प्रहरीसँग किन तर्सिन्छन् चालक ?

गोरक्ष समाचारदाता
दाङ, ४ माघ । बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको भे१ख ३९१२ नम्बरको बस शुक्रवार भालुबाङ स्थित राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भयो । बसका चालकले दुर्घटना स्थल नजिकै रहेको प्रहरी चेकिङलाई छल्न खोजे । प्रहरीले रोक्न खोजेपछि चालकले भगाउन खोजेको बस अनियन्त्रित बन्यो र पुलको रेलिङ भाँचेर पुलबाट सिधै तल नदीमा खस्यो ।

बसका चालकले बसको इन्जिनमा प्रयोग हुने सापट बिग्रिएका कारण बस नमोडिएको र दुर्घटना भएको बयान दिएका छन् तर प्रहरीको चेकिङ छलेर भाग्न खोज्दा दुर्घटना भएको प्रमुख कारण देखिन्छ । प्रहरीको चेकिङ देखेपछि चालकको रोक्नु पर्ने दायित्व हो तर भाग्ने मनसाय राखेपछि गाडीको गति अस्वाभाविक हुन्छ अनि अनियन्त्रित बनेर दुर्घटना हुन्छ’, जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक किरण मल्लले भने, ‘भालुवाङमा पनि प्रहरीले रोक्न खोज्दा बस रोकिएको भए, दुर्घटना हुने थिएन ।’

जिल्लामा हुने धेरै दुर्घटनाका कारण चालकले प्रहरी चेकजाँच छल्न खोज्नु पनि हो । प्रहरीका अनुसार चेकजाँच नहोस् भन्ने सोँच धेरैजसो चालकमा हुन्छ । चेकजाँचलाई चालकले अनावश्यक झन्झटका रूपमा लिँदै आएको देखिने गरेको प्रहरी बताउँछ । ‘प्रहरीले गरेको चेकिङ अनावश्यक झन्झटका रूपमा चालकले लिने गरेको पाइन्छ’, प्रहरी निरीक्षक मल्लले भने, ‘यो चालक र यात्रुहरूको सुरक्षित यात्राका लागि हो भन्ने बुझाइ चालकमा हुनु पर्ने देखिन्छ ।’ चेकिङमा पर्नु नपरोस् भन्ने सोचमा रहने कतिपय चालक भने चेकिङ छलेर उम्कने दाउँ रहछन् अनि गति तीज्र बनाएर गाडी हुइँक्याउँछन् ।

तीव्र गतिमा भाग्न खोज्ने गाडीलाई प्रहरीले रोक्न खोज्छन् र अनियन्त्रित बनेर दुर्घटना हुने गरेका कैयन उदाहरण जिल्लामा रहेको प्रहरी निरीक्षक मल्ल बताउँछन् । ‘सडकमा प्रहरी देख्यो कि भाग्नु पर्छ भन्ने सोच कतिपय चालकको देखिन्छ’, मल्लले भने, ‘अनि गाडी रोक्न खोेजेका प्रहरीलाई नै ठक्कर देलान् जसरी चालकले गाडी हुइँक्याउँछन्, फलतः कैयन यस्ता गाडी अनियन्त्रित बनेर दुर्घटनामा पर्ने गरेका छन् ।’ उनका अनुसार गाडीमा कुनै समस्या, गाडी तथा चालकका कागजपत्रमा समस्या भएको खण्डमा चालक जरिवानाबाट बच्नका लागि चेकिङ छल्न खोजेर भाग्छन् ।

यसैगरी मापसे सेवन पनि प्रहरी छलेर गाडी भगाउनुको अर्को कारण रहेको प्रहरी बताउँछ । गाडीको कागजपत्र भएन भने या त चालकको लाइसेन्स नभएको वा रिन्यू नभएको अवस्थामा जरिवाना पर्ने डरमा चालक हुन्छन्, यसैरी साना सवारी साधनको हकमा अझ बढी मोटरसाइकल र जिप, कार चालकले कारबाहीको डरले सवारी साधन भगाउन खोज्छन् अनि दुर्घटनामा पर्ने खतरामा पर्छन् ।’

यता लामो दुरीमा कुद्ने सवारी साधनका चालकले भने प्रहरीको चेकिङ अधिक र सास्तीपूर्ण रहने बताउँछन् । चेकजाँच मात्रै नभएर रकम बार्गेनिङकै लागि चेकिङ गर्ने गरिएको भन्दै एक चालकले कतिपय प्रहरी चेकिङ सवारी सुरक्षाका लागि भन्दा पनि रकम बार्गेनिङ केन्द्रित हुने गरेको बताए । ‘प्रहरी चेकिङ हुनु सवारी सुरक्षाका लागि अधिक राम्रो हो तर कतिपय चेकिङ सवारी सुरक्षा केन्द्रितभन्दा पनि सानो गल्ती देखाउने र जरिवाना काट्ने नियतका साथ पनि भएका हुन्छन्’, ती चालकले भने’, अनि कतिपय चालक चेकिङ छलेर भाग्ने नियत राख्छन् तर यसो गर्नु राम्रो भने हैन । प्रहरीको चेकिङमा गाडी रोकिनु चालकको दायित्व हो ।’ प्रहरीलाई १००÷५० रुपैयाँ बुझाउनुभन्दा नबुझाएरै उम्कने सोचमा चालक देखिने गरेको उनले बताए ।

त्यसो त पाका चालकभन्दा नयाँ चालक चेकिङ छलेर भाग्न खोज्ने पाका चालकहरू बताउँछन् । ३६ वर्षसम्म यात्रुवाहक बस हाँकेका दाङका पाका चालक केशवबहादुर भण्डारीले प्रहरी चेकिङमा सवारी साधन रोकिए चालकलाई धेरै फ्रेस महसुस हुने र यसले सवारी साधन चलाउन सहज हुने बताउँछन् । ‘प्रहरीको चेकिङमा बस रोक्नु सवारी दुर्घटना न्यूनीकरणको राम्रो उपाय हो तर चालक भागेर हिँड्न खोज्ने प्रवृत्तिले कैयन दुर्घटना भएका छन्’, पाका चालक भण्डारीले भने, ‘अस्ति भालुवाङमा भएको दुर्घटनाको कारण पनि बसका चालकले प्रहरी चेकिङ छलेर भाग्न खोज्नु नै हो, चेकिङलाई जरिवाना काट्ने थलोका रूपमा चालकको बुझाइ छ तर यस्तो चेकिङले चालकलाई रिफ्रेस पनि बनाउँछ ।

यसले दुर्घटना हुनबाट धेरै सुरक्षित बनाउँछ तर उनले प्रहरी चेकिङ अधिक स्थानमा हुने गरेका कारण चालकलाई बस समयमै गन्तव्यमा पु¥याउन दबाब भने पर्ने गरेको बताए । फलतः गाडीको गति बढाउनु पर्ने र यसले दुर्घटनाको जोखिम बढाउने गरेको भण्डारी बताउँछन् । ‘प्रहरीको चेकिङ धेरै स्थानमा भयो, काठमाडौं पुग्दासम्म ठाउँ–ठाउँमा चेकिङमा पर्नु पर्छ, जसले यात्रामा ढिलाइ भइरहेको हुन्छ’, भण्डारीले भने, ‘त्यसले चालकलाई यात्रुलाई समयमै गन्तव्यमा पु¥याउन दबाब पर्छ, जसका कारण चालकले बसको गति बढाउनु पर्छ, तीव्र गति भयो भने दुर्घटना बढ्ने खतरा स्वाभाविकै हुन्छ ।’ उ

नले यसका लागि चेकिङलाई केही कम स्थानमा राखेर सुरक्षित यात्रा तय गर्न सकिने बताए । ‘एक ठाउँमा चेकिङ गरिसकेपछि चेकजाँच गरेको कुनै कागजी प्रमाण दिएपछि अर्को स्थानमा त्यही प्रमाण देखाएर बस कुदाउने वातावरण निर्माण गरिनु पर्छ’, उनले भने, ‘तर ठाउँ–ठाउँमा चेकजाँचका लागि गाडी रोकेर चालकलाई दबाबमा पार्ने काम गरिनु हुन्न, अझ कतिपय चेकिङ जरिवाना काट्नकै लागि गरिएको जस्तो पनि देखिन्छन् । यस्तो झन्झटमा पर्नुभन्दा भाग्नै ठिक भन्ने सोचमा कतिपय चालक पुग्छन्, यो विषयमा पनि प्रहरीले सोच्नु पर्छ ।’