युवाहरूको विदेश पलायन

युवराज शर्मा
हे आमा, मिठो खाने राम्रो लाउने आशाले !
विदेश जाने भए गाउँ छोडे युवाहरुले !!
गाउँले युवाहरु विेदश जादा आमालाई ढोग्छन्, आशीर्वाद लिन्छन् । आमाले पनि छोरालाई आशीर्वाद दिँदै भन्छिन्– राम्रोसँग बस्नु । साहु मालिकलाई रिझाउनु । राम्रोसँग मेहेनत गरेर काम गर्नु । धेरै दाम कमाउनु । तिम्रो कमाईले गैरीखेतको खेत बन्धकीबाट छुटाउला । पेटभरी भात घर बसी खाउला । साहुबाट लिएको ऋण र खेतको बन्धकी सम्झनु । ऋणमुक्त हुने सोच र विचार गर्नु भन्दै निधारमा रातोटिका र गलामा हजारी फूलको माला लगाइ दिइन् । छोरालाई विदेश धनपैसा कमाउन पठाइन् । अहिले गाँउघरमा युवाहरु देखिन्नन् । विवाहित युवाहरुका पत्नीहरु घरमा छन् ।
कसैका कोखमा बालबच्चा छन् । कसैका छैनन् तर कतिपय गर्भवती पत्नी घरमा बस्छिन् । यस्तो अवस्थाको हाम्रा नेपाली गाउँहरु बढ्दै छन् । युवाले भविष्य उज्यालो पार्न विदेशीए पनि निलोरहमा ढुंगा फाले जस्तो जीवन हत्केलामा लिएर गएका छन् । उनीहरुको आशाले मिठो खाने र राम्रो लगाउने छन् । त्यो पूरा हुन्छ कि हुँदैन भन्न सकिन्न तर उनीहरुले गाउँ छोड्दै छन् । गाउँलेहरु उनीहरुप्रति आशा गर्छन् । विदेशमा भविष्य फलोस् फूलोस् भन्छन् ।
गाउँका युवाहरु भन्छन्– नेपालभन्दा साना देशहरु पनि छन् । उनीहरुले आफ्ना ठाउँका युवालाई अर्काको मुलुकमा मिठो खान र लगाउनका लागि पठाउँदैनन् । आफ्नै देशमा युवाले मिठो खाने र राम्रो लाउने कामको वातावरण बनाइदिएका छन् । सरकार यस्ता विषयमा सचेत छन् । सरकार भनेको संस्था हो । त्यस्तो संस्था चलायनमान बनाउने काम, कर्तव्य र अधिकार नेताहरुको हो । त्यसैले होला, सरकारलाई चलायमान बनाउने नेतालाई राजनेता भन्छन् । राजनेता भनेको सत्ताधारी व्यक्ति हुन् । जसका काँधमा युवाको शक्ति अडेको हुन्छ तर युवालाई खान र लाउनका लागि गाउँ छोड्नु परेको छ ।
राजनेतामा काम कर्तव्य र अधिकारको बोध हुन सकेको छैन । बहुदलीय व्यवस्थाले दियो गणतन्त्र तर त्यसले रुप दियो–मनपरी तन्त्र । मै खाउ, मै लगाउ, मै मोजसयल मै गरु भन्ने नीति भयो । युवामा निराशा पलायो । जन्मने र जन्मेका सन्तानहरुको भरणपोषणका लागि गाउँ छोडेर विदेशीनुको पीडा ज्यादै दुःखदायी छ । विदेशीदा पनि गर्नुपर्ने कामको सुनिश्चितता छैन । काम गरेपछि कति रकम पाइन्छ ? त्यसको स्पष्ट खाका छैन । दलालको फन्दामा परेर गैरीखेतको बन्धकी साहुको हुने हो कि भन्ने मनमा पिर छँदै छ । गाउँका युवाको मनमा चिन्ता, हृदयमा पीडा र घरमा दुःखको भूमरी बनाएर विदेशीएका थिए ।
धेरै युवाको गन्तव्य सपनाको देश अमेरिका थियो । जब उनीहरु दलालको फन्दामा परेर ग्वादेमाना पुगे, तब मात्र थाहा भयो कि मेक्सिकोबाट जान कठिन छ । पनामाको जंगल पार गरेर जानु राम्रो हुन्छ । यस्तै दलालका सल्लाह र सुझावमा पनामाको जंगली बाटो पकडे तर त्यो जंगलमा विशालु सर्प, बिछु र हिंसक जनावर भेटिन्छन् । साथै कालाजातिबाट लुटपाट हुन्छ भन्ने ज्ञान दलालले गराएन । युवाको हुल अगाडि बढ्यो । उनीहरु लुटिए, ठगिए । बाटोमा सर्प र बिछुको सिकार कतिपय युवा भए । उनीहरु बाटैमा साथीबाट छुटे । तिनीहरुको पत्तो भएन । कहाँ पुगे । यात मृत्युवरण बाटैमा भयो ।
घरमा खबर कतैबाट गएन । सपनाको देश पुग्ने यात्रा बिचैमा टुंगियो । दलालले घरमा पनि छोरो अमेरिका पुग्दै छ आमाको भनाइले आशा पलाएको थियो । परिवारजन पनि प्रशन्न थिए । दैवको लिला बाटैमा अध्यारो भयो । सपनाको देश अमेरिका पुग्दा पुग्दै बाटैमा मृत्युवरण भएको दुई वर्षपछि मात्र परिवारले थाहा पाउन सके । सपनाको देश सपनामानै सकियो र नेपालमा भएका दलालहरु राजनीतिक आडभरोसामा धन कमाउने तरिका अपनाएर युवालाई ठगिरहेका छन् । देशमा राज्यको अनुभूति युवालाई भएन । युवाशक्ति खेर गइरहेको छ । सोँचाई कसको हुने ?
युवाले सरकारलाई काम गर्न दक्षिण कोरिया जाने परीक्षाको व्यवस्था गराइ पाउँ भन्दै माग गर्दा प्रहरीद्वारा गोली खानुप¥यो । आफ्नो देशमा रोजगार दिन नसक्ने, अर्काको देशमा जान्छौ । हामीलाई जाने वातावरण बनाइदेउ भनेका थिए । आफ्नो देशका उद्योग र कलकारखानाहरु बेचेर देशलाई नांगो बनाउने नेताहरु सत्तामा छन् । विदेशबाट ऋण ल्याएर तलब खान्छन् । ऋणले नांगो नेपाल बनिरहेका छ । कतै नेताहरु त्रिवेद मिलेर देश बेच्छन् कि भन्ने आशंका युवाको छ । विदेशमा काम गर्दा पनि नेपालको सम्झना मनमा भइरहन्छ ।
नेपाल नरहे नेपाली रहन्नौ भन्छन्– भेटघाटमा । राजाको शासन, राणाहरुको शासन, प्रजातानित्रक राजाको शासन, लोकतान्त्रात्मक राजाको शासन, दश वर्षे माओवादीको द्वन्द्वकाल, संघीय लोकतान्त्रिक गणतन्त्रको शासन भोग्दै आएका तितो अनुभव छ । जे जति दलहरुका नेताहरुले नेपालको विकास गर्छौ, युवालाई स्वदेशमै रोजगार सिर्जना गर्छौ भने पनि बन्द भएका उद्योगहरु एउटा पनि चालु गर्न सकेनन् । बिगार्न सजिलो छ तर सपार्न आर्थिक, सामाजिक, यान्त्रिक, प्राविधिक जनशक्तिको खाँचो पर्छ । त्यस्तो अभाव पूरा गर्न कुनै पनि दलमा भएका नेतामा इच्छाशक्ति छैन ।
त्यसैले होला, भ्रष्टाचार, अनियमितता, दलालको बर्चश्व, माडेहरुको रजघज, ठेकेदारको लापरवाही, सरकारी कामकाजमा गैर जिम्मेवारी, शिक्षा शिक्षणमा मनपरी, शान्तिसुरक्षामा लाठी र गोली प्रयोग, कानुनको बरखिलाफ, न्याय हराएको आभाष, राजनेताहरुको बोली बचनको ठेगान नभएको, गुण्डा दलालतन्त्रको बर्चश्व, तस्कर, विचौलिया र लुटेराहरु बढिरहेको अवस्थामा अहिले नेपाल यस्ता कामकार्यमा अग्रपंतिमा छ ।
नेपालको विकास गाउँबाट गर्नुपर्छ । गाउँलेलाई खानेपानी, यातायात चल्ने सुधारिएको सडक र उज्यालो पार्ने बिजुलीबत्ती, खेतीपातीका लागि रसायनिक मल, सिँचाई कुलोको व्यवस्था गरिदिएमा गाउँका युवा विदेशीने थिएनन् । स्थानीय वा प्रदेश सरकराले कृषि उपजको बिक्री बजारको व्यवस्था गरिदिनुपर्छ । कृषि, पशु तथा पंक्षी पालन, फलफूल खेती र तरकारी खेतीमा समय बिताउन युवाको प्रेरणा हुने थियो । युवाले गाउँ छाअ‍ेडेर सपनाको देश अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, दक्षिणकोरीया, भारत, रुस, अफगानिस्तान, यूरोपीयन विगविगी गाउँघरमा हुने थिएन । घर–घरमा सपनाका देशको प्रशंसा गाउँले सुन्ने थिएनन् । आफ्नै देशको कर्म थलो सपार्ने थिए ।
 हिजोका दिनमा भएको माओवादी द्वन्द्वकालमा बाटोका सपनाहरु प्रचण्डको तीन पटक सरकार हुँदा पनि गाउँप्रतिको धारणामा परिवर्तन आएन । त्रिदेवको सरकार सहर केन्द्रित भयो । गाउँघरमा हिजोका दिनमा आएको खाना बिर्सेछन् । सत्ता, पैसा र सुरक्षा बलको शक्तिमा रमाएका नेताहरुले गाउँलाई बिर्से । गाउँका युवालाई दलालमार्फत विदेशीको दास बन्नु पर्ने गणतन्त्रमा वातावरण बनाइदिएका छन् ।