नारायणप्रसाद श्रेष्ठ
बगैचाको सुन्दरताले तब सार्थकता पाउँछ जब स्वच्छता र सुन्दरताले भरिएको वातावरणको प्रष्फुटन हुन्छ, मानिस रमाउने उत्तम वातावरण बन्छ । अन्यथा बगैचामा फूलेका जति पनि सुन्दर फूलहरु किन नहोऊन्, ती सबै विस्तारै कूरुप बन्दै जान्छ र एकदिन त्यसको अस्तित्व समेत समाप्त हुने अवस्था हुन्छ । त्यसैले सुन्दर बगैचा बनाउन त्यसभित्रको सम्पूर्ण विकार, झारपात आदि गोडमेल गरिरहनु पर्छ । मानिस पनि सुन्दर बगैचाको एउटा फूल हो । सुन्दर बगैचारुपी मानवीय आकर्षण र व्यवहारलाई पनि बगैचालाई सफा गरिएझैं परिस्कृत गर्दै मन, वचन र कर्मलाई मनभित्र उब्जने कसिंगरमा रुमलिन नदिई यसलाई विस्तारै हटाई पवित्र विचारको माध्यम सेवा र समर्पणमा आधारित मानवीय चेतना जागृत गर्नुपर्छ । तब मात्र मानिसमा विचारको पवित्रता झल्कने अवस्था हुन्छ ।
मानव जीवन अरुको सेवा र समर्पणमा आएको हो । हाम्रो परमदायित्व भनेको अरुप्रतिको भावनामा सकारात्मकता उब्जाउनु हो । हरेक व्यक्तिले प्रत्येक क्षणमा सकारात्मक मानसिकता राखी मनबाट उब्जने जति पनि गलत विचारहरु छन्, त्यसलाई हटाई विचारमा शुद्धता ल्याउने वातावरण तयार गरिरहनु पर्छ । त्यसमा खिया लाग्न दिनु हुँदैन । जसरी बगैचामा सजाइएका बोटविरुवा, फूलहरु त्यहाँ उम्रने झारपातले त्यसको शक्तिलाई क्षय र कूरुप बनाउन मद्दत गर्दछ, त्यस्ता झारपातलाई नहटाएसम्म बगैचाको फूलले दिनुपर्ने सुवास र भावना मुखरित गर्न सक्दैन । त्यसरी नै मानवीय चेतनामा जागृत हुने नराम्रा विचारले पनि राम्रा विचारलाई असर पु¥याइरहेको हुन्छ ।
त्यसको लागि गलत विचारलाई हटाउन सधैं सकारात्मक सोच र चिन्तन बढाई आफूलाई सुन्दर बगैचाको सुवासयुक्त फूलको रुपमा अरुलाई आकर्षण गराउने चरित्र र सेवा गर्ने चरित्र निर्माण गर्न लागिपर्नु पर्दछ । कमलको फूल हिलोमा उम्रिए पनि जसरी यसले सुन्दरता प्रदर्शन गर्दछ त्यसरी नै मानिसले पनि आफ्नो सुन्दरतालाई पहिचान गर्न सक्नु पर्छ । नराम्रा विचार भनेको कुकाठ समान हो । ज्ञान अग्नि समान हो । कुकाठ जति नै धेरै भए पनि अग्निको थोरै झिल्काले पनि त्यसलाई स्वाह गर्न सक्ने हुन्छ । त्यसैले अग्निरुपी ज्ञानकुण्डमा हुर्कने पवित्र विचार धारणा गरी मानिसले आफूलाई प्रस्तुत गर्नु पर्छ ।
वर्तमानमा मानिसको विचार आफूले आफैलाई मपाईको परिभाषाभित्र हुर्काएको देखिँदै छ । अरुको ज्ञान सागरमा पौडनुभन्दा आफै सबै हुँ भन्ने मानसिकतामा आफूलाई अहंकारी बनाइरहेको पाइन्छ । मेरो विचार उत्तम, म मात्र असल, अरु सबै केही होइनन् यस्ता विचारले वर्तमानले मानिसको भावना र विचारमा संकुचन र गलत भावना मुखरित भइरहेको अवस्था छ । हो, विचार आफू र आफ्नै उत्तम हुन्छ, तर यदि त्यसभित्र अहंकार मिसिएको छैन भने यहाँ त अहंकाररुपी जालोमा आफै फसी अरुले अरुपाई भनोस् या नभनोस् आफूले आफैलाई मपाई गराई जुन किसिमले व्यवहार गरिरहेका छन्, वास्तवमा त्यहाँ गएर त्यही त्रुटि भएको देखिन्छ ।
त्यसैले आफ्नो कर्म र सुन्दरताको निर्माता स्वयम् भएकोले प्रत्येक व्यक्तिवर्गले आफ्नो विचार र संकल्पमा शुद्धता ल्याई सेवा र समर्पणमा रहने विचार शक्तिशाली बनाउनु पर्छ । जहाँ विचार र व्यवहारमा एकरुपता ल्याउने संकल्प हुन्छ त्यहाँ मानवीय विकासको आधार तयार भई ढोका स्वतः खुल्न पुग्दछ ।
दृढसंकल्प नै जीवनलाई उत्तम गति दिने विकल्प हो । जब विचार र कर्ममा शुद्धता देखा पर्दै जान्छ, यसले राम्रा र नराम्रा आफै छुट्याउँदै जान्छ । विचार प्रभावमा देखिने सकारात्मक र नकारात्मक के हो ? त्यो आफै छुट्याउन सामथ्र्य जुटाउँछ । तसर्थ, जीवनको हरेक पहलुमा विचार शक्तिशाली रहेछ भन्ने बोध गरी समयको प्रवाहसँगै आफ्ना असल विचारलाई मानवोचित कर्म र सेवामा समर्पण गर्न लागिपर्नु पर्दछ । निराशा र अविश्वास पैदा हुने कुनै पनि कार्य गर्नु गराउनु हुँदैन । जहाँ निराशा र अविश्वास हुन्छ त्यहाँ विचारमा संकुचन पैदा हुन सक्छ । अहंकार र इष्र्याले जन्म लिने अवस्था हुन्छ ।
जब इष्र्या, घमण्ड, मानवीय आचरण र व्यवहारमा प्रदर्शन हुने अवस्था हुन्छ तब मानिसको रुप, रंग र वचनमा जति नै सुन्दरता देखिए पनि उसभित्रको गलत भावना छचल्किएर सतहमा स्वतः देखापर्न थाल्दछ । अनि ऊ आफू स्वयम पतीत भएको उसले पत्तै पाउँदैन । किनकि विचारले मानिसको प्रत्येक रोमरोम, अंशअंशमा कुनै न कुनै किसिमले प्रत्यक्ष अप्रत्यक्ष असर पु¥याइरहेको हुन्छ । निराशा र अविश्वासले जीवनको गतिलाई नै असहज बनाइरहेको हुन्छ । सकारात्मकभन्दा नकारात्मकतर्फ मानिसको सोच र चिन्तन बढाइरहेको हुन्छ । तसर्थ धैर्य र सहनशील भई आफ्ना मनमा उब्जने जति पनि विचारका आरोह–अवरोहहरु छन् तिनलाई शुद्ध मनको कसौटीमा धोई पखाली पवित्र विचार मात्र धारण गर्ने वातावरण बनाउनु पर्छ । पवित्र विचारले गलत विचार प्रवेश गर्नै दिँदैन । यो सत्यलाई बुझ्नु पर्छ ।
विचारको प्रभाव कहिल्यै व्यर्थ हुँदैन । विचारले नै मानिस उँच, निच भइरहेको हुन्छ । शुद्ध र पवित्र विचारले ओतप्रोत व्यक्ति आफैमा नुङिरहेको हुन्छ । सबैप्रति सम्भाव अपनाइरहेको हुन्छ । ऊ केवल सकारात्मक चिन्तनबाट नै गतिशील भइरहेको हुन्छ । ऊ सधैं अरुको सेवा नै मेरो पहिलो कर्तव्य हो भन्ने ठानी आफूलाई प्रस्तुत गरिरहेको हुन्छ । उसको विचारले सधैं सकारात्मक परिणाम दिइरहेको हुन्छ । बीचमा आउने जति पनि व्यवधान छन् त्यसले उसलाई कहिल्यै छुन सक्दैन ।
तसर्थ, विचारबाट उत्पन्न हुने संकल्प सधैं सत्यमा आधारित भएर प्रष्फुटन हुने वातावरण बनाउनु पर्छ । यसको लागि जसरी बगैचामा उम्रने जति पनि झारपात छन्, तिनलाई गोडमेल गराई शुद्ध र वासनायुक्त फूल, दुवोले सजाइएको सुन्दर बगैचाको मनमोहकता, जसरी नै मानिसले यो जीवनको गतिलाई पनि शुद्ध विचारको भण्डारले भरिपूर्ण गराई वाह्य जगतमा प्रदर्शन हुने वातावरण बनाइरहनु पर्दछ । मानवीय जीवनमा विचारले निकै प्रभाव पारेको हुन्छ । डरको विचार आयो भने डर लाग्छ । क्रोधको विचार आयो भने रिस उठ्छ । स्वार्थको विचार आयो भने अहंकार आउँछ । त्यसै शुद्ध र सेवाभावको विचार आए पवित्रताबोध गराउँछ । सर्वे भवन्तु सुखिनको आधार तयार गर्दछ । जुन विचार बढी सशक्त भयो त्यही विचारले मानिसको मन, बुद्धि र विवेकलाई परिचालन गर्ने हुन्छ र परिणाम पनि त्यही अनुरुप हुने हुन्छ । त्यसैले सधैं सतर्क रही आफ्ना भावनाहरु पोख्नु पर्छ । आफूबाट पवित्र विचार उजागर हुने वातावरण तयार गर्नु पर्छ ।
त्यसको लागि सोचमा नवीनता, नम्रता, स्वच्छता र हेराईमा पवित्रता, बोलीमा शिष्टता, मधुरता, व्यवहारमा शरलता, कर्ममा सेवाभाव, सत्य धर्म शान्ति, प्रेम र अहिंसामा आधारित आचरण र व्यवहार गर्नु गराउनु पर्छ । काम, क्रोध मोहरुपी जालोलाई तोड्ने इच्छाशक्ति जागृत गरी सृष्टिचक्रको इतिहासमा इतिहास कोर्न आएको मानवीय जीवनलाई सुकर्म र सुभावनायुक्त सत्य र पवित्र विचारले ओतप्रोत हुने वातावरण बनाइरहनु पर्छ । यही नै जीवनको उद्देश्य हो । यही उद्देश्य राखी मानिसले आफ्नो जीवनलाई समाज उत्थान र समृद्धितर्फ प्रस्तुत गर्न सामर्थ हुनुपर्छ । आफ्नो संस्कृति र संस्कारले सिकाएको पवित्र र सर्वमान्य भावनालाई आफ्नो उत्कृष्ट आचरणबाट दिशानिर्देश हुने गरी आफूलाई प्रस्तुत गर्न सक्नु पर्दछ । तसर्थ २१औं शताब्दीको जीवनचरित्रलाई समय अनुकुलअनुसार अगाडि बढाउनु पर्छ । आज समयले यही खोजिरहेको छ र यो अनिवार्य पनि हो ।