खेलसँगै पूर्वाधार विकास आवश्यक : मन्त्री खनाल

टेकबहादुर पुन
लमही, २५ पुस । लमहीमा छैठौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । लमही नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मानसिक स्वास्थ्यसँगै शारीरिक विकासका लागि खेलकुद आवश्यक रहेको बताएका थिए । मन्त्री खनालले खेल क्षेत्रको विकासका लागि विद्यालय तहदेखि नै खेलका गतिविधि बढाउनु पर्ने बताएका थिए । उनले विद्यालयस्तरीय रनिङ सिल्ड प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेका क्षमता उजागर हुने र युवा खेलाडी तयार गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका थिए ।

निरन्तर खेल्दै जाँदा आर्थिक आयआर्जनसँगै खेलाडीले मान र सम्मान समेत प्राप्त गर्ने उनले बताएका थिए । पछिल्लो समय विद्यार्थी कुलतमा फसिरहेको र खेलतर्फ ध्यान दिँदा त्यसबाट बच्न सकिने बताए । राष्ट्रियस्तरमा खेल्ने खेलाडीका उदाहरण दिँदै मन्त्री खनालले शिक्षा, कला, सहित्यसँगै खेलबाट पनि अगाडि बढ्न सकिने हौसला दिएका थिए । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित लमही नगरपालिकाले छैठौँ रनिङ सिल्ड खेलकुद प्रतियोगितामा पालिकामा रहेका निजी तथा सामुदायिक विद्यालय गरी १९ विद्यालयको सहभागिता रहेको छ ।

लमही नगरपालिका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले स्वागत गरेकी थिइन् । कार्यक्रममा लमही नगरपालिकाका निवर्तमान नगर प्रमुख कुलबहादुर केसी, निवर्तमान उपप्रमुख देवका बेलबासे, वडा नं. ६ का वडाध्यक्ष श्यामनारायण चौधरी, पत्रकार चुमा आचार्य, आदर्श नमुना माध्यमिक विद्यालय देउपुरका प्रधानाध्यापक कुलचन्द्र पौडेल, देउखुरी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लालवीर खड्का, जिल्ला खेलकुद विकास समितिका सदस्य अनिल रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

‘अपाङ्गता भएर जन्मनु पर्ने छैन’

यसैबिच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले अपाङ्गता भएर जन्मनु पर्ने अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाउन लागेको बताएका छन् । विकलाङ्ग मित्र समूह, अपाङ्गता बाल अस्पताल तथा पुनःस्थापनाले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयसँगको साझेदारीमा आर्थिक वर्ष ०७९÷८० मा सञ्चालन गरेका कार्यक्रमको प्रगति प्रस्तुतीकरण तथा अपाङ्गता व्यवस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले पोषणको कमीका कारण हुने अपाङ्गता शून्यमा झार्नुमा जोड दिएका थिए ।

त्यसका लागि घरपरिवारदेखि समुदायमा काम गर्ने संघसंस्था जिम्मेवार बन्नु पर्ने बताए । मन्त्री खनालले उपचार गरेर ठिक हुनेका लागि प्रदेश सरकारले आफ्ना निकायमार्फत् र साझेदारि निकायसँग मिलेर काम गरिरहेको बताउँदै कृत्रिम साधन आवश्यक पर्नेका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । मन्त्री खनालले सामाजिक विकास मन्त्रालयमार्फत् पनि अपाङ्गता भएका व्यक्तिका लागि कार्यक्रम भइरहेको भन्दै सबैसँग समन्वय र सहकार्य गरेर अपाङ्गगता भएका व्यक्तिको सहजताका लागि काम गर्ने बताए ।