चन्दा लामिछाने ![]()
अहिले विश्व पीडामा छ, एउटा सुक्ष्म अदृश्य भाइरसले सम्पूर्ण मानव जातीलाई आक्रान्त बनाइरहेको अवस्था छ । यस सम्बन्धमा आइरहेका विभिन्न समाचारहरुले मेरो आफ्नो अतितलाई फेरि एकपटक झकझकाइ दिएको छ र पुनः ती पीडादायी क्षणहरु सम्झन बाध्य भएकी छु । यसै सन्दर्भमा आज म हजुरहरुका सामु मेरा विगतका अनुभवहरु पस्कन आएकी छु । कारण थियो यस्तै किसिमको सुक्ष्म भाइरस, जसले गर्दा म डेङ्गुको शिकार बन्न पुगें।
डेङ्गु (जसलाई डेङ्गी पनि भन्ने गरिन्छ), एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । डेंगु सार्ने लामखुट्टे खासगरी हलचल नभएको स्वच्छ सफा पानीमा फुल पार्ने गर्दछ । यसको मुख्य लक्षण भनेको एक्कासी ज्वरो आउनुको साथसाथै अरु विभिन्न लक्षणहरु देखा पर्दछन् ।
बाहिर मेरो परिवारलाई गएर सम्झाउने काम हुन थालेछ । हामीले सक्दो कोशिश गरिनै रहेका छौँ, तर स्थिति नाजुक छ, केही पनि हुन सक्छ, गाह्रो अवस्था छ भन्ने कुराहरु हुनथालेछ। त्यसपछि के भयो होला मेरो बुवा ममीको स्थिति ? म कल्पना पनि गर्न सक्दिन । मात्र रह्यो रुवाबासी अनि भगवानको भरोसा ।
कुरा २०६४ सालको हो, चाडपर्व नजिकिँदै गर्दा मनमा छुट्टै किसिमको रमाइलो थियो । हामी काठमाडौं नै बस्ने गर्थ्यौं, तर दशैं आउँदा चाहिँ आफ्नै गाउँघरको यादले सताउँथ्यो, जसकारण म पनि त्यो साल आफ्नै जन्मस्थानतिर हान्निएँ । दशैं आयो ठुलाबडासंग टीका थाप्नुको साथसाथै, रमाइलो भेटघाटमै दिनहरू बितिरहेका थिए । अर्को मीठो कुरा के भने, सानैदेखि मामाघरमा रमाउने बानी थियो मेरो, शायद सबैकी प्यारी एक्ली भान्जी भएर पनि होला… । त्यसैले दशैंमा पनि म मामा घरमै थिएँ, तुलसीपुर वीपी चोक नजिकै ।
जब दशैं सकियो, मलाई ज्वरो आउँन शुरु भयो, र भोलिपल्टदेखि बिस्तारै बढ्दै गयो, आफुलाई छुट्टै किसिमको कमजोरी महसुस भयो, अनि म र मेरो साँहिलो मामा काठमाडौं फर्कने निधो गर्यौँ । बाटोभरि पनि ज्वरो आइरह्यो, खान र बोल्न सक्ने अवस्था पनि रहेन । काठमाडौं घरमा आइपुग्दा पनि ज्वरोले छोड्ने नाम लिएन । कुनै औषधीले पनि छोएन, र नजिकै एउटा क्लिनिकमा गएर देखायौँ, जहाँ टाइफाइडको शंका गरेर, त्यही अनुसारको औषधी दिइयो । त्यसमा उनीहरुको पनि के दोष, त्यसबेला नेपालभित्र घोषित रुपमा डेंगुका बिरामी भेटिएको अवस्था थिएन, भलै भारतको सिमा क्षेत्रमा अज्ञात रोगले मानिसहरु बितेका समाचार आइनै रहन्थे । यस्तो अवस्थामा डाक्टरहरुको त्यतातिर ध्यान नजानु पनि स्वभाविक नै थियो ।
ती औषधीहरुले मलाई झनझन गल्दै गएको अनुभव भयो, असाध्यै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरका हड्डीहरु दुख्ने हुन थाल्यो । त्यो दुखाइ कुन हदसम्मको थियो भन्ने म यहाँ वर्णन गर्न असमर्थ छु । एकरात म रातभर निदाउनै सकिन, हत्केला र पैताला एकदमै चिलाउन थाल्यो, चिलाउँदा चिलाउँदै, यति पोल्न थाल्यो कि रातभर हातखुट्टा पानीमा डुबाएर राख्दा पनि सहज भएन । भोलिपल्ट बिहानै जब आफ्नो हत्केलामा नजर पुग्यो, तब त्यहाँ ससाना रगतको थोपा जमेको जस्तो देखेँ, जुन सर्दै सर्दै माथिसम्मै पुगिसकेको रहेछ ।
मेरो मनले अब घर बस्न मानेन र हामी तुरुन्तै नजिकैको ओम अस्पताल जाने निधो गर्यौँ । त्यहाँ हतार हतार इमर्जेन्सीमा पुर्याइयो र चेकजाँच गरियो । ती ससाना बिमिराजस्ता रगतका थोपा फैलदै फैलदै पुरै शरीर ढाकिसकेका थिए, आँखाभित्र समेत देखिन थालिसकेका थिए । साथसाथै गिंजावाट रगत बग्न थालिसकेको थियो । यो सब देख्दा डाक्टरहरुलाई क्यान्सरको शंका भयो, र तुरुन्त रगत जाँच गर्न लगाइयो । तर जब रिपोर्ट आयो, क्यान्सर पनि नेगेटिभ देखियो। अब सबैलाई एउटै कुराले पिरोल्न थाल्यो – यो के रोग होला, Diagnosis नै हुन नसक्ने ? उपचार गर्ने कसरी ? सबै डाक्टरहरु पनि अलमल्लमै । यति हुँदाहुँदै मेरो नाकबाट रगत बग्न थालिसकेको थियो, नाथ्री फुटेजस्तै गरेर; संगसंगै वान्ता पनि हुन थाल्यो । सलाइन पानी दिइरहेको थियो, शरीर पुरै काँपिरहेको थियो, दुईचार जनाले थिच्दा पनि रोक्न नसकिने गरि काँपिरहेँ एकनासले ।
रोग सबैलाई नौलो लाग्यो, जसकारण नर्सहरु पनि नजिक पर्न अप्ठ्यारो महसुस गर्न थाल्नुभयो । त्रास नहोस् पनि किन, मलाई के भएको छ भन्ने पत्तो लागेकै थिएन । दिनबित्दै गए, मलाई झनझन् व्यथाले च्याप्दै गयो, तर बिडम्बना के भने, न त रोग पत्ता लाग्छ, न त औषधी नै चलाउन सकिन्छ ।
शरीर भित्रका ससाना नसाहरु सबै फुट्दै (Rupture) गए, छाला भित्र नसा फुटेर रगत जम्न थाल्यो, र शरीर पुरै ससानो जमेको रगतको थोपाले भरियो । गिजाबाट बगेको रगत म आफैँले पिउन थालेँ, पानी पिए जसरी घुटुघुटु । सबैतिर रगत बग्न थाल्यो-नाक, मुख, गिजा अनि महिनावारी जसरी, दिशा पिसाबमा ।
यी सबै हुँदैगर्दा मलाई आफ्नो शरीर हलुका भई हावामा उडेजस्तो अनुभव भैरह्यो । सायद सबैतिरबाट रगत बगेर जीउ हलुका भएको थियो होला । अब झन स्थिति भयावह हुँदै गयो, निलो आकाशमा एक्कासी कालो बादल मडारिए झैँ भयो । अस्पताल पुरै मेरै आफन्तजन, साथीभाइ तथा शुभचिन्तकहरूले भरिभराउ भयो । डाक्टर नर्स सबैजनालाई के गर्ने कसो गर्ने भइरहेको थियो । स्थिति झन झन खराव हुँदै गइरहेको थियो । यत्तिकैमा मलाई भेट्न आउनुहुने थुप्रै आफन्त मध्ये एक जना, जो भर्खरै भारतबाट आउनु भएको थियो, अनि पेशाले चिकित्सक नै हुनुहुन्थ्यो, वहाँले मेरो स्थिति देख्ने बित्तिकै डेंगु भनेर थाहा पाइहाल्नु भयो र मेरो बिरामी बारे यहाँका डाक्टरहरूलाई पनि त्यो विषयमा जानकारी गराउनुभयो । संगसंगै यसको उपचार भनेकै रगत चढाउने हो भन्ने जानकारी पनि दिनुभयो ।
अनि एक्कासी अत्तालिदै बिउझिएँ र सिस्टर भनेर चिच्याएँ । सिस्टर दौडिँदै मेरो छेउमा आउनुभयो । मैले सिस्टरलाई “Please मलाई सुत्नु छैन अब” भनें । मलाई राम्रोसँग थाहा छ, अब पनि म मिठो निद्रा सुतें भने म फेरि कहिल्यै पनि नबिउँझिने गरी निदाउनेछु ।
त्यसपछि हतार हतार टेकु अस्पतालमा रगत पठाएर परीक्षण शुरु भयो, अनि सबैतिर हल्लीखल्ली शुरु भयो नेपालभित्रै देखिएको यो नयाँ रोग बारे । लाग्छ म नै पहिलो केश थिएँ नेपाल भित्रै डेंगुको संक्रमण भएको । त्यसैले होला मेरो बिषय लाई लिएर ओम अस्पतालमा बरिष्ठ चिकित्सकहरूको मिटिंग बस्यो र त्यसपश्चात मेरो उपचार शुरु गरियो । मलाई हतार हतार ICU लगियो । डेंगुको असर तीन प्रकारका हुने रहेछन्, त्यस मध्ये मलाई चाहिँ Haemorrhagic Dengue Fever अर्थात रक्तश्राव हुने डेंगु भएको रहेछ, जुन धेरै डरलाग्दो र एउटा वयस्क मान्छेलाई मृत्युको मुखसम्म पनि पुर्याउँदो रहेछ । त्यसमाथि मेरो उपचारमा त यसैपनि धेरै ढिला भैसकेको थियो । कारण, नेपालको लागि यो रोग नौलो थियो, र त्यसबेला यसको सहज उपचारको विधि बारे समाजमा अहिले जति धेरै जानकारी नै थिएन, जसकारण मैले धेरै पीडा भोग्नुपर्यो ।
Haemorrhagic डेंगुमा हुने मुख्य असर भनेको भाइरसले रगतमा रहेका Platelets लाई नष्ट गर्दै जाने रहेछ । रगतमा Platelets को मुख्य काम भनेको रगतलाई शरीरबाट बाहिर बग्न नदिने हो । जब १,५०,०००-४,००,००० को बिचमा हुनुपर्ने Platelets को गणना घटेर ५०,००० भन्दा कम हुन थाल्छ, तब आन्तरिक रक्तश्राव हुन थाल्दछ (वा हुने सम्भावना बढ्दछ) । मेरो केसमा भने ७४८ (ठ्याक्कै याद नभए पनि ७०० देखि ८०० को हाराहारी) सम्म पुगेको थयो, जुन भनेको अन्तिम अवस्था नै हो । ICU बाहिर रुवावासी बाहेक केही पनि थिएन, कुनबेला के हुने हो निश्चित नै रहेन ।
यसमा बिरामीलाई ताजा रगत चढाउनु पर्ने रहेछ, जसले गर्दा Platelets Count संगसंगै अति जरुरी रातो र श्वेत कोशिका पनि (RBC & WBC) बढ्थ्यो । मेरो भाग्य भनौँ कि हामी नेपालीको सहयोगीपन, मलाई रगत दिने सहयोगीहरु फटाफट भेटिनुभयो । मेरा आफन्त, साथीभाइ सबैतिरबाट सक्दो सहयोग गर्नुभयो । उहाँहरूको यो ऋण तिर्न म कहिल्यै पनि सक्छु जस्तो लाग्दैन, उहाँहरूप्रति सधैं आभारी नै रहिरहनेछु ।
भयो के भने, जति रगत दिएपनि भाइरसले केही समयमै प्लाटलेट्स घटाइहाल्ने । रगत चढाएपछि बल्लतल्ल ५०,००० जति पुगेको हुन्थ्यो, तर केही समयमै ७००-१००० को हाराहारीमा झरिहाल्थ्यो । चाहिए अनुसार, कहिले ताजा रगत त, कहिले ताजा रगत बाट छुट्टयाइएको WBC अथवा प्लाटलेट्स दिने क्रम जारी रह्यो । तर यति गर्दा पनि शरीरले आफैं चाहिँ निर्माण गर्न सकिरहेको थिएन र सबैले हार खाने अवस्था आइसकेको थियो ।
एकातिर जति रगत Transfuse गर्दा पनि उपाय नलाग्ला जस्तो हुन थाल्यो भने, अर्कोतिर डेंगु हुने बित्तिकै फोक्सोमा पनि संक्रमण हुन शुरु हुनेरहेछ, जसले गर्दा मेरो फोक्सोमा पानी भरिन थाल्यो । संक्रमण बढ्दै जाँदा फोक्सोले पनि कामै गर्न नसक्ने स्थिति आइपुग्यो। अब भने डाक्टरहरूले पनि हार खाएको अवस्था भयो । बाहिर मेरो परिवारलाई गएर सम्झाउने काम हुन थालेछ । हामीले सक्दो कोशिश गरिनै रहेका छौँ, तर स्थिति नाजुक छ, केही पनि हुन सक्छ, गाह्रो अवस्था छ भन्ने कुराहरु हुनथालेछ। त्यसपछि के भयो होला मेरो बुवा ममीको स्थिति ? म कल्पना पनि गर्न सक्दिन । मात्र रह्यो रुवाबासी अनि भगवानको भरोसा ।
यसरी लगभग १ महिना ICU भित्रै बिते मेरा दिनहरू । त्यतिन्जेलसम्म न त ब्रस गर्न दिएको थियो, न त नङ काट्न नै । रक्तश्राव शुरु हुने डर थियो । नत शरीरमा रगत नै थियो, नत अक्सिजन नै, फगत एउटा मुर्दा जसरी अस्पतालको ICU को बेडमा लडिरहेँ । ICU मा सधैं अलि जटिल केसहरु देखिन्थ्यो, अनि पालैपालो एक एक गरि सबैलाई भेन्टिलेटरमा लगिन्थ्यो, जहाँ उनीहरुले अन्तिम श्वास लिन्थे र अन्त्यमा Death Certificate बनाउने बाहेक अरु विकल्प रहँदैन थियो ।
मेरो स्थिति पनि साह्रै नाजुक भइसकेको थियो र भोलिपल्ट मलाई पनि भेन्टिलेटरमा सार्ने कुरा भयो । म झसङ्ग भएँ एक छिन र मनमा अनेकौं तर्कनाहरु खेल्न थाले…. ‘जीवन त केही नै रहेनछ, मैले गर्नुपर्ने कति कामहरु यत्तिकै छन्’- यस्तै यस्तै । ICU बाहिर रात पर्थ्यो, दिन हुन्थ्यो, तर भित्र भने आफुलाई केही थाहा हुँदैन थियो । बाहिर पटाकाहरु पड्किरहेको आवाज आउँथ्यो र म झस्किने गर्थें, शायद तिहार आएको थियो होला । सधैँजस्तै आँखामा मिठो निद्रा अइरहेको थियो, तर जब म निदाउन खोज्थें, आफू हावामा उडेको जस्तो अनि एक्कासी झरेर कहाँ कहाँ पुगेको जस्तो हुन्थ्यो । मलाई लाग्यो अब मेरो मर्ने बेला भयो, अनि एक्कासी अत्तालिदै बिउझिएँ र सिस्टर भनेर चिच्याएँ । सिस्टर दौडिँदै मेरो छेउमा आउनुभयो । मैले सिस्टरलाई “Please मलाई सुत्नु छैन अब” भनें । मलाई राम्रोसँग थाहा छ, अब पनि म मिठो निद्रा सुतें भने म फेरि कहिल्यै पनि नबिउँझिने गरी निदाउनेछु । त्यसैले “Please यो बेडलाई बस्न मिल्ने गरि उठाइदिनु बरु म यत्तिकै बस्छु”- भने । यसरी ननिदाएर बसिबसि नै त्यो रात मैले बिताएँ । न त आँखाले नै राम्रोसँग देखिरहेका थिए, न त कानले नै सुनिरहेका थिए, र पनि म मृत्युसंग लडिरहेको थिएँ । साथसाथै भगवानसँग झगडा पनि गरिरहेको थिएँ, “मैले के विराएको थिएँ र आज मलाई यो अवस्थामा पुर्यायौ, साँच्चै तिमी छौ भने Please मलाई भोलि त्यो भेन्टिलेटरमा जान नपरोस” भनी मनमनै पुकारीरहेको थिएँ । यसरी आफ्नो Saline को Drip र Oxygen Saturation नियाल्दा नियाल्दै त्यो रात पनि कटाउन सफल भएँ ।
मेरो भाग्य भनौं कि के भनौं, भोलिपल्टबाट मेरो प्लेटेलेट्स Count एक्कासी बढ्दै गएको रिपोर्टमा देखियो । मेरा डाक्टरहरू पनि खुशी हुँदै मेरा सामु आउनुभयो र मलाई धन्यवाद भन्दै बधाई दिनुभयो । यो सबै तिम्रो Will-Power ( इच्छाशक्ति) अनि समय समयमा खानेकुरा कर गरेर आफैँ खाने गरेकोले सम्भव भएको हो भन्दै मलाई धाप मार्नुभयो । र म अब भेन्टिलेटरमा जानू नपर्ने खवर पनि दिनुभयो । म मख्ख पर्दै भगवानलाई मनमनै धेरै धेरै धन्यवाद दिएँ । भाइरस १४-१५ दिनपछि शायद निष्कृय हुँदै गयो, र भाइरसलाई मेरो शरीरले जित्न थाल्यो । अब मेरो शरीरले बनाउने रक्तकोशिका र प्लेटेलेट्सहरु बिस्तारै बढ्दै गयो र फेरि घट्न पाएन । डाक्टरहरूले मेरो परिवार आफन्तहरु सबैलाई यो खुशीको खबर सुनाउनु भयो । “अब चाहिँ आशा गर्न सकिन्छ है”-भन्नुभएछ । यो खबरले सबैमा खुशीको लहर छायो । यसरी करीब ४८ जनाको रगत दिइसकेपछि मेरो शरीर भाइरस विरुद्धको यो लामो युद्धमा विजयी भयो ।
यो अवधिभर मेरो उपचारमा संलग्न सम्पूर्ण चिकित्सकजनहरु र अन्य स्वास्थ्यकर्मीहरु प्रति म सधैं अनुग्रहित रहने छु । वहाँहरु मध्ये एकजना डाक्टर जो सधैं म र मेरो परिवारका लागि ठुलो ढाडस भएर उभिन भएको थियो, जो हाम्रो परिवारको मानसपटलमा रहिरहनु हुनेछ, डा.प्रकाश पौडेल । धेरै जना डाक्टरहरू र अन्य स्वास्थ्यकर्मीहरु खटिनुभएको थियो, तर जुन प्रकारको सद्भाव सुझाव र Counselling विरामी र परिवारलाई दिनु पर्ने हो, त्यो वहाँलाई राम्रोसंग थाहा थियो । यसैगरी मेरा सबै आफन्तजन, साथीभाइ तथा सम्पूर्ण सुभेच्छुकहरु प्रति पनि म सदैव आभारी रहनेछु ।
म मेरो बुवा र ममीप्रति पनि एकदमै अनुग्रहित छु, जसले मलाई यो पुनर्जीवन दिलाउन सधैँ लागिपर्नु भयो । अस्पतालबाट डिस्चार्ज हुनु एउटा कुरा थियो भने, आफ्नो रगत सम्पूर्ण सकिएर, झण्डै ५० जनाको रगत लिएर सामान्य जीवनमा फर्किनु अर्को ठूलो चुनौती थियो, जुन चुनौती पार गर्न मलाई झण्डै २ बर्ष लाग्यो, जसको छुट्टै अर्को एउटा कथा बन्छ । यो चुनौतीपूर्ण अवस्थामा मेरो बुवा ममीले दिन रात नभनेर, जुन किसिमले मेरो सेवा गर्नुभयो, त्यसको म सधैं ऋणी हुनेछु ।
अन्तमा,
हामीले यो बुझ्न जरुरी छ कि, यो जगत हाम्रो लागि मात्र होइन, समस्त प्राणी जगतको लागि हो । हो हाम्रो पनि अधिकार छ, तर हामीलगायत सम्पूर्ण प्राणीहरुको पनि उत्तिकै अधिकार छ । मानव यस्तो प्राणी हो, जो आफ्नो विलासिताको लागि अन्य प्राणीहरुको बध गर्ने गर्छ, जबकि अरु प्राणीहरु आफू बाँच्नको लागि मात्र अरुको सिकार गर्ने गर्दछन् । हामी रहेनौँ भने पनि यो जगतलाई केही फरक नपर्ला, बरु झन आनन्दमय बन्ला । तर यदि केही गरी अन्य जीवजन्तुको अन्त्य भयो भने हामी मानव जातिको विनाश शुनिश्चित छ । त्यसैले यो लकडाउनको समय भनेको हामीलाई शान्त तवरले यो सबैकुराको अनुभूति र मनन गर्ने समय पनि हो । प्रकृतिले हामी मानव जातिलाई भनिरहेको छ, “हे मानव, अरुको पीडा बुझ र त्यही अनुरुप जीवनशैली बदल ।” यो स्थितिमा हामी कत्तिपनि हतोत्साहित नभइ, आफ्नो मनोबल बढाइ सरकारलाई साथ दिँदै सम्पूर्ण नियमहरुको पालना गरौँ । यसो हुँदा अवश्य पनि हामीले अहिले संसारभरि फैलिएको COVID-19 कोरोना भाइरसलाई परास्त गर्नेछौँ र पहिलेजस्तै सामान्य जीवनमा फर्किनेछौँ ।