बंगलाचुली–६ का विभिन्न बस्तीमा विद्युत बिस्तार 

दाङ,९ पुस । लामोसमयपछि बंगलाचुली गाउँपालिका–६ का आधा दर्जन बढी बस्तीहरुमा बत्ती पुगेको छ । नेपाल विद्युत प्राधिकरणको करिव ७० लाख बजेटमा टोट्ने खेलादेखि चिउरीडाडाँ हुँदै आरुगैरा, खमारी,सोती खोला, ठुलाचौर, भित्रीखोला, बारेगौरा र ठाटीलगायतका बस्तीहरुमा विद्युत विस्तार भएसँगै स्थानीयहरुको बर्सौदेखिको बत्ती बाल्ने चाहना पुरा भएको हो ।

गाउँमा बस्ती पुगेपछि रातीको समयमा काम गर्ने,बालबालिकालाई पढ्नसँगै मोवाइल चार्ज गर्नलगायतका काममा सहजता भएको वडा अध्यक्ष डोमबहादुर केसीले बताएका छन् । ‘बत्ती नहुँदा स्थानीयलाई रातको समयमा केही काम गर्नसँगै विद्यार्थीलाई पढ्न समस्या थियो’,उनले भने,‘विद्युत विस्तारसँगै स्थानीयलाई सहजता भएको छ ।’ गाउँमा बत्ती नहुँदा हुने सोलार राखेर बत्ती बाल्ने गरेका थिए भने आर्थिक रुपमा विपन्न परिवार मट्टि तेलले बत्ती बाल्न बाध्य थिए ।

घरघरमा बत्ती पुगेपछि तरकारी खेती, कुकुरा पालन गर्न समेत स्थानीयलाई सहजता हुने भएको छ । ‘गाउँमा बत्ती नहुँदा केही गरौ भने पनि गर्न सक्ने अवस्था थिएन । मोवाइल चार्ज गर्न समेत सोलार जडान गरेका घर खोज्नुपर्ने र नभए अर्काे गाउँमा पुग्नुपर्ने बाध्यता थियो’,स्थानीय खिमबहादुर घर्तीले भने,‘अहिले गाउँमा बत्ती आएपछि अव अर्का घर गएर मोवाइल चार्ज गर्नुपर्ने बाध्यता हट्नेछ ।’

गाउँमा बत्ती पुगेपछि वडा अध्यक्ष डोमबहादुर केसी, वडा सदस्य चुडामणि खत्री, आधारभुत विद्यालय चिउरीडाँडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुपबहादुर खत्री, नेपाल विद्युत प्राधिकरणका कर्ण बुढालगायतको सहभागीतामा वडा अध्यक्ष केसीले स्थानीयवासीको घरमा बत्ती बालेर विद्युतको सुभारम्भ गरेका थिए ।

यो भन्दा पहिले सोही वडाको सिउडे र अमारे पनि करिब १६० घरमा पनि बिधुत बिस्तार गरिएको थियोे ।