यादव गिरी
पाठ्यक्रम आफैमा निर्दिष्ट सिकाइ उपलब्धि हासिल गर्न बनाइएको व्यवस्थित र योजनाबद्ध शैक्षिक कार्यक्रम हो । रैथाने ज्ञान, सिप र अभिवृत्तिको विकासका लागि स्थानीय सरोकारवालाहरुको संलग्नतामा तयार गरिने पाठ्यक्रम स्थानीय पाठ्यक्रम हो । स्थानीय वस्तुस्थिति एवम् परिवेशको जगमा टेकेर स्थानीय स्रोत–साधन र सम्भावना समेतलाई आधार बनाएर निर्माण गर्न सकेमात्र स्थानीय पाठ्यक्रमले स्थानीय आवश्यकतालाई सम्बोधन गर्न सक्छ ।
स्थानीय पाठ्यक्रम
भौगोलिक, सामाजिक, आर्थिक, जैविक, सांस्कृतिक र धार्मिक रुपले विविधतायुक्त देश नेपाल हो । यस अवस्थामा केन्द्रीय तहबाट निर्माण गरिने पाठ्यक्रमले स्थानीय आवश्यकतालाई पूर्णरुपमा सम्बोधन गर्न सक्ने सम्भावना नै रहँदैन । देश विकासका विभिन्न पक्षमा सबै नागरिकको समान स्वामित्व र सहभागिता आवश्यक हुन्छ भन्ने स्थापित मान्यतालाई पनि स्थानीय पाठ्यक्रमले सम्बोधन गर्न सक्नु पर्छ । शिक्षा क्षेत्रको सन्तुलित र समुचित विकासका लागि स्थानीय रुचि, माग, विज्ञता र आवश्यकतालाई सम्बोधन गर्न स्थानीय सरोकारवालाको प्रत्यक्ष सहभागिता आवश्यक हुन्छ । स्थानीय पाठ्यक्रम निर्माणमा पनि स्थानीय सरोकारवालाको सार्थक सहभागिता आवश्यक ठानिन्छ ।
सार्वजनिक शिक्षाको विकास र विस्तारका लागि विभिन्न अभ्यास र अभियानहरु प्रयोगमा आएसँगै धेरैजसो स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माणलाई पनि उच्च प्राथमिकता दिएको देखिन्छ ।
कतिपय पालिकामा स्थानीय पाठ्यक्रम निर्माण भई प्रयोगमा समेत आइसकेको छ भने केहीमा बन्दै गरेको देखिन्छ । सम्भवतः यस शैक्षिक वर्षमा नै अन्तिम समय सीमा रहेको छ, स्थानीय पाठ्यक्रमको निर्माण तथा कार्यान्वयनका लागि । यो अवस्थामा कतिपय स्थानीय तहले त अन्यत्रै बनेको÷बनाइएको स्थानीय पाठ्यक्रमलाई हुबहु नक्कल गरी प्रयोगमा ल्याएको पनि देखिएको छ । यस्तो अवस्थामा स्थानीय आवश्यकता र स्थानीय परिवेशलाई स्थानीय पाठ्यक्रममा प्रतिविम्बन गर्न सकिँदैन । यस्तो ‘कपी पेस्ट’ पाठ्यक्रमले न त स्थानीय पहिचान स्थापित गर्न सम्भव हुन्छ न त स्थानीय सरोकरावालाले अपनत्व नै महसुस गर्न सक्छन् ।
सँगै कतिपय स्थानीय निकायमा स्थानीय पाठ्यक्रमलाई स्थानीय निकायको पर्यटन प्रवर्धनका लागि प्रयोग गरेका मात्र पाइन्छ । यसले पर्यटकीय प्रवर्धन त गर्ला तर अहिलेका शैक्षिक दक्षताको आवश्यकता पूरा गर्न सक्दैन । स्थानीय सरोकारवालाहरुसँग अर्थपूर्ण छलफल गरेर आवश्यकता पहिचानका आधारमा प्रविधिलाई समेत स्थानीय पाठ्यक्रममा समावेश गरी स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक हुन्छ । स्थानीय, स्रोत, सामग्री तथा लक्षितवर्ग र समुदायको आवश्यकता सम्बोधन गर्नका लागि भने स्थानीय सरोकारवाला, स्थानीय स्रोत–साधन र विज्ञतालाई सही ढङ्गले उपयोग गर्नु पर्ने हुन्छ । पाठ्यक्रम कार्यान्वयन गर्ने निकाय तथा व्यक्तिको संलग्नता र सहभागितामा पाठ्यक्रम विकास गरिनु पर्छ भन्ने सैद्धान्तिक मान्यतालाई पनि स्थानीय पाठ्यक्रम निर्माणमा आत्मसात गर्न वाञ्छनीय हुन्छ ।
आधारभूत पक्षहरु
स्थानीय पाठ्यक्रमले स्थानीय परिवेश र स्थानीय आवश्यकताका मूलभूत पक्षलाई आत्मसात गर्न सक्नु पर्छ । त्यसका लागि स्थानीय सरोकारवालाहरुको सार्थक सहभागिता चाहिन्छ । स्थानीय पाठ्यक्रम निर्माण गर्ने कार्य कुनै कोठामा बसेर विज्ञता ओकेल्ने प्रक्रियाजस्तो मात्र होइन न त अमूर्त सिद्धान्तको व्याख्या, विश्लेषण गर्ने प्रक्रिया हो । यो त स्थानीय सरोकारवालाहरुको चाहना, आवश्यकता र रुचिका आधारमा स्थानीय विषयवस्तु समेटेर तयार गरिने प्रयोगात्मक शैक्षिक योजना हो ।
स्थानीय पाठ्यक्रमको अर्को आधारभूत पक्ष भनेको स्थानीयस्तरको विषयवस्तु हो । स्थानीय विषयवस्तुको पाठ्यक्रम स्थानीय परिवेश सापेक्ष हुन्छ, हुनु पर्छ । स्थानीय समुदायमा आधारित, स्थानीय परिवेशमा आधारित ज्ञान, सीप, प्रविधि, अवधारणा, मूल्य–मान्यता र स्थानीय स्रोत–साधन तथा भौगोलिक, सांस्कृतिक, प्राकृतिक, जातिगत, भाषिक, कला, कौशलजस्ता विषयवस्तुहरु नै स्थानीय पाठ्यक्रमका विषयवस्तुहरु हुन् । यस्ता विषयवस्तुहरु कहीँ कतैको नक्कलभन्दा पनि स्थानीय परिवेशमा विद्यमान रहेको हुन आवश्यक हुन्छ ।
स्थानीय पाठ्यक्रमको अर्को महङ्खवपूर्ण आधारभूत पक्ष स्थानीय सहभागिता र विज्ञता पनि हो । स्थानीय परिवेशलाई स्थानीय सरोकारवालाहरुले नै सही ढङ्गले बुझ्न सक्छन् । यसमा स्थानीय विज्ञताको समुचित कदर गरिन्छ । किन पनि भने स्थानीय विज्ञताले स्थानीय परिवेशलाई समुचित ढङ्गले आत्मसात गर्न सक्छ । पाठ्यक्रम निर्माण र लेखन गर्ने काम एक प्राविधिक काम भएकाले पनि स्थानीय विज्ञहरुलाई समेट्न आवश्यक हुन्छ । पाठ्यक्रमका लागि चाहिने स्रोत–साधन, सूचना र सन्दर्भग्रन्थहरुको सङ्कलन, विश्लेषण र ती पक्षहरुलाई पाठ्यक्रममा समेट्ने दक्षताको कमी भयो भने स्थानीय पाठ्यक्रमले सही विषयवस्तु समावेश गर्न सक्दैन ।
अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको बदलिएको राजनीतिक मान्यता र प्रशासनिक संरचनामा माध्यमिक तहसम्मको शिक्षाको अधिकार संविधानतः स्थानीय तहको भएकाले स्थानीय तहले आफ्नो स्थानीय परिवेश र स्थानीय आवश्यकताको जगमा स्थानीय पाठ्यक्रम निर्माण गर्न सक्ने प्रावधान छ । यस प्रक्रियामा अभिभावक, स्थानीय समुदायमा रहेका विभिन्न पेसामा संलग्न व्यक्ति, विभिन्न सामाजिक संघसंस्थामा संलग्न व्यक्ति सबैको भूमिका महङ्खवपूर्ण हुन्छ नै ।
गैरसरकारी संघसंस्थाको सहयोग लिएर स्थानीय पाठ्यक्रम निर्माण गर्न सकिने भएकाले पनि सबैको साथ, सहयोग र विज्ञताको समुचित कदर गर्दै स्थानीय आवश्यकताका आधारमा स्थानीय तहमा स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने परिपाटीको विकास हुन थालेको सुखद अवस्था सिर्जना भएको छ, यतिखेर । विविधताको सम्मान गर्दै स्थानीय ज्ञान, सिप र प्रविधिको समान पहुँच र विस्तारमा टेवा पु¥याउन स्थानीय सरोकारवालाको सहभागिता, विज्ञता र स्रोत–साधन जरुरी हुन्छ ।
चुनौतीहरू
नेपालमा राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गर्नेक्रममा सरल र सहज तरिकाले स्थानीय तहको प्रतिनिधित्व हुन नसकेको परिवेश विद्यमान छ । फलस्वरुप शैक्षिक गुणस्तर विकासमा स्थानीय सरोकारवालाको उत्तरदायित्व र जिम्मेवारीबोध पर्याप्त मात्रामा भएको पनि छैन । स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम तथा नीति निर्माणका क्रममा स्थानीय तहका सरोकारवालाको अर्थपूर्ण सहभागिता हुने वातावरण तयार गरी लोकतान्त्रिक अभ्यासको एक असल नमुनाका रुपमा स्थानीय पाठ्यक्रमलाई विकास गर्न सके यसबाट अपेक्षित उपलब्धि हासिल हुन सक्छ ।
स्थानीय पाठ्यक्रमको आवश्यकता
स्थानीय मठमन्दिर, सांस्कृतिक सम्पदा, रहनसहन, स्थानीय माटो, बाटो, पाटीपौवा तथा हावापानी, चालचलन आदिबारे यथोचित जानकारी गराई आफ्नो जन्मभूमि तथा स्थानीय स्थानप्रति सिकारुलाई ‘केही गरौँ’ भन्ने भावनाको विकास गराउन पनि स्थानीयस्तरमा पाठ्यक्रम निर्माण गर्न आवश्यक छ । स्थानीय पाठ्यक्रम स्थानीय आवश्यकताका कुराहरु समेटी आफ्नो स्थानीय परिवेशअनुकूल मौलिक कला, संस्कृति र पेसाप्रति चासो बढाउन सरोकारवालाहरुको नै क्षमता अभिवृद्धि गर्दै स्थानीय तहमै निर्माण गरी कार्यान्वयन गरिने लचिलो प्रकृतिको पाठ्यक्रम हो ।
कतिपय स्थानीय तहमा निर्माण गरिएका स्थानीय पाठ्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भई त्यसले स्थानीय परिवेशको विकास र प्रचारप्रसारमा सकारात्मक भूमिका निर्वाहसमेत गरेको देखिन्छ । स्थानीय पाठ्यक्रम निर्माणपश्चात् त्यसको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहले आवश्यक अनुगमन गर्ने र आवश्यकताका आधारमा यसलाई समयानुकूल बनाउँदै लैजाने हो भने यसको प्रभावकारिता अझै बढ्ने पक्का छ । स्थानीय जात, जाति, भाषा, संस्कार, सभ्यता, मूल्य–मान्यता, परम्परा, चाडपर्व, हाटबजार, गीत, सङ्गीत आदिबारे आवश्यक जानकारी गराई आफ्नो परिवेश, सामाजिक, भौगोलिक, आर्थिक, सांस्कृतिक अवस्थाबारे सुसूचित गराउनु स्थानीय पाठ्यक्रमको एक प्रमुख उद्देश्य हो, हुनु पर्छ । समावेशी तथा सबैको अपनत्व महसुस हुने खालका स्थानीय विषयवस्तुको जगमा निर्मित पाठ्यक्रमबाट आपसी सद्भाव, मेलमिलाप, सामूहिक कार्य, सहिष्णुता तथा राष्ट्रिय एकताको भावनाको विकासमा पनि सहयोग पुग्ने अपेक्षा स्थानीय पाठ्यक्रमले राख्नै पर्दछ । तब मात्र यसले अपनत्व ग्रहण गरी यसको सफल कार्यन्वयन भई यसको उपादेयताको पुष्टि हुनेछ ।