मेरो खुशी : बनारसबाट एसएलसी पास गर्दा …

सामाजिक सेवामा होस् वा राजनीति, सबैतिर उनी सक्रिय व्यक्ति हुन् । समाजमा हुने सामाजिक कार्यदेखि विभिन्न राजनितिक सभा समेलनमा उनको सहभागिता नभएको कुनै पल छैन भन्दा अतिसयोक्ति होला । सधैँ खुसी र उमङ्गका साथ सत्कर्ममा सक्रिय समाजिक तथा राजनीतिकर्मी हुन्, एकराज आचार्य ।

तुलसीपुर–६ एकता टोल रजौरा निवासी पूर्व बैंकर्स, पूर्व प्रबन्धक आचार्यले आफ्ना जीवनका हरेक पल खुसी–खुसी बितेको बताउँछन् । उनको जीवनको सङ्घर्ष भित्रका खुसी धेरै छन् । चाहे त्यो प्रजातन्त्रका लागि विद्यार्थी आन्दोलन गर्दा होस् वा जुम्ला जस्तो विकट क्षेत्रमा शिक्षक भएर शिक्षाको उज्यालो बाँड्दा । खरिदारदेखि नेपाल सरकारको उपसचिव भई सेवा गर्दासम्मका थुप्रै खुसीका क्षण उनीसँग छन् । तिनै खुसीमध्ये उनले आफ्नो पहिलो खुसी विसं २०४० सालमा यूपी बनारसबाट एसएलसी पास गर्दाको बताए ।

उनी नेपालमा विसं २०३७ सालदेखि लगातार ३ पटक असफल भएको सम्झन्छन् तर उनी लगातारको असफलतापछि सफलता हात पर्छ भनेर बनारस पुगेर एसएलसी पास गर्न सफल भएको दिन निकै खुसी भएको सुनाए । ‘मेरो खुसीका क्षण धेरै छन् तर बनारसबाट एसएलसी पास गर्दाको खुसी नै पहिलो भएको लेखिदिनु होला’, उनले भने । त्यो सँगै उनले आइए पनि पास गरे । त्यो पनि उनको लागि खुसीको पल हो ।

विसं २०४४ सालमा नेपागञ्ज क्याम्पसमा बिएमा प्रविष्ट हुँदा पनि उनी कम्ता खुसी भएनन् । त्यो सँगै आचार्यले विसं २०४५ सालमा नराकोट मावि सिजा जुम्लामा शिक्षक भई शिक्षा दिन पाउँदा पनि असाध्यै खुसी मिलेको सुनाए । विसं २०४५ सालमा जुम्लाकै कृषि विकास बैंकमा लेखापाल पदमा स्थायी नोकरीमा सफलता हात पार्दाको खुसी पनि कम्ति थिएन उनको लागि । त्यससँगै उनी नेपालगञ्जमा अध्ययन गर्दा विसं २०४६ साल फागुन ७ गते प्रजातन्त्र बहालीका लागि सभामा नेविसंघको तर्फबाट भाषण गर्न पाउँदा पनि निकै खुसी भएको सुनाए । उनी भाषण गर्दागर्दै गिरफ्तार भई ७ दिन हिरासतमा बसेको कुरा पनि सुनाए । त्योसँगै त्यसपछि उनका लागि सुखद्का दिनहरू आएको बताउँछन् ।

विसं २०४८ सालमा पाल्पा जिल्लामा जागिरको सिलसिलामा सरुवा भई जिल्लाको संघको अध्यक्ष भई त्यहीँको क्याम्पसमा एमएस्सी इकोनोमिक्स संकायमा भर्ना हुँदा अर्को खुसी भएको सुनाए । त्यससँगै विसं २०५० सालमा कृषि विकास बैंकको मुख्य कार्यालयमा सरुवा भई नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको केन्द्रीय सचिवको जिम्मेवारी प्राप्त गर्दा अर्को खुसी मिलेको सुनाए । आचार्यले त्यससँगै कृषि विकास बैंकको पदपूर्ति समितिले नियम विपरित दरबन्दी बढाएको र चित्त नबुझेपछि सचिवको नाताले रिट दायर गरेको बताए । त्यहीँ मुद्दा पनि आफ्नो पक्षमा फैसला हुँदा मन प्रफुल्लित भएको आचार्यले बताए । जागिरको सिलसिलामै फेरि उनलाई अर्को सफलता हात परेको रहेछ । ‘म विसं २०५३ सालमा खरिदारबाट सुब्बामा बढुवा भएँ, त्यो पनि मेरो लागि त खुसीकै क्षण थियो’, आचार्यले भने ।

जागिर सँगसँगै कर्मचारी संघको नेतृत्व गरेका आचार्यले नेपाल वित्तीय संस्था केन्द्रको राष्ट्रिय महासचिव भई वित्तीय कर्मचारीहरूको हकहितका लागि आवाज उठाउन पाउँदा निकै खुसी लागेको सुनाए । विसं २०६१ मा उनी पुनः शाखा अधिकृतमा बढुवा भए । त्यसपछि आचार्य विसं २०६२ मा वीरगञ्जमा भएको अधिवेशनबाट बैंक तथा वित्तीय क्षेत्रको प्रजातान्त्रिक युनियन नेपालको वित्तीय संस्थाको केन्द्रीय सर्वोच्च पद अध्यक्षमा निर्वाचित भए । त्यो क्षणले पनि उनलाई निकै खुसी तुल्यायो । उनले युनियनको नेतृत्व गर्दै गर्दा जापान, थाइल्याण्ड, सिंगापुरजस्ता देशको नेतृत्व विकासका लागि तालिमामा सहभागी भई ज्ञान सिप आर्जन गर्न पाउँदा पनि खुसी मिलेको सुनाए ।

त्यस्तै आचार्यले विसं २०६३ सालमा दङाली समाज स्थापना गरी यसको अध्यक्ष भइ पूर्व प्रधानन्यायाधीश हरिप्रसाद गौतम, दिलिपकुमार पौडेललाई सम्मान गर्न पाउँदा तथा दाङलाई सबैतिर चिनाउन पाउँदा निकै खुसी भएको सुनाए । ‘मैले त्यससँगै राप्ती समाज काठमाडौँको अध्यक्ष र विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रम गर्न सफल भएँ यो पनि मेरो लागि खुसीको क्षण हो’, उनले विगत सम्झँदै भने । आचार्यले विसं २०६७ सालमा कृषि विकास बैंकमा एउटा लोकतान्त्रिक समावेशी युनियनको खाचो महसुस भएकाले तत्कालीन अर्थमन्त्री, गृहमन्त्री र श्रममन्त्रीको दबाब र नियन्त्रणका बाबजुद पनि युनियन गठन दर्ता गरी मान्यता दिलाएको दिन पनि आफू निकै खुसी भएको सम्झिए ।

त्यस्तै आचार्यले आफू कृषि विकास बैंकको शाखा प्रमुख हुँदा धेरैलाई सहयोग तथा उद्यमशिलताको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न तथा ऋण प्रवाह गर्न पाउँदा पनि खुसी भएको बताए । विसं २०७२ सालमा उपसचिवमा बढुवा भई आफ्नो भूमि तुलसीपुरमा प्रबन्धकको जिम्मेवारी पाउँदा अर्को खुसी प्राप्त भएको सुनाए । तीन वर्षको कार्यकालमा आफूले कार्य सम्पादनदेखि कार्यलयको प्रगति देखाएको भन्दै त्यसबापत पुरस्कृत हुँदा पनि खुसीको अनुभूति भएको आचार्यले बताए । त्यस्तै विभिन्न युनिनको नेतृत्व गर्दा तथा आफ्नो सफलतामा सबैले सहयोग गरेको र आफूलाई जिम्मेवारी दिएको भन्दै खुसी व्यक्त गरे ।

‘मेरो सफलतामा साथीभाइ, अग्रज व्यक्तित्व सबैको साथ र सहयोग छ, म त्यसमा पनि खुसी छु’ आचार्यले भने । कृषि विकास बैंकको प्रबन्धकबाट सेवा निवृत्त भएका एकराज आचार्यले त्यसपछि सामाजिक सेवा तथा राजनीतिमा लागेर सेवा गर्नु नै आफ्नो खुसी र मनको शान्ति भएको बताउँछन् । आचार्य नेपाली कांग्रेसको राजनीतिमा अहिले सक्रिय छन् भने अन्य समाजिक संघसंस्थामा आवद्ध भई सेवा पनि गरिरहेका छन् ।
प्रस्तुती : बालाराम खड्का