दाङमा बस दुर्घटना, १२ जनाको मृत्यु
देवेन्द्र बस्नेत÷सुदन थापा
दाङ, २९ पुस । दाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंका जाँदै गरेको भे१ख ३९१२ नम्बरको बस भालुवाङ स्थित राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि बाँके नेपालगञ्जकी कुसुम बस्नेत, हेटौँडाका सौरभ विष्ट, चन्द्रागिरी काठमाडौंका ताराकान्त पाण्डे, जुम्लाका मुनबहादुर रावत, बाँकेका रामवरण हरिजन, रुकुम पश्चिमका दीपक कामी, भारत उत्तर प्रदेशका अति कुल्ला खैरे (मुने), भारत बिहारका जोगेन्द्र राम, कोहलपुरका अर्पण थापा, बाँके खजुराका सञ्जय केसी, भारत बहराइचका चेतराम शिल्पकार र चितवन भरतपुरका अनिल खड््काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बसमा ३६ यात्रु सवार थिए । घाइतेहरूको बुटवल र नेपालगञ्जमा उपचार भइरहेको छ ।
प्रहरीको अनुसन्धानका क्रममा तीब्र गतिका कारण बस दुर्घटना भएको देखिएको छ । ‘तीब्र गतिका कारण बस दुर्घटना भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डिएसपी जनक मल्लले भने, ‘बस पुलबाट सिधै राप्ती नदीमा खसेको छ ।’ दुर्घटनास्थल नजिकै भालुवाङमा प्रहरी बिट छ । प्रहरीले भालुवाङमा बसको चेकजाँच गर्दै आएका छन् । शुक्रवार राति त्यहाँ एउटा बसको चेकजाँच भइरहेको थियो । त्यसक्रममै आएको बस प्रहरीले रोक्न खोजे तर चालकले बस रोकेनन् । ‘भालुवाङमा प्रहरीको चेकजाँच हुन्छ, बस रोकेर चालकलाई सोधपुछ गरिन्छ’, डिएसपी मल्लले भने, ‘शुक्रवार राति पनि त्यहाँ चेकजाँच भइरहेको थियो, अगाडि दुई वटा बसको चेकजाँच भइरहेका बेला दुर्घटनामा परेको बस हुइँकिएर आयो, प्रहरीले रोक्न खोजे तर रोकिएन अनि तीव्र गतिमा रहेको बस प्रहरीको चेकपोस्ट नजिकै पुलबाट सिधै नदीमा खसेको हो ।’
घटनास्थल नजिकै ट्राफिक प्रहरीले बस चेकजाँचका लागि रोक्न खोज्दा चालकले उक्त बस भगाउन खोजेका थिए । भालुवाङ स्थित ट्राफिक चेकपोस्टका प्रमुख, असई हरिभक्त रोकायका अनुसार तीव्र गतिमा रहेको उक्त बसले चेकजाँचमा खटिएका प्रहरीलाई समेत ठक्कर दिन खोजेको थियो । ‘अगाडि भे१ख ३९१३ नम्बरको बसको चेकजाँच भइरहेको थियो, ३९१२ नम्बरको बस हुइँकिएर आयो, त्यो बसलाई रोक्न खोज्दा चालकले बस हुइँकाए, ड्युटीमा खटिएका प्रहरी अमरबहादुर शाहीलाई त्यो बसले झन्डै ठक्कर दिएको रहेछ’, रोकायले भने, ‘बसको गति तीव्र रहेका कारण चेकजाँचमा खटिएका प्रहरीको समेत भागाभाग भएको थियो ।’ प्रहरीको चेकिङ छलेर भगाउन खोजिएको बस अनियन्त्रित बनेको उनले बताए । ‘चेकपोस्ट छलेर भाग्यो अनि बस अनियन्त्रित बन्यो’, रोकायले भने, ‘चेक प्वाइन्ट छलेर भागेको बस एकैछिनमा पुलबाट खस्यो ।’
भालुवाङमा सवारी साधन चेकजाँचका लागि ड्युटीमा खटिएका प्रहरी अमरबहादुर शाहीले पहिलो बसलाई आफूले चेकजाँच गरिरहेका समयमा उक्त बस आएको र आफूले रोक्न खोजेको बताए । उनका अनुसार अगाडि चेकजाँच भइरहेको बस र दुर्घटना भएको बस एकै मालिकका थिए । ‘अगाडि एउटा बसलाई रोकेर मैले चेकजाँच गरिरहेको थिएँ, चेकजाँच भइरहेको बस र दुर्घटना भएको बस एउटै मालिकका रहेछन्’, शाहीले भने, ‘एउटा बसलाई चेकजाँच गरिरहेका बेला अर्को बस आयो र मैले सिट्ठी बजाएर रोक्न खोजे तर बस यति स्पिडमा थियो कि मलाई नै उडाउला जस्तो ग¥यो अनि म भागेँ ।’ उनका अनुसार उक्त बसको गति ७० भन्दा बढी थियो ।
प्रहरीका अनुसार बसको गति अस्वाभाविक थियो । नेपालगञ्जबाट उक्त बस लमहीसम्म २ घण्टामै पुगेको थियो । नेपालगञ्जबाट लमहीसम्मको दूरी ३ घण्टाभन्दा बढीको हो । ‘नेपालगञ्जबाट छुटेको बस दुई घण्टामै लमही पुगेको रहेछ’, ट्राफिक चेकपोस्टका प्रमुख, असई हरिभक्त रोकायले भने, ‘लमहीमा एक जना यात्रुको सामान राख्नका लागि रोक्नु पर्ने बस लमहीमा पनि नरोकेर कुदेको रहेछ ।’ प्रहरीका अनुसार उक्त बसले बाँके राष्ट्रिय निकुञ्जमा लागु भएको टाइमकार्ड समेत लिएको थिएन । निकुञ्जको चेकपोस्टमा समेत उक्त बसले नरोकेको प्रहरीले जनाएको छ । ‘बाँके राष्ट्रिय निकुञ्जमा समेत उसले रोकेको रहेनछ’, रोकायले भने, ‘त्यहाँ टाइम कार्ड लागु भए पनि उसले टाइमकार्ड नलिएर भागेको रहेछ ।’
चालक भन्छन्, ‘ईन्जिनमा समस्या भयो, गाडी मोडिएन’
दुर्घटना भएको बसका चालकले भने बसको इन्जिनमा समस्या भएका कारण बस दुर्घटनामा परेको बयान दिएका छन् । बसका चालक सल्यानका लालबहादुर नेपालीले बसको इन्जिनमा प्रयोग हुने ‘सापट’ बिग्रिएका कारण बस दुर्घटना भएको बताएका छन् ।’ बसको सापट बिग्रेपछि बस नमोडिँदा पुलबाट खसेको भनेर चालकले बयान दिएका छन्’, जिल्ला प्रहरी कार्यालयका डिएस्पी मल्लले भने, ‘तर कारण यति मात्रै होइन, तीव्र गति प्रमुख कारण देखिएको छ ।’
उनका अनुसार चालकले भने अनुसारको समस्या भए नभएको बारे बसको प्राविधिक जाँच गरिने भएको छ । ‘चालकले भने अनुसारको समस्या बसमा देखिएको हो कि होइन भन्ने विषयमा बसको प्राविधिक जाँच गरिने छ’, डिएस्पी मल्लले भने । तर बसका अन्य चालकले भने सापट बिग्रेका कारण बस नमोडिने समस्या नहुने बताउँछन् । सापटमा समस्या भएमा बस नकुद्ने समस्या हुन्छ । ‘सापटमा समस्या भयो भने बस नकुद्ने समस्या हुन्छ’, एक चालकले भने, ‘तर बस नमोडिने समस्या आउँदैन ।’
स्थानीय भन्छन्, ‘बसमा च्यापिएकालाई बल्लतल्ल निकाल्यौँ’
राति ९ः५५ बजेको समय । बस दुर्घटना भएपछि भालुवाङमा कोलाहल मच्चियो । बस राप्ती नदीमा खसेको थियो । स्थानीय बसमा सवारहरूको उद्धारमा खटिए । केहीको शव निकाले अनि घाइतेको उद्धार गरे । ‘राति बस दुर्घटना भएको भनेर हल्ला मच्चियो’, स्थानीय विष्णुबहादुर बोहराले भने, ‘हामी पनि गयौँ, बस राप्ती नदीमा खसेको थियो, हामी तत्काल उद्धारमा लाग्यौँ ।’ उनका अनुसार स्थानीयले केही शव निकाले अनि घाइतेलाई तत्काल उद्धार गरे । बसमै च्यापिएकालाई निकाल्न समस्या भयो । ‘बसमा च्यापिएकाहरू बचाउन भन्दै गुहार मागिरहेको अवस्था थियो’, अर्की स्थानीय आरती खड्काले भनिन्, ‘तर च्यापिएकालाई बसबाट निकाल्न समस्या भयो ।’ स्थानीयका अनुसार भालुवाङको प्रहरी चेकपोस्टबाट सुरुमा प्रहरीको टोली पुगेको थियो । बसमा च्यापिएकालाई सशस्त्र प्रहरी बल ज्वालामाई गणबाट मेसिन प्रयोग गरेर बसको भाग काटेर निकालिएको थियो । ‘बसमा च्यापिएकालाई निकाल्न समस्यो भयो अनि सशस्त्र प्रहरीको ब्यारेकबाट मेसिन ल्याएर बसको भाग काटेर प्रहरीले घाइतेको उद्धार गरेको थियो’, उनले भनिन्, ‘घाईतेका रुवाबासी सम्झँदा अहिले पनि मन भारी हुन्छ ।’
चालकको लापरबाहीले दुर्घटना : यातायात प्रालि
नमस्ते यातायात प्रालिले उक्त बस चालकको लापरबाहीका कारण दुर्घटना भएको बताएको छ । दुर्घटना भएको बस नमस्ते यातायात प्रालिद्वारा सञ्चालित बस हो । प्रालिका अध्यक्ष निरज चलाउनेले चालकको लापरबाहीका कारण नै बस दुर्घटना हुन पुगेको बताए । ‘बस दुर्घटनाको कारण अरू केही पनि होइन, बस चालकको कमजोरीले नै दुर्घटना भएको हो’, प्रालिका अध्यक्ष चलाउनेले भने, ‘दुर्घटनाको अरू कुनै पनि कारण मैले देखेन ।’ प्रहरीको बिटमा समेत चालकले नरोकेको र बस सुरुमा पिलरमा ठोक्किएको उनले बताए । ‘प्रहरीको चेकजाँचका लागि रोक्न खोज्दा समेत उसले नरोकेको रहेछ’, उनले भने, ‘पिलरमा ठोक्किएर पुलमा खसेको रहेछ ।’