खेमराज रिजाल
हेकुली, ४ माघ । दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य, पूर्व सिँचाइ मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले अबको आन्दोलन भनेको विकास, सुशासन र समृद्धिका लागि हुनु पर्ने बताएका छन् । विभिन्न चरणका राजनीतिक आन्दोलनले मुलुकमा संघात्मक संविधान जारी भएर सङ्घीयताको अभ्यास गरिरहेको अवस्थामा अब सबैले समृद्धिका लागि एकजुट हुनु पर्ने बताएका छन् ।
‘पहिलेको हेकुली हेर्नुस्, अहिलेको दंगीशरण हेर्नुस्, हामीले सिँचाइ, पुल, पक्की सडक तथा नदीमा तटबन्ध समेत पाएका छौँ, विकास निर्माणमा कुनै पनि राजनीतिक आग्रह, पूर्वाग्रह छैन’, दंगीशरण गाउँपालिकाको नवनिर्मित सुविधासम्पन्न भवनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य गिरीले भने । तत्कालीन बाह्रवर्षे सशस्त्र द्वन्द्वलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा ल्याएको स्मरण गर्दै नेता गिरीले जनताको विकास निर्माणको आकाङ्क्षालाई कुनै पनि आग्रह, पूर्वाग्रह नराखी पूरा गर्न आफू प्रतिबद्ध रहेको पनि बताए । आफू सङ्घीय संसद्मा विधायकका रूपमा रहेको बताउँदै उनले आफ्नो निर्वाचन क्षेत्र मात्र नभएर सिङ्गो मुलुकको समृद्धिका लागि संसद्मा आवाज उठाउँदै आएको पनि अभिव्यक्ति दिए ।
‘तपाईँले मलाई निर्वाचित गरेर संसद्मा पठाउनु भएको हो, तपाईँको विकास र समृद्धिका चाहनालाई पूरा गर्न अहोरात्र संसद्मा आवाज उठाइरहेको छु’, नेता गिरीले भने, ‘संसद् नभएको बेला मात्र जिल्लामा आएर जनाकाङ्क्षा बुझ्ने हो ।’ साथै उनले अब दाङलाई सडक र हवाई यातायातले पनि जोड्न आफू अहोरात्र खटिरहेको बताए । ‘कसले के भने भन्ने मलाई थाहा छैन तर क्षतविक्षत भएको चारलेन सडक बैशाख महिनाभित्रै पुनः ठेक्का प्रक्रियामा जानेछ’, नेता गिरीले भने । आफूहरूले संसद्मा आवाज बुलन्द गरेपछि मात्र सरकारले क्षतविक्षत भएको सडक टालटुल गर्ने बजेट दिएर काम समेत भइसकेको बताउँदै अब यो सडकलाई चारलेनका रूपमा स्तर वृद्धि गर्नुको कुनै विकल्प नभएको बताए ।
सोही अवसरमा बोल्दै उनले तुलसीपुरको टरिगाउँ विमानस्थललाई पनि पुनः डिपिआर गरेर ठुला विमान अवतरण गर्न सक्ने एयरपोर्टका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘अब हवाई सेवा सञ्चालनका लागि क्षेत्रीयताको कुनै विवाद छैन, टरिगाउँ विमानस्थलको स्तरोन्नतिको कुनै विकल्प नभएकाले पुनः डिपिआर बनाउने अन्तिम तयारी भइरहेको छ’, नेता गिरीले भने । टरिगाउँ विमानस्थलमा धावन–मार्ग विस्तार गरी ठुला विमान चल्ने बनाउन आवश्यक जग्गा समेत रहेको उल्लेख गर्दै एयरपोर्टमा कुनै राजनीति नगर्न उनले आग्रह गरे । यसैगरी सुकौराकोट दरबारलाई पनि पुनरुत्थान गरी एउटा ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्न पनि आफू लागिपरेको उनको अभिव्यक्ति थियो । उनले कार्यक्रममा बोल्दै जनतालाई दिने कानुनसम्मत सेवाका लागि आम राष्ट्र सेवक कर्मचारी र जनप्रतिनिधि कुनै पनि आग्रह, पूर्वाग्रहमा लाग्न नहुने पनि सुझाव दिए ।
दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का, बबई गाउँपालिका अध्यक्ष कूलबहादुर क्षेत्री, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, जिल्ला समन्वय समिति दाङका उपप्रमुख चेतना चौधरी, समन्वय समिति सदस्य टोपाराम चौधरी, नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत खड्का, नेकपा एमाले दंगीशरण इकाइ सभापति तथा वडा नं ७ का अध्यक्ष रेशम वली, वडा नं १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता रेशम भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका विभिन्न समूहका थारू नृत्य तथा सांगीतिक प्रस्तुती देखाइएको थियो । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृतहरू निमराज भट्टराई, अमरबहादुर वली, खिमप्रसाद खड्का, चन्द्रकान्त पौडेल तथा भवन निर्माण कम्पनी शाह निर्माण सेवा बाँकेलाई कदरपत्रले सम्मान गरिएको थियो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सहभागीलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिकाका टेकबहादुर खत्रीले गरेका थिए ।
नवनिर्मित भवन वि.सं. २०७८ मा निर्माण सम्झौता भई २०८० असार ३० मा निर्माण सम्पन्न भएको थियो । भ्याट बाहेक तीन करोड ८५ लाख ८७ हजार तीन सय २३ रुपैयाँको लागतमा सो भवन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । अपाङ्गमैत्री संरचना, बालमैत्री, ज्येष्ठ नागरिकमैत्री तथा लैङ्गिकमैत्री तीन तले सो भवनमा सूचना प्रविधि जडित सुविधासम्पन्न कम्तिमा २५ कोठासहित स्तरीय कार्यपालिका बैठक हल समेत रहेको छ । दंगीशरण गाउँपालिकाले नयाँ प्रशाकीय भवन निर्माण गरेसँगै सङ्घीयता आएयता राप्ती गाउँपालिका, बंगलाचुली गाउँपालिका, बबई गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिकाले नयाँ भवन पाएका छन् भने शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र घोराही उपमहानगरपालिकाले भने नयाँ भवन निर्माणको प्रक्रियामा रहेका छन् ।