कालाखोलास्थित शवदाहस्थल,‘उपयुक्त स्थानमा व्यवस्थापन हुन्छ’

गोरक्ष समाचारदाता
दाङ, ४ माघ । तुलसीपुर उपमहानगरपालिका–७ को खालाखोला नजिकै माध्यमिक विद्यालय कालाखोला छ । त्यसको नजिकै अमर इङिलश बोर्डिङ स्कुल पनि छ । यी दुवै विद्यालयमा अध्ययन गर्न बालबालिका काला खोलासँगै रहेको बाटोबाट जानु पर्छ । त्यही बाटोमा स्कुल नजिकै शवदाह स्थल छ । शवदाह स्थलमा दिनहु मृत मानिसको सतगत गरिने हुँदा उक्त बाटो भएर हिड्ने बालबालिकाले देख्दा मस्तिष्कमा मानसिक असरसँगै डर पर्ने भएकाले अन्यत्र सार्नु पर्ने स्थानीय तथा विद्यालयले माग गर्दै आएका छन् तर व्यवस्थापन हुन सकेको छैन ।

स्थानीयलाई सहमति गराएर उपयुक्त स्थानमा शवदाह स्थल बनाउन प्रयास भइरहेको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का बताउँछन् । बाटो र विद्यालय छेउमै रहेको शवदाह स्थलमा मृतकको सतगत गरिराखेको दृश्य बालबालिकाले दैनिक रूपमा देख्दा नकरात्मक असर पर्ने भएकाले कार्यपालिका बैठकमा वडाध्यक्षले सिफारिस गरेपछि छलफल भएको र उपयुक्त ठाउँमा व्यवस्थापन गर्न समिति गठन गरिएको नगर प्रमुख खड्काले बताए ।

वडाध्यक्षले कालाखोलामा रहेको शवदाह स्थलको उचित व्यवस्थापनका लागि कार्यपालिका बैठकमा सिफारिस गरेपछि छलफल गरेर वडाध्यक्षकै संयोजकत्वमा तीन सदस्यीय शवदाह स्थल व्यवस्थापन समिति गठन गरिएको उनले बताए । ‘अहिले शवदाह स्थल रहेको ठाउँ तीनवटा खोलाको सङ्गम स्थल भएर त्रिवेणी बनेको र उक्त ठाउँ धार्मिक दृष्टिले शवदाहका लागि उपयुक्त रहेकाले अन्यत्र सार्नु हुन्न र त्यहीलाई व्यवस्थित गरिनु पर्छ भन्ने एउटा पक्ष छ भने अर्काे पक्ष उपयुक्त ठाउँ पाए अन्यत्र पनि सार्न सकिन्छ सकिन्छ भन्ने भएकाले सार्न सकिएको छैन’, नगर प्रमुख खड्काले भने, ‘स्थानीयबासीसँग छलफल गर्ने र सहमति गराएर उपयुक्त ठाउँको व्यवस्थापनका लागि समितिले काम गरिरहेको छ ।’ स्थानीयलाई विद्यालय नजिकै शवदाह स्थल हुँदा बालबालिकामा पर्न सक्ने नकारात्मक असरबारे बुझाएर अन्यत्र सार्न सकिने बताउँछन् ।

दैनिक रूपमा शवदाह स्थलमा मृतकको सतगत गरिरहेको दृश्य देख्दा बालबालिकाको मस्तिष्कमा नकारात्मक असर हुने भएकाले स्थानीयसँगै विद्यालयले शवदाह स्थललाई स्थान्तरणका लागि अनुरोध गरेपछि शवदाह स्थललाई अन्यत्र व्यवस्थापन गर्न पहल भइरहेको तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष तथा शवदाह स्थल व्यवस्थापन समितिका संयोजक रामबहादुर जिसी बताउँछन् । विद्यालय नजिकै हुँदा बालबालिकामा नकारात्मक प्रभाव पर्ने जनगुनासो अनुसार नै आपूmले गत बैशाख महिनामै कार्यपालिका बैठकमा पत्र लेखेको र बैठकले व्यवस्थापनका लागि वडा नं. ७ का वडाध्यक्ष रामबहाुदर जिसीको संयोजकत्वमा वडा नं. ५ र ६ का वडाध्यक्ष रहेको तीन सदस्यीय शवदाह स्थल व्यवस्थापन समिति गठन गरेको थियो ।

‘सबैको सहमतिमा उपयुक्त स्थानमा शवदाह स्थल स्तान्तरणका लागि पहल भइरहेको छ’, वडाध्यक्ष जिसीले भने, ‘छलफलका क्रममा विद्यालय र समुदायको बिचैमा शवदाहगृह बनाउनु हुँदैन भन्ने पनि सहमत हुनु भएको छ । त्यसका लागि उपयुक्त ठाउँ कहाँ हुन सक्छ भनेर खोजी भइरहेको छ, सबैको सहमतिमा उपयुक्त ठाउँमा व्यवस्थापन हुने छ ।’

वडाध्यक्ष जिसीले घोराही–तुलसीपुर–सडक अन्तर्गत पर्ने काला खोला शवदाह स्थलदेखि मावि कालाखोला, रोल्पाली डाँडा, नमुना टोल, मटेरा टोल, तल्लो घुसेरी टोल, माथिल्लो घुसेरी लालमटिया टोल, राप्ती शान्ति उद्यान पार्क र बराहथान हुँदै ४ नम्बर वडाको आखाँ अस्पताल जाने बाटो स्तरोन्नति गर्दा अहिलेको शवदाह गृहलाई अन्यत्र सार्नु पर्ने बताउँछन् । ‘नगरको मापदण्ड अनुसार ८ मिटरको सडक बनाउनु पर्छ, त्यसका लागि प्रदेश सरकारबाट बजेट पनि विनियोजन भइसकेको छ’, वडाध्यक्ष जिसीले भने, ‘बाटो विस्तार गर्दा शवदाह स्थललाई सार्नै पर्ने हुन्छ ।’

स–साना बालबालिकाले अध्ययन गर्ने विद्यालयको नजिकै र बालबालिका बाटोमा हिड्दा प्रत्यक्ष देख्ने स्थलमा सकेसम्म शवदाह स्थल नभएकै राम्रो हुने मनोसामाजिक रोग विशेषज्ञ डा. अरविन्द भुसाल बताउँछन् । ‘स–साना बालबालिकाको कलिलो मस्तिष्क हुने भएकाले विद्यालयमा पढ्दा वा हिड्दा मृत मानिसको शवलाई जलाइरहेको देख्दा नराम्रो असर पर्न सक्छ’, डा भुसालले भने, ‘विज्ञानले सामान्य माने पनि व्यवहारमा हामीले ख्याल गर्नु पर्छ ।’