गोरक्ष समाचारदाता
दाङ, २९ पुस । योग दिवसको अवसरमा आचार्यकुलम दाङले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१० गोलौरा अवस्थित नवनिर्मित आचार्यकुलम प्राङ्गणमा योग दिवसको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
पतञ्जली योग समिति दाङका जिल्ला प्रभारी उदय डाँगीको अध्यक्षता तथा पतञ्जली योग समितिका प्रदेश प्रभारी प्रेम शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमममा बोल्ने वक्ताले स्वस्थ जीवन जिउनका लागि योगाभ्यासको आवश्यकता रहेको बताएका थिए । आजको युगमा संस्कार, संस्कृति, स्वास्थ्य र नैतिकतालाई मध्यनजर गर्दै आचार्य गुरूकुलम विद्यालयको सञ्चालन गर्न लागिएको विद्यालयका प्रिन्सिपल मिलन बुढाथोकीले जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै आचार्य गुरूकुलमका संयोजक दानबहादुर बुढाथोकीले विद्यालयमा अहिलेसम्म ५० हजारदेखि ५ लाखसम्म लगानी गर्नेको सङ्ख्या ७ सय पुगेको बताउँदै अहिलेसम्म ४ करोड ५० लाख सङ्कलन भएको बताए । आचार्य गुरुकुलम विद्यालय भवन निर्माणका लागि करिब २० करोड लाग्ने पनि संयोजक बुढाथोकीले बताए ।
योग दिवसका अवसरमा हाजिरीजवाफ प्रतियोगिता र कुर्सी दौड खेल भएको थियो । आचार्य गुरुकुलमका सदस्य प्रह्लाद शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आचार्य गुरूकुलमका सचिव टेकबहादुर खड्काले गरेका थिए । आचार्य गुरूकुलम विद्यालय फागुन २ गते श्रीपञ्चमिका दिनदेखि विधिवत रूपमा सञ्चालन हुने तयारीमा रहेको छ ।