गोरक्ष समाचारदाता
दाङ, १७ पुस । लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरले अहिलेको शिक्षा प्रणालीमा सुधारको आवश्यक रहेको बताएका छन् । घोराही उपमहानगरपालिका–१४ स्थित गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलको २६औँ अभिभावक दिवस एवम् वार्षिकोत्सवलाई सम्बोधन गर्दै सभामुख घर्तीले वर्तमान शिक्षा प्रणालीमा सुधार गर्दै पढेका युवायुवतीलाई पढिसकेपछि स्वदेशमै केही गर्ने ज्ञान दिने शिक्षा आवश्यक रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद घर्तीको अध्यक्षतामा भएको वार्षिकोत्सवमा उनले अहिलेको शिक्षा सिद्धान्तमा मात्रै सीमित हुँदै गएको बताए । ‘हामीले सङ्घीय सरकारको शिक्षा ऐन पर्खिरहेका छौँ । सङ्घीय शिक्षा ऐनको गाइड लाइनमा टेकेर प्रदेश शिक्षा ऐन बनाउने तयारीमा छौँ, यो विषय हामी सबैले महसुस गरिरहेको विषय हो, यसमा सबै गम्भीर हुनै पर्ने बेला भएको छ । राज्यको नीति निर्माण तहदेखि घरपरिवार, अभिभावक, टोल, समाजको पनि उत्तिकै सकारात्मक भूमिका आवश्यक छ’, उनले बताए ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका केन्द्रीय सचिव यादव गिरीले शिक्षा क्षेत्रमा निजी विद्यालयको ठुलो योगदान भए पनि राज्यले मूल्याङ्कन गर्न नसकेको बताए । शैक्षिक उन्नयनका लागि पूर्वाधार विकास, विद्यार्थीमैत्री वातावरण, शैक्षिक सुधारका लागि लगानी र योगदान भए पनि राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण विभेदकारी रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका सूचना अधिकारी नारायण पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीलगायतले बालबालिकालाई राम्रो बनाउँदै रचनात्मक र सिर्जनशील बनाउन खेलेको भूमिकामा अभिभावकको पनि साथ हुनु पर्ने बताएका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल मानबहादुर घर्तीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा मनोसामाजिक विमर्शकर्ता पुरुषोत्तम गौतम, लागूऔषध नियन्त्रण अभियन्ता तथा गोरखा आइडियल स्कुल लालमटियाका प्रिन्सिपल बसन्त पुनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गोरखा ग्रुपका प्रमुख प्रशासकीय अधिकृत नवलसिंह जिएमले स्थापनाकालदेखि हालसम्मको शैक्षिक अवस्थाबारे जानकारी गराएका थिए । गोरखा मावि घोराहीमा २८ सय विद्यार्थी अध्ययनरत छन् । कार्यक्रमको सहजीकरण शिक्षकद्वय शोभाकर पन्थी र थम्मन बस्नेतले गरेका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य, नाटकसँगै विद्यार्थीले निर्माण गरेका चित्रकला, विज्ञान सामग्रीको प्रदर्शनी गरिएको थियो ।