक्षमा परमादेश जारी गरेको हो ।’ सर्वोच्च अदालतले निजी गुठी भनेर आश्रमको जग्गामा मोहियानी हक नलाग्ने फैसला गरेको थियो । आश्रमका जग्गा तपस्वी महाप्रभुले भक्तजनको दानदक्षिणा सङ्कलन गरेर किनेका हुन् । त्यसैले यसलाई खण्डीकरण र हस्तान्तरण गर्न नमिल्ने अदालतको फैसलामा उल्लेख छ । आश्रमले सरकारले आश्रमको सम्पत्ति सुरक्षामा ध्यान नदिँदा मनपरी बढ्दै गएको गुनासो गर्दै आएको छ ।
स्वर्गद्वारीको प्युठान, रोल्पासँगै दाङको घोराही र देउखुरीका विभिन्न स्थानमा आश्रमको जग्गा छ । घोराही उपमहानगरपालिका अन्तर्गत झिँगौरा, रामपुर र नैनवारमा र देउखुरी अन्तर्गत वनगाउँ, उचानिम्बुलगायतका ठाउँमा रहेको जग्गा किसानले जोतभोग गर्दै आएका छन् । २०५२ साल अघिसम्म किसानले जोतभोग गरे अनुसार आश्रमलाई कुत बुझाउने गरे पनि त्यसपश्चत त्यो कुत पनि बुझाउन छोडेको आश्रमले बताउने गरेको छ । किसानले कुत बुझाउन छोडेपछि आश्रमले पछिल्लो समय झिँगौरामा रहेको केही विगाहा जमिन लिजा लगाएर आम्दानीको स्रोत समेत जुटाउँदै आएको छ ।
स्वर्गद्वारी आश्रम नियमित सञ्चालन गर्न वार्षिक करिब ३ करोड बढी खर्च लाग्ने गर्दछ । कर्मचारी तथा दैनिक पूजापाठका लागि उक्त रकम खर्च हुने गरेको छ । गुरुकुलमा पढ्ने बालबालिकाको सबै खर्च समेत आश्रमले बेहोर्ने गर्दछ । नियमित स्रोत नहुँदा आश्रमले पछिल्लो समय जग्गा लिजमा दिएर आम्दानीको स्रोत जुटाउँदै आएको छ भने मुख्य स्रोत भक्तजनको दानदक्षिणा नै रहेको छ ।