आत्महत्याको तथ्याङ्क भयावह, निरुत्साहन जरुरी

गोरक्ष समाचारदाता
दाङ, १४ पुस । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले दाङमा आत्महत्या दर भयावह बन्दै गएको देखाउँछ । गत ५ महिनाको अवधिमा ९९ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रस्तुत गरेको प्रहरीले यसलाई आत्महत्याको उच्च दर भनेको छ । प्रहरीका अनुसार गत वर्षदेखि आत्महत्याका घटनामा अस्वाभाविक वृद्धि भइरहेको देखिन्छ ।

प्रहरीले आत्महत्या हुनुका विभिन्न कारणहरू केलाएको छ । यीमध्य डिप्रेसन यसको प्रमुख कारण प्रहरीले भनेको छ । ‘डिप्रेसनका कारण आत्महत्या गर्नेहरू बढी देखिएका छन्’, जिल्ला प्रहरी कार्यालय दाङका डिएस्पी एवम् प्रवक्ता जनकबहादुर मल्लले भने, ‘यी लगायत अन्य विभिन्न विषयहरू यसका कारणका रूपमा जोडिएका छन् ।’ प्रहरीले आत्महत्या घटना नियन्त्रणका लागि चुनौती रहेको बताउँछ ।

कसरी रोक्न सकिन्छ आत्महत्या ? मानसिक रोग विशेषज्ञ डाक्टरले आफ्नो सहज दैनिक जीवनयापन महसुस नै प्रमुख उपायका रूपमा अथ्र्याउँछन् । मानसिक रोग विशेषज्ञ डा. अरविन्द भुसालले आत्महत्याको प्रमुख कारण अहिले डिप्रेसन नै रहेको बताउँछन् । कुनै न कुनै मानसिक समस्याका कारण डिप्रेशनमा पुग्ने र अन्त्यमा आत्महत्याको बाटो रोज्ने गरेको देखिएको डा. भुसालले जानकारी दिए । ‘आफूले केही गर्न नसकेको भनेर मानसिक रूपमा समस्या भएको मान्छे डिप्रेसनमा पुग्छ अनि उसले आत्महत्याको गलत बाटो रोज्छ’, डा. भुसालले भने, ‘अहिलेका घटनाक्रमलाई हेर्ने हो भने डिप्रेसनकै कारण आत्महत्या गर्ने बढी देखिएका छन् ।’ यसका लागि हरेक नागरिकले आफ्नो दैनिकीलाई सहज बनाउनु पर्ने उनको भनाइ छ । हरेक व्यक्तिमा ठुला इच्छा हाबी हुने र ती इच्छा आकाङ्क्षा पूरा नहुँदा मानसिक समस्या भई डिप्रेसनको शिकार बन्ने गरेका विभिन्न उदाहरण रहेको डा. भुसाल बताउँछन् तर आफ्नो अवस्थामै आफूलाई शान्त पार्न सकेको खण्डमा मानसिक समस्या नहुने उनको भनाइ छ ।

‘आफ्नो दैनिक जीवनयापन जस्तो छ त्यही अवस्थामै आफूलाई रमाउन सिक्नु पर्छ’, डा. भुसालले भने, ‘तर अहिले विभिन्न प्ल्याटफर्ममा देखिने अरूको प्रगतिका कुराहरूले अरूलाई विक्षिप्त बनाउँदै मैले चाहिँ केही गर्न सकेन भन्ने सोँच हाबी भइदिन्छ अनि मान्छे मानसिक रोगको शिकार बन्दै डिप्रेसनमा पुग्छ ।’ डिप्रेसनपछि लागूऔषध सेवन आत्महत्याको अर्को प्रमुख कारण रहेको डा.भुसाल बताउँछन् । लागूऔषध सेवनले मानसिक समस्या पार्ने र यसले नागरिकलाई अप्रत्यासित निर्णय गर्न बाध्य गराउने उनले बताए । यसर्थ आत्महत्या रोक्नका लागि लागूऔषध दुव्र्यसनी रोकिनु पर्ने डा. भुसाल बताउँछन् । ‘लागूऔषध सेवन गरेको मान्छेको मानसिकता पोजेटिभभन्दा नेगेटिभप्रति बढी केन्द्रित हुन्छ’, डा. भुसालले भने, ‘यो बेला मान्छेले अप्रत्यासित निर्णय लिने बढी खतरा रहन्छ, यसर्थ लागूऔषध दुव्र्यसन रोक्नका लागि परिवारदेखि सिङ्गो समाज नै सचेत बन्नु पर्छ ।’

यसैगरी एकपटक आत्महत्या प्रयास गरेकाले आत्महत्या गर्ने खतरा उच्च रहन्छ । फलतः परिवारका सदस्यले यस्ता व्यक्तिलाई सम्भावित यो खतराबाट जोगाउन मानसिक रूपमा थप दबाब पार्ने काम गर्नु हुँदैन । ‘एकपटक आत्महत्याको प्रयास गरेकाले अर्को पटक पुनः यो प्रयास गर्ने उच्च खतरा रहन्छ’, डा. भुसालले भने, ‘यस्ता व्यक्तिलाई थप मानसिक रूपमा कमजोर पार्नु हुँदैन, यस्ता व्यक्तिलाई उच्च मनोबल कायम गरिदिनु पर्ने दायित्व उसको परिवारको रहन्छ ।’ यसैगरी आत्महत्या गरेका घरका परिवारका सदस्यले पनि आत्महत्या गर्न सक्ने जोखिम रहने डा. भुसालले जानकारी दिए । ‘परिवारका कुनै सदस्यले आत्महत्या गरेको भए त्यो परिवारको अर्को सदस्यले पनि आत्महत्या गर्न सक्ने जोखिम रहन्छ’, डा. भुसालले भने, ‘यसर्थ यस्तो परिवारका सदस्यको मनोबल खस्किने खालका कुनै पनि गतिविधि गरिनु हुँदैन ।’

उनका अनुसार लामो समयसम्म मानसिक तनावमा रहने र आफूमा आएको समस्या अरू कसैलाई पनि नभन्ने समस्याले पनि आत्महत्याको निर्णयमा पु¥याउँछ । फलतः मानसिक समस्यामा रहेकाले आफ्ना परिवारका सदस्य वा निकटस्थलाई समस्याबारे सुनाउनु पर्ने डा. भुसालले बताए । लामो समयसम्म मानसिक पीडामा रहेका नै आत्महत्याको निर्णयमा पुग्ने गरेका घटना बढी रहेको भन्दै उनले अकस्मात आत्महत्याको निर्णय लिनेको सङ्ख्या भने न्यून रहने उनले बताए । ‘लामो समयसम्म मनमा पीडा साँचेर बस्ने, अरू कसैलाई पनि समस्या नसुनाउनेहरू अन्ततः डिप्रेसनमा गएको देखिन्छ र यो बेलामा आत्महत्याको निर्णयमा पुग्ने गरेको देखिन्छ’, डा. भुसालले भने, ‘तर अकस्मात आत्महत्याको निर्णय गर्नेको सङ्ख्या थोरै हुन्छ ।’

यसैगरी डिप्रेसनमा रहेका बिरामीले नियमित औषधी गर्न नमान्ने भएका कारण पनि दुर्घटना निम्तने गरेको देखिन्छ । केहीले औषधी सुरु गरे पनि बिचमै छोड्ने गरेका कारण समस्या निम्तिएको हुन्छ भने केहीले औषधी सेवन नै गर्न नचाहने भएकाले पनि उनीहरूलाई डिप्रेसनले आत्महत्याको निर्णयसम्म पु¥याउने गरेको डा. भुसालले जानकारी दिए । ‘डिप्रेसन भएपछि नियमित औषधी सेवन गर्नु पर्छ, कतिपयले बिचमै औषधी छोड्ने गरेको पाइन्छ, यसले पुनः समस्या निम्त्याउँछ र दुर्घटना निम्तिएका उदाहरण पनि छन्’, डा. भुसालले भने, ‘केहीले त जीवनभर के औषधी खानु ? भनेर औषधी नै खान नमान्ने गरेका कारण समस्या निम्तन्छ तर मानसिक समस्या हुनासाथ जोसुकै बिरामी पनि चिकित्सकको सरसल्लाह अनुसार निर्णय लिनु पर्छ, होइन भने समस्या निम्तने खतरा हुन्छ ।’

दाङ सहित लुम्बिनी प्रदेशमै आत्महत्याको रूप डरलाग्दो रहेको प्रदेश सरकार बताउँछ । यो प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले मानसिक समस्याका कारण प्रदेशमा आत्महत्याको दर उच्च रहेको भन्दै यसको न्यूनिकरणका लागि चुनौती रहेको विहीवार घोराहीमा आयोजित एक कार्यक्रममा धारणा राखे । फलतः प्रदेश सरकारले आत्महत्या रोकथामका लागि कार्ययोजना समेत बनाएको छ । कार्ययोजना अनुसार मानसिक समस्या न्यूनिकरण र आत्महत्या रोकथामका लागि सचेतना कार्यक्रम गर्ने भनिएको छ । सोही कार्ययोजना अनुसार कार्यक्रम गर्न दाङ प्रहरी पनि लागिरहेको छ ।

जिल्लामा आत्महत्याको दर बढ्दै गइरहेको भन्दै प्रहरीले स्थानीय तहमार्फत् टोलसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएस्पी मल्लका अनुसार यो कार्यक्रम गर्न जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्माको संयोजकत्वमा एक समिति समेत निर्माण गरिएको छ । ‘प्रत्येक स्थानीय तहमार्फत् टोल–टोलमा यस्ता कार्यक्रम गर्नका लागि जिल्ला समन्वय समितिका संयोजकज्यूको संयोजकत्वमा समिति बनाइएको छ’, डिएस्पी मल्लले भने, ‘सबै स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतज्यूहरूसंग बैठक राखेर कसरी कार्यक्रम गर्ने भन्ने निर्णय लिने छौँ अनि सोही अनुसार टोल तहमा पुगेर आत्महत्या नियन्त्रणका कार्यक्रम चलाउने छौँ ।’ यो कार्यक्रम सञ्चालनका लागि मानसिक रोग विशेषज्ञ डाक्टर तथा मानसिक परामर्शदाताको व्यवस्थापन गरेर सचेतनामूलक कार्यक्रम गर्ने तयारी प्रहरीको छ ।

उनका अनुसार जिल्लामा डिप्रेसनका कारण आत्महत्याका धेरै घटना भएका छन् । विशेष गरी युवा उमेर समूहका नारिकमा यो समस्या देखिने गरेको छ । आफूले चाहेको वा इच्छ्याएको चिज प्राप्त नहुँदा डिप्रेसनमा पुगेको र आत्महत्याको निर्णयमा पुग्ने गरेका घटना जिल्लामा बढी छन् । यसैगरी प्रेममा असफलता, दीर्घ रोगलगायतका समस्या आत्महत्यासँग जोडिएको प्रहरी बताउँछ । पाँच महिनाको अवधिमा ९९ जनाले आत्महत्या गरेको जिल्लामा एक सय ६३ जनाले आत्महत्या प्रयास गरेका छन् ।