सुदन थापा
दाङ, ६ पुस । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरूलाई भौतिकभन्दा पेसागत सुरक्षाको चुनौती रहेको बताएका छन् । उनले पत्रकारका पेसागत सुरक्षो चुनौती हटाउन सिङ्गो सञ्चार क्षेत्र एक हुनु पर्ने बताए । सुरक्षित मिडिया परियोजना अन्तर्गत नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष पोख्रेलले भने, ‘अहिले पत्रकारहरूलाई भौतिक सुरक्षाको चुनौतीभन्दा पेसागत सुरक्षा चुनौती बढी छ ।’
यसैगरी उनले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने पनि बताए । पत्रकारिता क्षेत्र सच्चिन सक्ने भन्दै उनले यसका लागि नागरिक समाजले निःस्वार्थ रूपमा सुझाव दिनु पर्ने बताए । ‘पत्रकारिता क्षेत्र सच्चिन सक्छ, यसका लागि नागरिक समाजले निःस्वार्थ रूपमा सुझाव दिनु पर्छ’, पोख्रेलले भने, ‘पत्रकारिता क्षेत्रलाई थप मर्यादित बनाउन नागरिक समाजको भूमिका अतिमहत्वपूर्ण रहन्छ ।’
राज्य र यसका निकायलाई सही बाटोमा ल्याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने भन्दै पोख्रेलले यसका लागि पत्रकारिता क्षेत्र मर्यादित बन्नु पर्ने बताए । आग्रह, पूर्वाग्रह नराखेर सही सूचना प्रवाह गरिनु पर्नेमा जोड दिँदै पोख्रेलले भने, ‘राज्यलाई सही मार्ग देखाउने काम सञ्चार क्षेत्रको हो, यसका लागि पत्रकारिता क्षेत्र मर्यादित बन्नु पर्छ ।’
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले समावेशिताका लागि पत्रकारिता क्षेत्रको भूमिका अहम् रहेको बताए । मर्यादित पत्रकारिताका लागि नागरिक समाजको भूमिका कस्तो हुने भन्नेबारे महासंघले अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पत्रकारिता क्षेत्रको अवस्था, चुनौती र यसको अपरिहार्यताबारे जानकारी गराएका थिए । कार्यक्रममा परियोजनाका प्रमुख गिरिराज अधिकारी, रविराज बराललगायतले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण महासंघका सहसचिव दशरथ घिमिरेले गरेका थिए ।