के.पी. सुवेदी
प्रचण्डले नेतृत्व गरेको गठबन्धन सरकारको गठन भएको एक वर्ष पुग्दा समयले भने धेरै घुम्तीहरु पार गरिसकेको छ । सायदै यही सरकारको पालामै काण्डैकाण्डका शृङ्खलाहरु यति धेरै रचिएका छन् कि ऐतिहासिक वर्षको घोषणा गरे पनि फरक परेन । त्यही कारण यो सरकारका मन्त्रीले वार्षिक प्रगति समीक्षा गर्न आत्तिएका देखिन्छन् । ढाँटको निम्तो जनतालाई पठाएर निर्वाचन जित्न सिपालु कम्युनिस्टमध्ये माओवादी अरुभन्दा धेरै अगाडि रहेको पार्टी हो ।
सरकारको गठन भएको यति छोटो अवधिमा यति धेरै उपलब्धिका शीर्षक राख्ने वहाना जुराउनु पनि चानचुने कला होइन । यस्तो राजनीतिक कलाकारितामा सबैलाई पछार्ने मन्त्री पदीय मर्यादाको खिल्ली उडाउने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती चिनिएका छन् । धर्मलाई अफिमको सङ्ज्ञा दिने पार्टीका नेता हुन्, किराँती । उनी मन्त्रिमण्डलमा सबैभन्दा विवादित भएर पनि नैतिकताले नछोएका मानिस हुन्, मन्त्रि किराँती । जसले क्रिश्चियन धर्मको प्रचार गर्दै हिन्दु धर्मावलम्बीलाई धम्क्याउँदै क्रिश्चियन नस्वीकारे जेल हाल्ने चेतावनीयुक्त भाषा बोल्दा यिनलाई धार्मिक सहिष्णुतामा प्रहार गरेको भनेर सबैले निन्दा गरेका थिए ।
जतिसुकै निन्दा गरिए पनि उनलाई प्रधानमन्त्री प्रचण्डले बेठिक गरेको देखेनन् र माओवादी हुनुको नाताले नैतिकताको प्रश्न किराँतीमाथि लागु भएन । उनको पदको गरिमापूर्ण जिम्मेवारी धार्मिक सद्भाव कायम गराउ नपर्ने थियो तर त्यसविपरीत चर्चको पादरीभन्दा एक कदम अगाडि बढेर न्यून सङ्ख्याका इसाईहरुको समर्थन गर्दै अधिक्तम सङ्ख्याका हिन्दुहरुको आस्थामा प्रहार गरे । उनी अफिमको नशामै लठ्ठिनै मन लागे पनि त्यसमा स्वतन्त्र छन्, तापनि अरुको अधिकारमाथि हमला गर्ने अधिकार छैन । चाहे मन्त्री नै किन नहोउन् संविधानले उनी पनि एकजना नागरिकभन्दा बढी हुने अधिकार दिँदैन । बहुसङ्ख्यक नागरिकको घृणालाई पचाएर अहिले आफ्नो कार्यकालको कथित १०१ उपलब्धि सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । जसमा सार्वजनिक प्रचारभन्दा बेसी केही पनि छैन ।
त्यसको लगत्तै सूचना तथा सञ्चारमन्त्रीले पत्रकार सम्मेलनमा टुटेफुटेका उपलब्धिको विवेचना गर्दै परीक्षा प्रणालीमा रहेका लापरबाही र गैह्रजिम्मेवारीले सिर्जित अवस्थाको व्याख्या गरिन् । उनको लवजमा आफ्नो दायित्व रहने कुरा स्वीकारेको देखिँदैन । निर्वाचनताका के–के प्रतिबद्धता थिए र कति कुरा इमान्दार प्रयत्नका वावजुद सुधारन नसकिएको स्वीकारोक्ति छैन । एक वर्षमा कति गर्न सकियो ? नसकिएको भए किन र कसका कारणले सकिएन ? त्यति भन्न यिनीहरुलाई केले रोक्यो ? ढाँट, बेइमान र पदलोलुप यस्तै चरित्रले प्रतिनिधित्व गरिरहेको छ । अर्को दिन लगत्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि यस्तै–यस्तै गफ दिन पत्रकार सम्मेलनमा पुगेका छन् ।
यो मुलुकको भविष्यवाणि गर्दै थिए, नेपाल अब यस्तै रहने छैन रे । यिनीहरु सिंगापुर बनाएर देखाउने घोषणा गरेको १६ वर्ष बितिसके छ । अब कुन चाहि मोडल दिन खोजिरहेका होलान् खै ! एक वर्षमा यिनले गृहमन्त्रीको हैसियतले जे–जति गर्न सके त्यो हेरेर आगामी दिनको अनुमान गर्न सकिन्न र ?
आर्थिक विकासको कुरामा यिनीहरुबाट नयाँ मोडलको झिनो आशा गरेका नागरिक अहिले निराश भइसके । किनभने एक आर्थिक वर्षको बजेटको तर्जुमा र त्यसको कार्यान्वयन हेर्दा द्विविधा हुनु पर्ने कुनै कारण छैन । भन्ने कुरा र सुन्ने कथा जतिसुकै रमाइलो लागे पनि त्यसको कार्यान्वयन त अहिले जे भइरहेको छ त्यही होइन र ? भौतिक पूर्वाधार निर्माणमा फड्को मार्ने कुरा गर्छन् तर सरकारको खर्चको तुलनात्मक अभिलेख हेर्दा पुँजीगत खर्च चालु खर्चको दशांशको एकांश छ अनि कसरी पूर्वाधार निर्माण भएर रोजगारी बढाउन सम्भव होला ?
सरकारमा को–को सहभागी छन् ? भन्ने कुराले धेरै ठुलो अर्थ राख्दैन जस्तो लाग्छ । किनकि यो प्रणालीलाई प्रधानमन्त्रीय प्रणाली पनि भनिन्छ । यसमा प्रधानमन्त्री कार्यकारी प्रमुख हुने हुँदा उसले चाहेअनुसार, उसको योजनानुसार सरकारको आर्थिक कार्यक्रम र त्यसको कार्यान्वयन गर्ने योग्य पात्रको व्यवस्था हुनु पर्छ । कमिसनको चक्करमा, आफ्नो परिवारको चाहना पूरा गर्न लाग्ने प्रधानमन्त्री प्रचण्डकै गतिमा रमाउने हो । किराँतीको अमर्यादित आचरणको संरक्षण गर्ने र नारायणकाजीको भ्रष्टाचारविरुद्धको कदममा तगारो हाल्ने पनि प्रचण्डले गरिरहेको देखिँदा कार्यकारी प्रमुखको देश बनाउने योजना कहाँनेर देखिन्छ र ?
नक्कली भुटानी शरणार्थी नेपालीलाई बनाउने गिरोहको नेतासम्म नारायणकाजी पुग्न किन सकेनन् ? एक क्विन्टल सुन काण्ड, बालुवाटार जग्गा किर्ते गरी विक्री गरेको काण्ड, ठुला उद्योगहरुको लाइन काटेर कमिसनमा मोलमोलाइ गरेर जोड्न लगाएको विषयलगायत अरु काण्डको पर्यायवाची नाम भइसक्यो प्रचण्ड । जादु कसैसँग हुन सक्तैन तर म त जादुगर हुँ भन्ने घमण्ड यिनीहरुसँग थियो । सत्तामा जान खोजेको आफ्नो राजनीतिक दृष्टिकोण अन्ततोगत्वा आर्थिक समृद्धिसँग जोडिएको हुन्छ ।
त्यसलाई यो धर्तीमा सफल प्रयोग गरेर परिवर्तनलाई आकार दिनका लागि हुनु पर्ने हो तर आफ्नो सत्ता आएको खण्डमा नेपाललाई सिंगापुर, स्विट्जरल्याण्ड बनाउने घोषणा गर्दै हजारौँको बलि चढाएका चामत्कारिक व्यक्तित्व यिनै प्रचण्डलाई कार्यकर्ताले देवत्वकरण गर्दै छन्, महान नेता, राष्ट्रपिता आदि आदि तर उनी भने यतिविधि स्खलित भइसके छन् कि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर उपभोग गरेको मेलम्चीको पानी धाराको उद्घाटन गर्दै छन् । उद्घाटन गर्ने यस्तो रहर देखेर उनीप्रति आस्थाको राजनीति गर्नेहरुको मनमा खिन्नता बढिरहेको होला ।
कुनै सम्पन्न योजना जति पटक बिग्रिन्छ उतिपटक उद्घाटन त हुँदैन । मृगतृष्णा थियो, माओवादी सत्ताको प्रतीक्षा । आज माओवादी नेतृत्वमा सरकार चलिरहँदा, भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा कामेको देख्दा विकास योजना कमिसनको प्रतिशत नमिलेर अलपत्र भइरहँदा, दिनदिनै बलात्कारका घटना बढिरहँदा, सर्वसाधारणको असुरक्षा बढेको देखिँदा र दिनदिनै जसो भइरहने हत्याका घटनाले दण्डहीनता मौलाउँदा माओवादी नेतृत्व गम्भीर नदेखिनु नीतिगत अवसान हो कि रुपान्तरण ? माओवादी नेताहरु आत्मरतीमा रमाइरहेका छन् ।