गोरक्ष समाचारदाता
दाङ, २५ पुस । मेधावी छात्रा–२०८० अञ्जल सिंह र ओना बुढाथोकी बन्न सफल भएका छन् । प्रतियोगितामा दुवैले समान अङ्क ८३ प्राप्त गरेपछि मेधावी छात्रा बन्न सफल भएका हुन् । प्रतियोगितामा सहभागी जिल्लाभरका एक सय २२ प्रतिस्पर्धीलाई पछि पार्दै सिंह र बुढाथोकी मेधावी छात्रा–२०८० को उपाधि जित्न सफल भएका हुन् । प्याब्सन दाङको ३३औँ स्थापना दिवसको अवसरमा मंगलवार घोराहीमा मेधावी छात्रा घोषणासँगै उनीहरूलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सिंह तुलसी बोर्डिङ स्कुलमा अध्ययनरत छात्रा हुन् भने बुढाथोकी दीपशिखा बोर्डिङ स्कुलमा अध्ययनरत छिन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) दाङ र एपेक्स कम्प्युटर घोराही दाङको संयुक्त आयोजना तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरमा प्रत्येक वर्ष यो प्रतियोगिता हुने गरेको छ । प्रतियोगितामा तुलसी बोर्डिङकै अंकिता कँडेलले ८२ अङ्क प्राप्त गरेर दोस्रो, जनज्योति बोर्डिङकी कृष्णा केसी र तुलसी बोर्डिङकै छात्रा श्रेया डाँगीले समान अङ्क ८० प्राप्त गरेर तेस्रो भएका छन् ।
गोरखा बोर्डिङ तुलसीपुमा अध्ययनरत छात्रा बिप्सा पन्त र मेचिकाली बोर्डिङकी स्वस्तिका केसीले समान अङ्क ७९ प्राप्त गरेर चौथो, गोरखा बोर्डिङ तुलसीपुरकी छात्रा योजना बुढाथोकीले ७६ अङ्क प्राप्त गरेर पाँचौ भएका छन् । यसैगरी माउण्ट भ्यु बोर्डिङमा अध्ययनरत छात्रा नेहा गौतमले ७४ अङ्क प्राप्त गरेर छैठौँ, दीपशिखा बोडिङकी रक्षा केसी ७३ अङ्क प्राप्त गरेर सातौँभएका छन् ।
विजेताहरूलाई नगद सहित प्रमाण पत्र एपेक्स कम्प्युटरका सञ्चालक धर्म केसीले प्रदान गरेका थिए । प्रतियोगितामा एक सय २२ जना छात्राको सहभागिता रहेको थियो । २०६३ सालदेखि यस प्रकारको प्रतियोगिता सञ्चालन हुँदै आएको छ । मेधावी छात्राका लागि कक्षा १० मा अध्ययनरत छात्रालाई १०० पूर्णाङ्कको वस्तुगत लिखित परीक्षा लिइन्छ । जसमा अङ्ग्रेजीबाट ३३, गणितबाट ३४ र विज्ञानबाट ३३ अङ्कभारका प्रश्न सोध्ने गरिन्छ । परीक्षामा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने छात्रालाई मेधावी छात्रा घोषणा गरिन्छ । प्रतियोगिता २०८० पुस १४ गते सञ्चालन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्याब्सन नेपाल निवर्तमान सल्लाहकार नारायण अधिकारीले राज्यले निजी विद्यालयलाई सहयोग नगरेको बताए । राज्यको नियम अनुसार सञ्चालन भएका निजी विद्यालयहरूलाइ विभिन्न वहानामा दुःख दिने गरेको उनले बताएका थिए । निजी विद्यालय सरकारी विद्यालयभन्दा फरक नभएको समेत उनले बताए । निजी विद्यालय र सामुदायिक विद्यालय साझेदारी संस्थाको रूपमा रहेको उनको भनाइ रहेको थियो । ‘शिक्षा फरक होइन, शिक्षा एउटै हो’, उनले भने, पाठयपुस्तरक फरक हुँदैमा शिक्षा फरक हुँदैन’ ।
कार्यक्रममा सहभागीले राज्यले निजी विद्यालयहरूलाई पनि अभिभाकत्व गर्नु पर्ने बताएका थिए । कार्यक्रममा एपेक्स कम्प्युटका सञ्चालक धर्म केसी, प्याब्सका केन्द्रीय सचिव यादव गिरी, सम्मानित व्यक्तिहरू महेन्द्र अधिकारी, असोककुमार पोख्रेल, इन्दिरा शर्मा, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुलोचना गौतमलगायतले भनाइ राखेका थिए । कार्यक्रम प्याब्सनका जिल्ला अध्यक्ष मधुसूदन केसीको अध्यक्षतामा भएको थियो । प्याब्सनका बरिष्ठ उपाध्यक्ष विजय जिएमको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव आदिम केसीले गरेका थिए ।
विभिन्न व्यक्तिलाई सम्मान
कार्यक्रममा प्याब्सनको क्षेत्रमा रहेर संस्थागत विकासमा भूमिका खेलेको भन्दै शिक्षा सम्मान २०८० बाट यादव गिरीलाई सम्मान गरिएको थियो । साथै संस्थागत विकासमा भूमिका खेलेको भन्दै महेन्द्र अधिकारी, अशोककुमार पोख्रेल, इन्दिरा शर्मालाई सम्मान गरिएको थियो । उत्कृष्ट नगर प्याब्सनका रूपमा प्याब्सन घोराहीलाई सम्मान गरिएको थियो ।
यसैगरेर स्थापना दिवसको अवसरमा आयोजना गरिएको लोकनृत्य प्रतियोगिताका विजेता तथा हाजिरिजवाफका विजेतालाई पुरस्कृत गरिएको थियो । लोक नृत्यमा गोरखा मोडेल सेकेन्डरी लमही, लिटल एञ्जल राप्ती द्वितीय र गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल तृतीय भएका थिए । हाजिरी जवाफमा ज्ञानज्योति एजुकेसनल एकेडेमी प्रथम, सिद्धार्थ एकेडेमी र तुलसी मावि द्वितीय र जनज्योति विद्यामन्दिर तृतीय भएका थिए ।