घोराहीमा मातृभाषाको पढाइ, एउटा विद्यालयको १ कक्षामा मात्रै

गोरक्ष समाचारदाता
दाङ, ६ पुस । घोराही उपमहानगरपालिकाले अघिल्लो कार्यकालमा उपमहानगर क्षेत्रका विद्यालयहरूमा मातृभाषा पढाइ सञ्चालन गर्ने निर्णय ग¥यो । झण्डै तीन वर्ष अघि गरिएको यो निर्णय कार्यान्वयनका लागि लागेको उपमहानगरले यहाँ थारु भाषाको पढाइ सञ्चालन गर्ने निधो ग¥यो तर उपमहानगरको यो निर्णय उपलब्धिमूलक देखिएन । उपमहानगरका अनुसार यसै शैक्षिक सत्रदेखि मातृभाषाको पढाइ त सुरु भयो तर एउटा विद्यालयमा मात्रै । त्यो पनि एक कक्षामा मात्रै ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित रात्री प्राथमिक विद्यालय बेलुवाको कक्षा १ मा मात्रै अहिलेसम्म मातृभाषाको पढाइ सुरु भएको छ । ‘हाम्रो उपमहानगरको एउटा विद्यालय त्यो पनि १कक्षामा मात्रै अहिले पढाइ सुरु भएको छ’, उपमहानगरका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले भने, ‘अब अर्को वर्षदेखि यो विद्यालयमा २ कक्षाको पनि पढाइ सुरु हुन्छ ।’ उनका अनुसार मातृभाषाको पठनपाठनका लागि अरू कुनै पनि विद्यालय इच्छुक देखिएनन् तर उपमहानगरले यसबारे पूर्वजानकारी नलिएर एकैपटक मातृ भाषाको पढाइ सञ्चालन गर्ने निर्णय लियो ।

‘थारु भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गर्ने उपमहानगरको निर्णयसँगै थारु भाषाको पढाइ पनि सञ्चालन गर्ने निर्णय भएको थियो’, गौतमले भने, ‘तर एउटा विद्यालय मात्रै थारु भाषा पढाउन इच्छुक भयो, अरू कुनै पनि विद्यालयले थारु भाषाको पढाइका लागि इच्छा देखाएनन् ।’ अन्य विद्यालयले भने थारु भाषाको पढाइभन्दा पनि स्थानीय पाठ्क्रम कार्यान्वयन गरेर पढाइ सञ्चालन गर्ने बताएका छन् । उपमहानगरले १ कक्षाका विद्यार्थीका लागि पुस्तक प्रकाशन गरेको समेत जनाएको छ । ‘पुस्तकहरू पनि विद्यार्थीलाई उपलब्ध गराइएको छ’, उनले भने, ‘एउटा विद्यालयबाहेक अरू विद्यालयले स्थानीय पाठ्यक्रम लागु गरेर पढाइ सञ्चालन गर्ने बताएको अवस्था हो, फलतः मातृभाषाको पढाइ सञ्चालनका लागि इच्छा व्यक्त नगरेको अवस्था हो ।’

उपमहानगरले घोराही क्षेत्रका विद्यालयमा १ देखि ३ कक्षासम्म मातृभाषाको पढाइ सञ्चालन गर्ने लक्ष्य राखेको छ । उपमहानगरले सुरुमा सादा पुस्तक तयार पारेको थियो । सादा पुस्तक विद्यार्थीका लागि उपयोगी नभएको भन्दै पछि पुनः रङ्गीन पुस्तक छापिएको थियो । अहिले मातृ भाषा पढाइ सञ्चालन भइरहेको विद्यालयका कक्षा १ मा अध्ययनरत २१ जना विद्यार्थीले ‘हमार थारु भाषा’ पढिरहेका छन् । ‘हाम्रो विद्यालयमा कक्षा १का २१ जना विद्यार्थीले थारु भाषा पढिरहेका छन्’, यो विषय पढाउँदै आएका शिक्षक लक्ष्मीमान चौधरीले भने, ‘थारु समुदायका बालबालिका यो विषय पढ्न उत्साहित देखिन्छन् ।’