युवा आर्थिक उत्पादनमा जोडिनु पर्छ : मुख्यमन्त्री चौधरी

बालाराम खड्का
तुलसीपुर, २९ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले देशको आर्थिक समृद्धिका लागि युवा उत्पादनमा जोडिनु पर्ने बताएका छन् । तुलसीपुर नगर जेसीजको १२औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले आर्थिक उत्पादन बढाउन युवा उत्पादनमा जोडिनु पर्ने बताएका हुन् ।

जेसीजले नेतृत्व र क्षमता विकाससँगै युवालाई उद्यमशीलतामा जोड्नु पर्ने मुख्यमन्त्री चौधरीको भनाइ थियो । मुख्यमन्त्री चौधरीले भने, ‘जेसीजले युवालाई नेतृत्व र क्षमता विकास मात्रै होइन आर्थिक उत्पादन बढाउन उद्यमशीलतातर्फ पनि जोड्ने गरी कार्यक्रम बनाउनु पर्छ ।’ मुख्यमन्त्री चौधरीले त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए । ‘हिजोको जस्तो अब २÷४ जना जम्मा हुने र नेतृत्व विकास गर्ने भन्ने हो कि आर्थिक विकासमा जोडिने हो, त्यो जेसीजले तय गर्नु पर्छ’, मुख्यमन्त्री चौधरीले भने, ‘युवालाई उद्यमशीलतामा जोडिने कार्यक्रम बनाउन सके प्रदेश सरकार सहयोग गर्न तयार छ ।’ मुख्यमन्त्री चौधरीले यहाँ रोजगारी तथा बेरोजगार भएर युवा बिदेसिए भनेर नेताहरूलाई गाली गर्नुभन्दा सबैले आ–आफ्नो क्षेत्रबाट उत्पादनमा जोडिनु पर्ने बताए ।

‘यहाँको कला संस्कृतिलाई प्रवर्धन गरौँ, पहिचान अनुसारको कला संस्कृतिको विकास र स्वरोजगार हुने खाले कार्यक्रम सञ्चालन गरौँ’, उनले भने, ‘यहीँ रोजगार पाइन्छ, कसैलाई विदेश जानु पर्दैन ।’ उनले प्रदेश सरकारमा योजना ल्याएर आए आफूले सयौँलाई रोजगार दिने खालका कार्यक्रममा सहयोग गर्न तयार रहेको बताए । उनले अहिले सबैले मेरो घर अगाडि बाटो कालोपत्रे भएन, धुलो उड्यो भनेर विकास माग्न आएको भन्दै यसले उत्पादन र रोजगारमा टेवा नपुग्ने बताए । उनले प्रदेश सरकारले दुई लाख नागरिकलार्ई रोजगार बनाउने भन्दै यहाँ के उत्पादन गर्न सकिन्छ, त्यसको योजना लिएर आउन आग्रह गरे । ‘यहाँ युवा रहे भने नेतृत्व गर्ने हो, युवा नै नभए केको नेतृत्व हुन्छ’, उनले भने, ‘त्यसैले युवा नेतृत्व विकाससँगै उत्पादनमा जोडियौँ र स्वदेशमै केही गरौँ ।’ मुख्यमन्त्री चौधरीले अनुउत्पादक क्षेत्रमा लगानी नलगाउन भन्दै उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह गरे । मुख्य मन्त्री चौधरीले जेसीजले नै आफूलाई यहाँसम्म पु¥याएको भन्दै युवाहरूको नेतृत्व र व्यक्तित्व विकासका साथै उद्यमी बनाउने बाटोमा लाग्न आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले जेसीजको शासन व्यक्तिको होइन विधिको हो भन्ने मूलमन्त्र राम्रो भएको भन्दै अब राजनीतिमा पनि त्यो लागु हुनु पर्ने बताए । ‘अब नेताहरूले पनि यसबाट पाठसिक्नु पर्छ एक÷दुई पटकसम्म नेतृत्व गर्ने त्यसपछि नयाँलाई हस्तान्तरण गर्नु पर्छै’, केसीले भने । युवाहरूको नेतृत्व र व्यक्तित्व विकासका लागि लाग्ने जेसीजजस्ता संस्था आर्थिक विकासमा लाग्न आग्रह उनले गरे । उनले बिदेसिने युवालाई सिप र रोजगार दिने वातावरण निर्माण गर्न जेसीजलाई आग्रह गरे । योजना आयोगका उपाध्यक्ष केसीले अहिले प्रदेश सरकारले पनि यहीँ २५ देखि ४० हजार रुपैयाँसम्म कमाउन सकिन्छ भनेर उद्यमशीलताको विकासका लागि कार्यक्रम अगाडि बढाई रहेको भन्दै यसमा सहकार्य गर्न आग्र गरे ।

तुलसीपुर नगर जेसीज वर्ष २०२३ का अध्यक्ष शालिकराम वलीको अध्यक्षता मा भएको कार्यक्रममा तुलसीपुर नगर जेसीजको वर्ष २०२४ का अध्यक्ष पूर्णविक्रम डाँगीलाई पदहस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष शालिकराम वलीले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेका थिए भने आफूले वर्षभरि गरेका कार्यक्रमबारे जानकारी गराएका थिए । पदहस्तान्तर सँगै नवनिर्वाचित अध्यक्ष डाँगीले आफूले वर्ष भरि गर्ने कामबारे प्रतिवद्धता सहित कार्यक्रमको जानकारी गराएका थिए । कार्यक्रममा जेसीजका राष्ट्रिय उपाध्यक्ष सीता भण्डारी, त्रिभुवन नगर जेसीजका अध्यक्ष रविकिरण केसी, दाङ महिला जेसीजका अध्यक्ष जुनुकुमारी बुढा, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जिसी, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष झरेन्द्र खरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष डाँगीले तुलसीपुर नगरजेसीजको विभिन्न पदमा वर्ष २०२४ का लागि मनोनित गरेका थिए । उनले महासचिवमा कमलप्रकाश शर्मा, कानुनी सल्लाहकारमा माधवप्रसाद न्यौपाने (समीर), कोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल, जनसम्पर्क अधिकारीमा तुफान सापकोटा, अध्यक्ष सल्लाहकारमा बुद्धिराज सापकोटा, बोर्ड सल्लाहकारमा बिमल वली, सन्दीप भुसाल, मेघराज पोखरेल, शरद देवकोटालाई चयन गरेका छन् । यसैगरी प्रवक्तामा भुवन वली, कोष अभिवृद्धि संयोजकमा नितिशकुमार सोनी, प्रकरण निर्देशकमा मोतिराम भुसाल, स्वास्थ्य संयोजकमा हेमकुमार थापा, शिक्षा संयोजकमा राजेशकुमार महर्जन, खेलकुद संयोजकमा सुरज केसी, सदस्य अभिवृद्धि संयोजकमा शिव न्यौपाने, तालिम निर्देशकमा समीप भुसाल र शाखा सम्पादकमा धीरज बस्नेतलाई मनोनित सँगै सपदग्रहण गराएका थिए । कार्यक्रम संयोजक दीपक केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आस्थापाठ सदस्य रमेश रेग्मीले गरेका थिए भने कार्यक्रमको सहजीकरण वर्ष २०२३ का महासचिव सन्दीप भुसाल र २४ का महासचिव कमलप्रकाश शर्मा गरेका थिए ।