महायज्ञको आम्दानी खर्च सार्वजनिक

गोरक्ष समाचारदाता
दाङ, १७ पुस । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर स्थित धार्मिक तथा ऐतिहासिक अम्बिकेश्वरी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले स्वागतद्वार निर्माणका लागि आयोजित श्रीमद् बाल्मिकी रामकथा नवाह महायज्ञबाट ३५ लाख ३८ हजार दुई सय १५ रुपैयाँ सङ्कलन भएको छ ।

अम्बिकेश्वरी मन्दिर संरक्षण तथा संवर्धन समितिको आयोजनामा गत असोज २८ गतेदेखि कार्तिक ६ गतेसम्म ९ दिन सञ्चालित महायज्ञमा कूल ४ सय २० जना दानदाताबाट सो नगद रकम सङ्कलन भएको सोमवार मन्दिर परिसरमा अम्बिकेश्वरी मन्दिर संरक्षण तथा संवर्धन समिति तथा महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् महायज्ञ मूल समारोह समिति संयोजक कुमुद पोख्रेलको अध्यक्षता तथा वडा नं. १८ का वडाध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरेर दानतर्फ ३४ लाख ७५ हजार एक सय २५ रुपैयाँ र शान्ति कलश बिक्रीबाट ६३ हजार ९० रुपैयाँ गरी ३५ लाख ३८ हजार दुई सय १५ रुपैयाँ सङ्कलन भएको आर्थिक सङ्कलन समिति संयोजक गोविन्द पौडेलले जानकारी दिए । उनका अनुसार महायज्ञमा विभिन्न २२ शीर्षकमा १७ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ ।

जसमा सबैभन्दा धेरै कलाकार पारिश्रमिक ६ लाख रुपैयाँ खर्च भएको छ भने टेन्टमा ५ लाख ४० हजार रुपैयाँ, पूजा सामग्रीमा एक लाख ३० हजार ४ सय ५५ रुपैयाँ, फ्रेम खरिदमा ७८ हजार एक सय ८० रुपैयाँ, पण्डित दक्षिणा ८५ हजार रुपैयाँ, कलश खरिदमा ४९ हजार ४ सय ३४ रुपैयाँलगायत आवश्यक शीर्षकमा खर्च भएको आर्थिक समिति संयोजक पौडेलले आम्दानी खर्च भएको जानकारी दिए । महायज्ञमा सङ्कलित आम्दानीबाट सबै खर्च कटाएर हाल १७ लाख ६३ हजार दुई सय १५ रुपैयाँ बचत भएको पनि सो अवसरमा जानकारी गराइएको थियो । सो रकम मन्दिर व्यवस्थापन समितिको घोराही स्थित कुमारी बैंकमा रहेको खातामा दाखिला गरिएको पनि उनले बताए ।

अम्बिकेश्वरी मन्दिरको प्रचारप्रसार गर्न र यसको धार्मिक, सांस्कृतिक महत्वबारे जानकारी गराउँदै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सञ्चालित महायज्ञबाट उठेको रकमबाट अब तत्कालै काम थालनी हुने बताइएको छ । मितेरी अस्पताल नजिक मन्दिरको भव्य स्वागतद्वार निर्माण गर्न मन्दिर व्यवस्थापन समिति सल्लाहकार नारायणप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । सो अवसरमा, वडाध्यक्ष अर्यालले अम्बिकेश्वरी मन्दिरको विकासका लागि वडा र पालिकाको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । मन्दिरको गरिमालाई माथि उठाउन सबै जुटेर अघि बढ्न पनि अपिल गरे ।

यसैगरी अम्बापुर खानेपानी संस्थाका अध्यक्ष बासुदेव रिजालले दाताको आस्था र विश्वास कायम राख्न लक्षित काम तत्काल थालनी गर्न सुझाव दिए । स्थानीय महेन्द्र खनालले मनकारीलाई भोलिका दिनमा पनि सहयोग गर्न चाहेमा सहयोग गर्ने वातावरण बनाइराख्न सुझाव दिए । पत्रकार सम्मेलनको सहजीकरण मन्दिर व्यवस्थापन समिति सचिव दामोदर भुसालले गरेका थिए ।