Goraksha

National Daily

मेरो खुसी : स्ववियु निर्वाचनमा जित्दा…

सरल जीवनशैली, मिजासिलो बोली व्यवहार र सबैसँग मिलनसार स्वभाव भएकी रमिला शर्मालाई विद्यार्थीका हकहितका लागि थालिने अभियानहरूले हुटहुटी बढाइरहन्छन् । महेन्द्र बहुमुखी क्याम्पसमा विविएस दोस्रो वर्षमा अध्ययनरत उनी पढाइसँगै सङ्गठन निर्माण र हरेक सामाजिक काममा सक्रियता पूर्वक सहभागी हुने र जिम्मेवारीको काम इमान्दारिताका साथ पूरा गर्दछिन् ।

युवायुवती पछिल्लो समय राम्रो भविष्यको खोजीमा बाहिर जाने क्रम बढिरहेको समयमा आफ्नै देश र ठाउँमा बसेर केही गर्नुपर्छ भन्ने सोच बोकेकी शर्मा छोटो समयमै आफूलाई जिल्लामा नेविसंघको नेतृका रूपमा स्थापित गर्न सफल भएकी छिन् । विद्यार्थी आन्दोलनमा पछिल्लो समय निराशासँगै महिलाको अभाव खट्किदै गइरहेको समयमा आफूलाई स्थापित गर्न सङ्घर्षरत शर्मा आफ्नो जीवनको पहिलो खुसीको क्षण पनि राजनीतिक सफलतालाई लिन्छिन् । जुन सफलता शर्माले गत स्ववियु निर्वाचनमा प्राप्त गरेकी थिइन् ।

लामो समयपछि हुन थालेको स्ववियु निर्वाचनमा उम्मेदवार हुने नहुने निश्चित थिएन् । १४ वर्षपछि हुन थालेको निर्वाचनमा धेरै आकाञ्क्षी थिए, त्यसैमा गठबन्धनको पनि चर्चा हुने गरेको थियो तर गठबन्धन नहुने भएपछि स्ववियुको सदस्यमा उम्मेदवार भइन्, त्यो पनि गठबन्धन हुने अवस्थामा व्याक हुने सहमतिमा । उम्मेदवार भएपछि प्रचारप्रसारको काम सुरु भयो । स्ववियु निर्वाचनका क्रममा भोगेको अनुभव सुनाउँदै उनी भन्छिन्,‘पहिलो पटक निर्वाचनमा सहभागी हुँदै गर्दा मनमा उत्साहसँगै डर थियो । त्यसैमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धनसँग नेविसंघले प्रतिष्पर्धा गर्नुपर्ने भएकाले चुनौती थियो । अनन्त निर्वाचनमा मतदान भएपछि उत्साहसँगै डर झन बढेर आयो । अब के होला भनेर ?’

साँझ नौ बजेदेखि सुरु भएको मतगणनाको नतिजाले विस्तारै आशा देखाउँदै थियो तर ढुक्क हुने अवस्था थिएन्, न निद्रा पर्ने सम्भावना नै थियो । निर्वाचनको नतिजा सुन्ने तिव्र आकाञ्क्षाका कारण घर नगएर क्याम्पस नजिकै साथीको रुममा साथीहरू बसेका थियाँै, बिहान करिब ३ बजेतिर जितेको खबर पाउँदाको त्यो क्षण मेरो सबैभन्दा ठुलो खुसीको क्षण हो । उनी भन्छिन्,‘पार्टीप्रति प्रतिबद्ध परिवारको सदस्य भए पनि राजनीतिमा कोही अघि बढ्नु भएको थिएन् । स्ववियु निर्वाचन मेरो परीक्षा पनि थियो, त्यसैले नतिजा के होला भन्ने खुलदुलीसँगै डर पनि मनमा थियो । परिणामले खुलदुली मेटाउनका साथै परीक्षामा पास पनि गराइदियो, त्यो क्षण मेरो खुसीको क्षण हो, जुन खुसी घरपरिवार र साथीसँग मनाउन पाए ।’ उक्त निर्वाचनमा खसेको दुई हजार एक सय ३५ मतमध्ये शर्माले एक हजार १६ मत प्राप्त गरेकी थिइन् ।

प्लस टु पढ्दासम्म नेविसंघप्रति आस्था राख्ने शर्मा महेन्द्र बहुमुखी क्याम्पसमा पढ्न आएपछि राजनीतिप्रति जोडिन पुगेको बताउँछिन् । संगठन विस्तारको अभियानमा हिड्दै गर्दा उनी त्यसलाई अवसरका रूपमा लिन्छिन् । जिल्लाका विभिन्न कलेजका तथा विद्यालयका विद्यार्थीसँग चिनजानसँगै कार्यक्रम सञ्चालनसँगै मन्तव्य व्यक्त गर्दा आफूमा आत्मविश्वाससँगै बोल्ने कलाको विकास भएको बताउँछिन् । जुन कुरा आफुले नेविसंघको राजनीतिमा संक्रीय हुँदै गर्दा प्राप्त गरेको उनी बताउँछिन् । संगठन निर्माणका क्रममा लाग्दै गर्दा जिल्लासँगै काठमाडौँमा ठुला नेताहरूसँग भेट भएको र भेटका क्रममा उहाँहरूबाट प्राप्त गरेको माया र हौसल्ला आफ्ना लागि प्रेरणा भएको बताउँछिन् ।

राजनीतिप्रति वितृष्णासँगै पछिल्लो समय धेरै युवा विदेशिने क्रम बढिरहेको छ । जसले गर्दा राजनीतिमा त्यति धेरै महिला देखिँदैनन्, जसले गर्दा नेविसंघका जिल्लाका नेतृत्वसँगै आफू जस्तै २÷४ जना महिला भएर विभिन्न ठाउँमा संगठन निर्माणका लागि पुग्ने गर्दछिन् । पढाइसँगै घरको काम गर्नुपर्ने बाध्यताका कारण पुरुष जसरी महिलालाई जिल्लाभर हिडडुल गर्न सहजता नभए पनि फुर्सद निकालेर पुग्ने गर्दछिन् । संगठन विस्तारका क्रममा हरेक ठाउँमा पुग्दा अग्रजबाट पाउने माया र हौसला पनि आफ्ना लागि खुसीको क्षण भएको बताउँछिन् । उनी भन्छिन्,‘अहिले हरेक दिन युवा बाहिर गइरहेका छन्, यही बसेका युवामा पनि राजनीतिप्रति सकारात्मक सोच छैन । यो अवस्थामा आफूलाई हरेक कार्यक्रममा लागेको देख्दा अग्रज नेविसंघसँगै पार्टीका नेताहरूले नाम, घर र परिवारको बारेमा सोध्नुहुन्छ, आफ्नै छोरी चेलीका रूपमा अघि बढ्नलाई हौसल्ला दिनुहुन्छ, यो पनि मेरा लागि खुसीको क्षण हो ।’

पछिल्लो समय घोराहीमा बस्दै आए पनि आफ्नो बाल्यकाल रामपुरमा बितेको बताउँछिन् । बाल्यकाल सम्झिँदै उनी भन्छिन्,‘गाउँमा हजुरबुबा हजुरआमा बस्नुहुन्थ्यो, हामी पढाइका लागि घोराही बस्थ्यौँ । बिदाको दिन घरमा जादा घरमा हजुरबुबा र हजुरआमाले गाउँमा कसैले दिएको खानेकुरा नातीनातिनीले मीठो मान्छन् भनेर राख्दिनु भएको हुनुहुन्थो त्यो क्षण पनि मेरो बाल्यकालको एउटा खुसीको क्षण हो ।’ त्यसो त उनी सानोमा बिदाको समयमा मामाघर गएर सानीमा, ठुलीआमा मामाको छोराछोरी सबै ८÷१० जना मिलेर खेल्दाको क्षण पनि अर्को खुसीको क्षण भएको उनी बताउँछिन् ।

अहिले महेन्द्र बुहुमुखी क्याम्पस घोराहीमा विविएस दोस्रो वर्षमा अध्ययनरत शर्माको औपचारिक पढाइ भने भ्यालीटप बोर्डिङ् स्कुलबाट भएको हो । नर्सरी र एलकेजी भ्यालीटपमा पढेकी रमिलाले युकेजी र १ भने शान्तिसुधा स्कुलमा पढेकी थिइन् । त्यसपछि २ देखि ५ सम्म माउन्ट भ्यूमा पढेकी उनले पुन ः ६ कक्षादेखि १० सम्म भ्यालीटपमा पढिन् । त्यसपछि प्लस टु गोरखा इन्टरनेशनल पव्लिक सेकेण्डरी स्कुलबाट पास गरेकी शर्माले स्कुल अध्ययनका क्रममा कक्षा ६ मा पढ्दै गर्दा रातीराती साथीहरू मिलेर चटपटे बनाएर खादाको क्षणलाई पनि आफ्नो बाल्यकालको खुसीको क्षण भएको बताउँछिन् ।

उनी भन्छिन,‘६ देखि १० कक्षामा पढ्दा होस्टेल बस्थ्यौँ, होस्टेलमा जगफुड खान पाइँदैन थियो । त्यसैले चाउचाउ, भुजालगायतका खाने कुरा लग्न पाइँदैन थियो तर हामीलाई खान मन पर्ने भएका कारण साथीहरू मिलेर लुकाएर लग्ने र पढिसकेर सुत्ने बेला सरले थाहा नपाउने गरी मिलेर चटपटे बनाएर खाने गर्थिम, त्यो पनि बाल्यकालको अर्को खुसीको क्षण हो, त्यही साथीहरूको अहिले पनि याद आउँछ, भेट्दा त्यो क्षणको कुरा हुन्छ ।’

बुबा गिरिराज शर्मा अधिकारी र आमा विष्णुमाया शर्मा अधिकारीका चार सन्तानमध्ये दोस्रो सन्तानका रूपमा २०५९ साल पुसको १३ गते जन्मिएकी थिइन् । उनका दिदी शर्मीला शर्मा, बहिनी प्रमिला शर्मा र भाइ लोकेन्द्रप्रज्जवल शर्मा अधिकारी रहेका छन् ।  उनी नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसको इकाइ कोषाध्यक्ष तथा स्ववियुको कार्यसमिति सदस्य हुन ।