देखिएनन् आशाका किरण

के.पी सुवेदी
प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गर्दै निर्वाध, निर्विघ्न सरकार चलाएको एक वर्ष भयो । उनीहरुको भनाइमा महान क्रान्तिको नेतृत्व गर्दा प्रचण्डले प्रयोग गरेका शब्दहरु अहिले विस्तारै विस्मृतिको खाडलमा धकेलिँदै छन् । सरकारमा जाँदै गर्दा प्रचण्डले जुनप्रकारको अनैतिक बाटो अपनाएको भए पनि, निर्वाचनमा साथै रहेर मत परिवर्तनको सहमतिलाई स्वीकार गर्नुको सट्टा जसरी पनि सरकारको नेतृत्व गरिछाड्ने विचारले साझेदारलाई धोका दिए ।

तैपनि उनका धोकावाजीलाई यति सजिलै क्षमा गरेर संसद्मा तेस्रो दलको हैसियतमा रहेको दलको नेतृत्व स्वीकारर्न ठुला दलहरु तयारै भए । अरु दुईवटा दलको तुलनामा एकतिहाइ सदस्य सङ्ख्या हुँदा पनि सरकारको नेतृत्व गरेर एक वर्ष चलाउँदा एउटा ऐतिहासिक अवसर नै प्राप्त गरेका थिए । ठुला दुई दलहरुमा एकले अर्कालाई मुख्य प्रतिद्वन्द्वी मान्दै आएको परिस्थितिमा दुई दलको बिचमा खेल्ने खेलाडी बन्न सफल भयो । यो सफलतालाई ऐतिहासिक चुनौती सम्झेर आफ्नो राजनीतिक भविष्य निर्माणको अवसरको रुपमा लिनु पथ्र्यो ।

प्रचण्डले प्रयोग गर्ने विकासमा छलाङ् लगाउने यो भन्दा सुनौलो अवसर प्रचण्डलाई फेरि पनि प्राप्त हुने कल्पना नगरे हुन्छ । किनभने एक युगमा एक दिन त्यस्तो युग हुन सक्छ जो इतिहास लेख्ने अविष्मरणीय दिन हुन सकोस् । त्यसकारण अब प्रचण्डबाट चमत्कार हुन्छ भन्ने भ्रम पाल्ने अन्धानुयायी केवल भजनलाल हुन् । यो एक वर्षको निष्फल सत्तासवारले आर्थिक विकासमा चमत्कार हुने अपेक्षा सधैँका लागि समाप्त भएको छ ।

संसद्वादको भण्डाफोर गर्दा गर्दै त्यसैमा डुबेर बुर्जुवा रवाफ देखाको प्रचण्डलाई थाहा नै भएन । यतिबेला उनीहरुको वर्गीय परिचय के हो भन्नेमा निकै ठुलो बहस चल्दै छ । नातिनीको विवाहको भोजमा मात्र करोड बढीखर्च भएको चर्चाले उनीहरुको व्यवहारमा जनवादिता समाप्तिकै चरणमा पुगेको अनुमान गर्न सकिन्छ र प्रचण्डले सरकारको नेतृत्व गरेको वर्ष विकास कुण्मोडलमा भएछ र कत्रो छलाङ लगाएका रहेछन् भन्ने थाहा हुँदै छ । यो मुलुकको विकास गर्न केले रोकेको छ भन्ने प्रचण्डले अब थाहा पाउन किन प¥यो र ? अहिले प्रचण्डको एकवर्षे कार्यकाल, उनको वरिपरिका र नजिककालाई पद र पैसाको कमी हुन नदिने प्रतिबद्धता गरिरहेका छन् ।्

कहाँ गयो हिजो मान्छेका परिवार उजाड्दा गरिएका अग्रगामी छलाङका ठुल–ठुला भाषणहरु ? आज त सबै छताछुल्ल भइसक्यो, यिनीहरु निकम्मा र विवेकीय शून्यताको उदाहरण बनिसके । जतिखेर यिनीहरु जबर्जस्ती जनताको जिउधन लुटिरहेका हुन्थे, त्यसबेला पनि भ्रष्टाचार लुटेको धनमा पनि गरिरहेका थिए भन्ने प्रमाण छरपष्ट भइसक्यो । गरिबका छोराछोरीका कलम खोसेर जङ्गलमा परेड खेलाउँदा माओवादी नेताका छोराछोरी अमेरिका र बेलायतका विद्यालयमा पढ्थे । पछि जब उनीहरु सार्वजनिक जीवनमा आइसकेपछि थाहा हुँदै गयो । कहाँबाट आउँथ्यो सर्वहाराका छोराछोरीले विदेशका महँगा स्कुलमा पढ्ने पैसा ? अनियमितताको भूमरीमा रमाउने मोडेल पात्र प्रचण्डलाई लिनु पर्ने देखियो । ३५ वर्ष भयो अरे प्रचण्डले युद्धदेखि शान्ति हुँदै काण्डहरुको नयाँ–नयाँ शृङ्खला चलाउँदा युवाहरु देश छोड्न सुरु गरेका थिए र उनकै नेतृत्वमा सत्ताको बागडोर थमाइदिए पनि केही गर्न खोजेको जस्तो यो एक वर्षले देखाइ सक्यो ।

मुलुकलाई पछाडि पार्नुमा कसको कति योगदान रहेको छ ? भनेर खोजी गर्ने माओवादी कति सक्षम छन् ? भन्ने पहिलो पटक सरकारको नेतृत्व गर्दा देखिसकेको हो । त्यसको पहिलो जिम्मेवारी उनीहरुकै देखेर जनताले उनीहरुको हैसियत देखाइदिएकै हुन् तर किन कसैलाई उनीहरुको पुनरागमन चाहियो ? समयले यसको पनि जवाफ अवश्य लिने छ । किनभने हाम्रो समाजलाई सामाजिक, सांस्कृतिक सद्भाव सबैभन्दा पहिले माओवादीले विथोलेको हो । लोकतान्त्रिक अभ्यासमा पहिलोपटक अङ्कुश माओवादीले लगाएको हो । उनीहरुले आजभोलि खुबै भन्ने गर्छन् ‘बोल्ने अधिकार माओवादीले दिलाएको हो ।’ यसको सत्यता के हो भन्ने कसैले उच्चारण नगरिदिँदा प्रखर लोकतान्त्रिक शक्तिको दाबी गरिरहेका छन् ।

के सत्य हो त यिनीहरु लोकतन्त्रका सच्चा अनुयायी हुन् ? यिनीहरुको वितण्डा देशभर चल्ने बेला फरक विचारको अस्तित्व स्वीकार गर्ने गर्थे ? भिन्न विचार, भिन्न–भिन्न संस्कार निषेध गरेको आजै सबैले बिर्सेको होइन ? तर यसबारे मौन बसिदिँदा सत्य–तथ्य विस्तारै ओझेल पर्ने छ । के बाध्यता छ, अरुलाई यस्तो असत्यको प्रतिवाद गर्नै नहुने ? कसैलाई क्षम्य हुन असम्भव अपराध पनि उनीहरुका लागि क्षम्य भएर नै सत्ताको नेतृत्व गर्ने अवसर प्राप्त हुन सकेको हो । शिक्षा, स्वास्थ्य, रोजगारी सबै क्षेत्रमा बेथिति मौलाएको छ । यिनीहरुबाट सुधारको अपेक्षा हुन्थ्यो भने यिनै तीन कुरालाई प्राथमिकता दिनु पर्ने थियो, त्यहाँबाट बस्ने थियो विश्वासको जग ।

जिम्मेवार तहमा बसेर गैह्रजिम्मेवार अभिव्यक्ति दिनेलाई सधैँ छुट दिने, क्षमा दिने गरिरहँदा अराजकता बढेर हाम्रो प्रणाली ध्वस्त हुने खतरामा छ । प्रचण्डले सुदन किराँती जस्तालाई जिम्मेवारी थप्दै गए भने व्यवस्थाको विरुद्धमा उठ्ने स्वरहरुमा तागत बढ्दै जाने पक्का छ । माओवादीले मुलुकलाई अग्रगति दिने रटनामा जति असत्य र गैह्रजिम्मेवार अभिव्यक्ति दिँदै जान्छ त्यति आम नागरिकलाई जिस्क्याउने गरेको ठानिने छ । कुनै धर्म, कुनै जाति विशेषलाई उक्साएर क्षणिक लाभ हुन सक्छ तर त्यस्तो आत्मरतिमा रमाउनेले जनताको अपेक्षा सम्बोधन गर्न सम्भव छैन ।

नैतिकता बोध गरेको कहिल्यै देखिएको छैन तर जथाभावी बोलेर अरुको भावनाको अनादर गर्ने विशेषाअधिकार कसैलाई छैन । असक्षम व्यक्तिहरुलाई ठुलो जिम्मेवारी दिँदा अहङ्कार बढेर अरुलाई देख्न छोड्छ भनिन्छ । अहिले विकास ठप्प प्रायः छ । यो सरकार रहेसम्म व्यवस्था र अवस्था दुवै ऋणात्मक हुने देखियो ।