Goraksha

National Daily

स्थानीय कृषि उत्पादन, पर्यटन, कला र संस्कृतिको प्रवर्धनका लागि महोत्सव : अध्यक्ष चालिसे

यतिबेला विभिन्न स्थानमा माघीका मेला महोत्सवहरू लाग्न सुरु गरेका छन् । भर्खरै पश्चिम दाङको हापुरेमा व्यापारिक तथा कृषि पर्यटन महोत्सव सम्पन्न भएको छ । त्यस्तै जिल्लाका अन्य स्थानहरुमा पनि उद्योग वाणिज्य संघलगायतकाले कृषि पर्यटन, व्यापार तथा औद्योगिक महोत्सवहरू लगाउने क्रम जारी नै छ । तुलसीपुरमा पनि माघमा महोत्सव लगाइने भएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघले माघ १८ गतेदेखि २८ गतेसम्म कृषि, पर्यटन, व्यापार तथा औद्योगिक महोत्सव २०८० सञ्चालन गर्ने निर्णय गरेको छ । गत वर्षहरूमा पनि तुलसीपुरमा क्लव तथा चेम्बर अफ कमर्शले महोत्सव लगाएका थिए । केही दिन अघि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बसेको बैठकले दश दिनसम्म महोत्सव लगाउने निर्णय गरेको छ । विभिन्न उद्देश्यहरू राखेर मेला महोत्सवहरू लगाउने गरे पनि महोत्सवको औचित्य र लगाउनु पर्ने विषयमा सर्वसाधारण तथा व्यवसायीहरूको फरक–फरक मत आउने गरेको छ ।

स्थानीय उत्पादनलाई प्रोत्सान गर्न तथा यहाँ रहेको पर्यटकीय स्थलहरूको विकास विस्तार गरी स्थानीय उत्पादनलाई देश विदेशसम्म चिनाउन तथा व्यापार व्यवसायलाई बढवा दिन महोत्सव लाग्ने गरे पनि त्यसले खासै महत्व नपाएको गुनासाहरू आउने गरेका छन् । विगतका दिनमा पनि महोत्वसहरू लाग्ने गरेका थिए । लागेका महोत्सवहरूले के कति सार्थकता पाए वा यहाँको उद्योगी व्यवसायीहरू, कृषि र पर्यटनको विकासमा कतिको टेवा पुग्यो भन्ने कुरामा भने बहस छलफल भने हुन सकेको छैन् ।

महोत्सव किन र केका लागि लगाउन लागिएको छ । पछिल्लो समयमा देखिएको आर्थिक मन्दीमा यसले कतिको असर पार्छ र महोत्सवको उद्देश्य लक्ष्य र यसबाट हुने फाइदाकोलगायतको विषयमा केन्द्रित रहेर तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार संक्षेप ।

 स्वागत छ यहाँलाई सातावार्तामा ।

 धन्यवाद यहाँ अनि यहाँको पत्रिकालाई मेरा विचारहरू राख्न दिएकोमा ।

 कृषि, पर्यटन, व्यापार तथा औद्योगिक महोत्सव लगाउन लाग्नु भएको छ कहिले कहाँ लाग्दै छ ?

 हो, हाम्रो तुलसीपुर उद्योग वाणिज्य संघको कार्यसमितिको हालै बसेको बैठकले कृषि पर्यटन, व्यापार तथा औद्योगिक महोत्सव लगाउने निर्णय गरेको छ । तुलसीपुर उद्योग वाणिज्य संघले माघ १८ गतेदेखि २८ गतेसम्म कृषि, पर्यटन, व्यापार तथा औद्योगिक महोत्सव २०८० सञ्चालन गर्ने निर्णय गरेकोहो । हामी अब त्यसैको तयारीमा लागेका छौँ । तुलसीपुरको घोराही रोडमा पूर्वतर्फ खाली रहेको जग्गामा महोत्सव लगाउने हाम्रो कुरा भइरहेको छ । मिति तय पनि भएको छ हामी निन्तर छलफलमै छाँै । महोत्सव लाग्छ हामीहरूले लगाउने भनेर निर्णय नै गरेको कुरा हो ।

 कृषि, पर्यटन, व्यापार तथा औद्योगिक महोत्सवकोे लक्ष्य उद्देश्य के छ ?

 हाम्रो मुख्य लक्ष्य र उद्देश्यअन्तर्गत पहिलो कुरा त भौतिक पूर्वाधार हो, हामीले सभाहल निर्माण गरेका छौँ । दोघरेमा त्यसलाई आर्थिक संकलन गरेर थप व्यवस्थित गराउने हो । त्यसका साथ साथै यहाँ रहेको कृषि पर्यटन, व्यापारलाई प्रोत्साहन गर्ने हो । यहाँ रहेका कृषकहरूले उत्पादन गरेका बस्तुहरू बजारीकरण तथा यहाँ उत्पादन हुने बस्तुहरूको प्रचार–प्रसार र उनीहरूलाई प्रोत्साहन गर्ने नै हो यहाँ दशाँै लाख मानिसले महोत्सव अवलोकन गर्छन् । उनीहरूले यहाँ उत्पादन तथा पालन गरेको कुराहरू बजारीकरण गर्ने छन् । हाम्रो पहिलो प्रथामिकता पनि स्थानीय उत्पादन र स्थानीयलाई ने प्राथमिकता दिने हो । हामीले त्यहीअनुसार महोत्सवमा उनीहरूर्ले उत्पादन गरेका सामाग्रीलाई प्राथमिकतामा राख्ने छौँ ।

 पहिले यहाँहरूले महोत्सव लगाउँदा विरोध गर्नुभयो अहिले फेरि केही व्यक्तिले मेला महोत्सव लगाउन हुन्न भन्ने छ नि ?

 पहिलो कुरा त हामीहरूले विरोध गरेकै होइन, पहिले पनि यहाँ महोत्सव लगाउन हुन भने हाम्रो भनाइ होइन । हामीले यो व्यापारिक महोत्सव लगाउने समय होइन अलिपछि समय सार्नु पर्छ भनेर हामीहरूले समयको लागि विरोध हो । अर्को कुरा कसले महोत्सव लगाउने कुन उद्देश्यले लगाउने भन्ने पनि त्यतिबेला उठेको थियो । हामीले भनेको मात्र केहो त भने यो महोत्सव अलिपछि माघ मा लगाउ अहिले लगाउँदा यहाँका फेन्सी व्यवसायीहरूलाई जाडोको समयमा यसले असर गर्छ भनेको हो । त्यतिबेला मेला महोत्सव लगाउने कसले किन भने पनि एकिन थिएन, हाम्रो भनाइ मात्र केहो त समय अलि पछाडि सार्नु पर्छ भन्ने थियो ।

 तपाईहरूले महोत्सव लगाउँदा हुने अरुले नहुने ?

 मैले पहिले पनि भने हामीले महोत्सव लगाउनै नपाइने मेला महोत्सव भनेको होइन । अहिले पनि केही व्यक्तिहरूले नलाउने मेला महोत्सव भन्नु भएको छ तर अहिले पहिलो पटक कसले किन र कसरी महोत्सव मेला लगाउने भन्ने एउटा नगरपालिकाले कार्यविधि पनि बनाएको छ । हामीले विधि विधानअनुसार कार्यविधिअनुसार अहिले महोत्सव लगाउन लागेको छौँ । दशैँभर अहिले महोत्सव चलेका छन् हामीहरूले मात्र यहाँ लगाउन लागेको होइन ।

कृषि पर्यटन, व्यापार प्रवद्र्धनका लागि मेला महोत्सव लाग्नु पर्छ यो सरकारको पनि पर्यटन प्रवद्र्धनका लागि नीति छ । हामीले माघपछि कसैलाई पनि असर नगर्ने गरी लगाउन लागेको छौँ । हामीले लगाउँदा ठिक अरुले लगाउदा बेठिक भन्ने होइन । हामी कानुनी, विधिविधान कार्यविधिअनुसार महोत्सव सञ्चालन गर्ने हो । नगरपालिकाले बनाएको कार्यविधिअनुसार हामी अगाडि बढेका छौँ ।

 महोत्सव लगाउँदा यहाँका कृषक व्यवसायी र अन्यलाई के फाइदा पुग्छ ?

 महोत्सव भनेको यहाँको कृषि पर्यटन, व्यवसायी प्रवद्र्धनका लागि हो । यसमा सबैलाई फाइदा पुग्छ । हामीले पहिलो प्राथामिकता यहाँको कृषि स्थानीय व्यवासायीहरूलाई दिने भनेर भनेका पनि छौँ । यहाँ उत्पादन भएका कृषि सामग्रीहरू जस्तै बास च्वायाबाट निर्माण गरिएका सामग्री, कृषकले उत्पादन तथा पालन गरेका कालिज, बोयर बोका, महलगायत थुप्रै कृषि उत्पादन गरेका बस्तुहरू बजारीकरण हुन्छ । त्यसका साथ साथै हामीले यहाँका व्यवसायीहरूलाई स्टल राख्नका लागि पहिलो प्राथमिकता पनि दिने भनेका छौँ ।

उहाँहरूले स्टल राख्न चाहेमा हामीहरूले ५० प्रतिशत छुट दिने पनि भनेका छौँ । हामीहरूले पहिलो प्राथमिकता यहीको लोकललाई दिने हो । यहाँ फेन्सी, जुत्ता चपलदेखि यस संस्थामा आवद्ध व्यवसायीले स्टल राखेमा हामीले व्यवसायीलाई प्राथमिकता दिने छौँ । कृषि तथा अन्य लघुउद्यमीलगायत सबैलाई प्रोत्साहन हामीहरूले गर्ने हो ।

 यो आर्थिक मन्दीको समयमा महोत्सव लगाउनु राम्रो कुरा होला त ?

 हेर्नुहोस यो आर्थिक मन्दी त अहिले विश्वभरीको समस्या हो । यहाँको मात्र होइन जस्तो लाग्छ । अर्को कुरा महोत्सव लगाउँदा यहाँको सबै कुरा चलायमान हुन्छ । यहाँ सबै क्षेत्र चलायमान हुन्छ । मेलामा मात्र होइन यहाँको होटल बजारका अन्य पसलहरूमा पनि किनमेल हुन्छ । यहाँ हजारौँ मानिस आउनु हुन्छ । अहिले मेला महोत्सव देशैभरी चलेको छ । यहाँ मात्र लगाउन लागेको भए पनि किन यस्तो भन्ने हो । आर्थिक मन्दीसँग कुरा जोडनुभन्दा पनि हामीले यस क्षेत्रकै व्यापार व्यवसाय, पर्यटन कृषिलाई प्रवद्र्धन गर्नुपर्छ भनेर महोत्सव लगाउन लागेको हो ।

 मेला महोत्सव लगाउँदा यहाँको पैसा सबै बाहिर जाने गर्छ भन्छन् नि ?

 मेला महोत्सव भनेको सबै पैसा बाहिर पठाउनलाई होइन । यो महोत्सव हामीले लगाउन लागेको हो । यहाँ अरु आएर ठेक्कामा दिएर लगाउने कुरा छैन । अन्य बाहिरकोले यहाँको बस्तु किनमेल गरे बाहिर पठाउनेभन्दा पनि आर्थिक भित्र्याउने हो । मैले पहिले पनि भने यहाँको बस्तु बिक्री गर्ने हो । त्यही बाल उद्यान मात्र त बाहिरको होनी अरु सबै त यहीको हो । त्यसैले त हामीले यहाँको स्थानीयलाई प्राथमिकता दिने भनेको छौँ पहिला । त्यसमा पनि हामीले स्थानीय कलाकारदेखि व्यवसायी सबैलाई पहिलो प्राथमिकता दिने भनेका छौँ ।

 यस अघि पनि विभिन्न मेला महोत्सवहरू लागे त्यसको उपलब्धी के भयो ?

 यस अघि पनि उद्योग वाणिज्य संघले महोत्सव लगाएको हो । हामीले महोत्सव लगाएर अञ्चल अस्पताल, एयरपोर्टदेखि तुलसीपुरको दोघरेमा सभाहल पनि बनाएका छाँै । अहिले पनि हामीले त्यसबाट बचेको रकम यस्तै सामाजिक काममा लगाउने हो । यही क्षेत्रको विकासका लागि लगाउने हो । यो कुनै दुरुपयोग गर्ने होइन । मैले पहिले पनि भने सभाहलमा धेरै काम बाँकी छन्, त्यो पूरा गर्नु छ । हामीले महोत्सवको २ महिनाभित्र आर्थिक हिसाब किताब सार्वजनिक गर्ने छौँ । यसमा कसैले दुविधा नमाने हुन्छ हामीले आर्थिक रूपमा प्रष्टसँग सबैलाई जानकारी गराउने छौँ ।

 अन्तमा केही भन्नु छ ?

 अन्तमा मेरा कुराहरू राख्न दिएकोमा म तपाई अनि तपाईको पत्रिकालाई धन्यवाद दिन चाहान्छु । यो महोत्सव तपाई हामी सबैको हो । यसलाई सफल पार्न तपाईहरूको पनि साथ सहयोग चाहिन्छ । मैले भने यो यहाँको कृषि पर्यटन, व्यापारलाई प्रवद्र्धन गर्ने औद्योगिक महोत्सव हो । हामीले महोत्सवमा सबै स्थानीयलाई पहिलो प्राथमिकता दिने भनेका छौँ, दिने पनि छौँ । हामीले माघ त्यो पनि अन्तिमबाट महोत्सव लगाउने भनेका छौँ, यसमा कसैलाई ठुलो समस्या हुन माघ, फागुनमा जहाँ पनि महोत्सव चल्छन् यो महोत्सव लगाउने समय पनि हो । यसलाई सफल पार्न सबैको साथ सहयोग यसमा रहने छ भन्नेमा हामी विश्वस्थ छौँ । धन्यवाद ।