ठाकुरबाबामा शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम

बर्दिया । बर्दियामा बिषयगत शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । कोभिड–१९ का कारण बालबालिकाको शिक्षण–सिकाईमा पर्न गएको असर कम गर्ने तथा शैक्षिक गुणस्तर बढाउने उद्देश्यले उपचारात्मक कक्षा सन्चालनका लागी तालिम प्रदान गरिएको हो ।

मंसिर २८, २९ र ३० गते तीन दिनसम्म चलेको तालिममा ठाकुरबाबा नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा बिषयगत शिक्षकहरुको सहभागीता रहेको थियो ।
तालिमको पहिलो चरणअन्तर्गत मंसिर २८ गते ठाकुरबाबामा रहेका सामुदायिक बिद्यालयका सम्पूर्ण प्रधानाध्यापकहरुलाई पहिलो दिन तालिम प्रदान गरिएको थियो भने दोस्रो चरण अन्तर्गत ठाकुरबाबामा रहेका सामुदायिक बिद्यालयका बिषयगत शिक्षकहरुलाई २ दिने क्षमता अभिबृद्धि तालिम दिइएको हो ।

तालिम प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सन्चालित बालिका सशक्त परियोजना तथा ठाकुरबाबा नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखा सैनवार बर्दियाको सयुक्त लगानी तथा आयोजनामा गरिएको थियो । तालिमको सहजीकरण ठाकुरबाबा नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख सीता कुमारी भण्डारी तथा बिषयगत प्रशिक्षकहरुले गरेका थिए ।

यसका अतिरिक्त रियल प्लानअन्तर्गत तेस्रो चरणका अनुगमन मुल्याङ्कण समीक्षा तथा पुनर्ताजगी तालिमहरु प्लान इन्टरनेशनल नेपाल÷आरकेजेएसको साझेदारीमा सन्चालित बालिका सशक्त परियोजना र ठाकुरबाबा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको संयुक्त साझेदारीमा २०८१ असार १५ गतेसम्म नियमित रुपमा सन्चालन गरिने छ ।