गोरक्ष समाचारदाता
दाङ, ८ पुस । निजी विद्यालयहरूको सङ्गठन प्याब्सन नगर कमिटिद्धारा आयोजित दोस्रो घोराही प्वाब्सन रनिङ शिल्ड प्रतियोगिता शनिवार घोराहीको भरतपुर खेल मैदानमा सुरु भएको छ । घोराही उपमहाननगरपालिकाका ४८ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि नित्यानन्द शर्माले गरेका छन् ।
प्रमुख अतिथि शर्माले खेल प्रशिक्षकलाई खेल सामग्री हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरे । उद्घाटन मन्तव्यका क्रममा प्रमुख अतिथि शर्माले खेललाई विद्यार्थीहरूको दैनिकीसँग जोडेर यसलाई शिक्षाको एउटा अभिन्न अङ्गका रूपमा स्थापित गर्न सबैलाइ आग्रह गरेका छन् । खेल नैतिकता, अनुशासन, राष्ट्रियता, स्वास्थ्य तथा मनोरञ्जनसँग पनि जोडिएको विषय भएकाले हरेक विद्यालयले खेललाई अतिरिक्त क्रियाकलापका रूपमा अनिवार्य सम्बोधन गर्न आग्रह गरे । ‘हामीलाई थाहा छ, दाङ जिल्ला आफैमा खेलको उर्वर भूमि हो, यसले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेत उत्पादन गरिसकेको छ, यो गौरवलाई निरन्तरता दिनु सबै विद्यालयको सामूहिक दायित्व हो’, प्रमुख अतिथि शर्माले भने ।
कार्यक्रमलाई सम्वोधन गर्दै उनले जनप्रतिनिधिहरू पनि खेल क्षेत्रको विकासमा लाग्न आग्रह गरे । अहिले सरकारी जग्गा भूमिहीनका नाममा हुकुमवासीलाई दिने अभ्यास भइरहेको उल्लेख गर्दै एक वडा एक खेलमैदान निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे । ‘जिल्लामा खेल क्षेत्रका पूर्वाधार निर्माण भइरहेका छन्, बेलझुण्डी रंगशालामा आधुनिक सेन्थेटिक्स ट्र्याक सहितको खेल मैदान होस् वा लमहीको स्तरीय खेल मैदानलगायत धेरै खेल संरचना निर्माण भएका छन् तर त्यहाँ नियमित अभ्यासको अभाव देखिएको छ’, प्रमुख अतिथि शर्माले भने, ‘यसमा हरेक क्षेत्रका खेल प्रशिक्षक क्रियाशील हुन आवश्यक छ ।’ साथै उनले निजी होस् वा सामुदायिक हरेक विद्यालयमा एक जना खेलकुद शिक्षक व्यवस्थापन गरेर खेलप्रेमी विद्यार्थीको क्षमता उचो बनाउँदै लैजान आग्रह गरे ।
प्याब्सन घोराही उपमहानगर कमिटीका अध्यक्ष वीरेन्द्र चन्दको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिँदै नेशनल प्याब्सनका केन्द्रीय सचिव यादव गिरीले निजी विद्यालयले खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै स्थानीय सरकारले पनि खेल क्षेत्रमा बजेट विनियोजन गर्दा निजी र सामुदायिक विद्यालयमा भेदभाव नगर्न आग्रह गरे । शुभकामना मन्तव्यकै क्रममा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका संयोजक तथा वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेले घोराही उपमहानगरपालिकाले सामाजिक विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै हरेक विद्यालयमा खेलकुदलाइ दैनिकीसँग जोड्ने प्रयास भइरहेको उल्लेख गरे । शुभकामना व्यक्त गर्दै घोराही उपमहानगरपालिका—१५ का अध्यक्ष रमेश पाण्डेले निजी तथा सामुदायिक विद्यालयले खेलसँगै पछिल्लो समयमा बढ्दै गएको लागूऔषधको दुव्र्यसनी न्यूनिकरणमा पनि विशेष ध्यान दिन आग्रह गरे ।
प्याब्सन घोराहीका नगर उपाध्यक्ष सूर्यबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा खेलकुद विकास समिति घोराही संयोजक नरेन्द्र पुन, शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्यलगायतले प्रतियोगिताको पूर्ण सफलताको कामना गरेका थिए । प्रतियोगिता सुरु हुनु अघि सहभागी ४८ विद्यालयका खेलाडीले विभिन्न भेषभुषामा मार्चपास गरेका थिए । ती मार्चपासको मूल्याङ्कन गर्न एथलेटिक्स प्रशिक्षक पद्मा चौधरी, प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसी र शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्यलाई जिम्मा दिइएको थियो । मूल्याङ्कन टोलीले मार्चमासमा उत्कृष्टका नामावली प्रकाशन गरी उनीहरूलाई पुरस्कृत समेत गरिने बताइएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कवड्डीलगायत २८ विधा समावेश हुने छन् । पुस १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन एक सय मिटिर र १५ सय मिटर दौड प्रतियोगिता सुरु भएको छ ।