वर्तमानले भविष्य निर्धारण गर्छ

नारायणप्रसाद श्रेष्ठ
समाज र राष्ट्रको भविष्य वर्तमान पुस्ताले सिक्ने सिकाउने ज्ञान र सीपको भरमा निर्धारण भएको हुन्छ । असल शिक्षाले असल संस्कृति र बुद्धिमान प्रतिभाको निर्माण गर्दछ । त्यसैले आजका विद्यार्थी भोलिका कर्णाधार हुन् भनिएको हो । सुसंस्कृति र सभ्य नागरिकको उद्गमस्थल शिक्षा नै मानिन्छ । शिक्षाको उज्यालो ज्योतिबाट र मानिसले आफ्नो प्रतिभा र व्यक्तित्वबाट नयाँ परिस्थितिको सिर्जना गर्न सक्षम हुन्छ ।

शैक्षिक वातावरण ल्याउने अनुशासित र अनुशासित जीवनशैलीबाट नै समाज र राष्ट्रको निर्माण भएको हुन्छ । बालकको मुस्कुराहट उसले प्राप्त गरेको शिक्षाबाट नै प्रतिविम्बित भएको हुन्छ । अर्को कुरा शैक्षिक वातावरणले जुन परिवेशको उद्घाटन गर्दै जान्छ सोही अनुरुप व्यक्तिको आचरण र विचारमा परिमार्जित हुँदै जान्छ । त्यसैले बालकको हेर्ने, बुझ्ने र नक्कल गर्न खोज्ने प्रवृत्तिलाई र उसको सिकाईको लक्षण बुझी नैतिकवान् बनाउन सुरुदेखि नै वातावरणलाई स्वच्छ बनाउनु पर्छ । त्यसको लागि घरपरिवारबाटै सुरुवात हुन जरुरी छ । स्वच्छ र संस्कारयुक्त शिक्षाको सुरुवात प्रथमतः घर तत्पश्चात विद्यालयबाट पु¥याउन जरुरी हुन्छ ।

यदि उसलाई शिक्षा हासिल गर्ने क्रममा उसको रोजाई अनुसारको वातावरण पैदा गर्न सकिएन भने विद्यार्थीको मन मस्तिष्क अनैतिक प्रवृत्तितिर धकेलिँदै जान्छ । उसले शिक्षा त हासिल गर्छ तर उसको सोच र प्रवृत्तिका खासै उल्लेखनीय प्रतिभा पैदा हुन सक्दैन । त्यसैले घरपरिवारदेखि विद्यालयमा हुने सिकाई प्रविधि र अनुशासित एवं मर्यादित वातावरण बनाउन विद्यालयले शैक्षिक क्षेत्र सुरुदेखि नै भावनात्मक सम्बन्ध गाँस्ने वातावरण तयार गर्नु पर्छ । घोकन्ते र किताबी शिक्षाले मात्रै दिने अन्य वैकल्पिक शिक्षा नीति जसले उसको जीवनलाई नैतिक, चरित्रवात र अनुशासित जीवनशैली अपनाउन मद्दत गर्दछ, त्यो शिक्षा र वातावरण भएन भने बच्चाले सत्यलाई झुट र झुटलाई सत्य बनाउने भौतिक शिक्षा सिक्दै जान्छ ।

जसको परिणाम उसको आचरण र व्यवहारमा क्रुरता जागृत भई उसको आचरण गलत दिशातर्फ प्रदर्शित हुँदै जाने अवस्था हुन्छ । बच्चा गिलो माटोसरह हुन्छ । गिलो माटोलाई जसरी जुनसुकै आकार प्रकार गराइन्छ त्यसरी नै बच्चाको दिमाग पनि गिलो माटो सरह हुने हुँदा उसले पहिले जे देख्दछ, जे सुन्छ, बुझ्छ, अभिभावकले जे गरेको पाउँछ, जे उसलाई सिकाइन्छ सोही अनुरुप उसले आचरण र व्यवहार देखाउने हुँदा यसतर्फ समयमै सजग हुन जरुरी हुन्छ । हाम्रो समाज राष्ट्रको भविष्य उसको सिकाई र क्षमताको आधारमा अगाडि बढ्ने हुँदा शिक्षामा गुणस्तरीयता हुन जरुरी छ ।

गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रवृत्ति अनुकूल शैक्षिक वातावरणले नै उसको भविष्य निर्धारण हुने हुँदा हामी स्वयम्को परिवार र हाम्रो विद्यालयको शैक्षिक गुणस्तरमा हामी बढी चनाखो हुन जरुरी छ । हामीले हाम्रो स्रोत, साधन र परिवेशलाई कस्तो किसिमको शैक्षिक वातावरणमा लैजाँदै छौं ? हामी स्वयम्ले महशुस गरी विद्यालय र घरको वातावरण बनाउन सघाऊ पु¥याउनु पर्छ । विद्यालयमा सिकाइने नैतिक र व्यावहारिक शिक्षाले विद्यार्थी कुन दिशातर्फ उन्मुख भइरहेको छ तथा उसले के–कस्ता क्रियाकलाप गर्दै छ ? भन्ने विषयमा पनि अभिभावक बढी चनाखो हुन जरुरी हुन्छ । विद्यालयमा सिकाइने सिकाई प्रविधिको कारण वहुआयामिक प्रतिभा कसरी विकसित भएको छ ?

सिक्ने र सिकाउनेबीचको सम्बन्ध कस्तो भएको छ ? विद्यार्थीहरु कति अनुशासित र मर्यादित छन् ? कतै शिक्षक र विद्यार्थीबीच सिकाउने र गरिने व्यवहारमा कतै त्रुटि त छैन ? त्यो तर्फ पनि गम्भीर बन्नु पर्छ । विद्यार्थीबीचको अन्तरसम्बन्ध तथा गुरु र बच्चाको सौहार्दता र सामिप्यता कस्तो छ ? त्यो अनुसार सामाजिक पर्यावरण समेत निर्माण हुने हुँदा त्यसतर्फ सजग रही शैक्षिक वातावरणमा स्वच्छता ल्याउन जरुरी छ । त्यसको लागि गुरुआमा वा बा ले बोली भाषा, सभ्यता र संस्कृतिलाई स्वयम् बुझ्दै आफू स्वयम्ले महशुस गरी आफ्नो विद्यार्थीहरुका लागि परेका कुरा र सिक्न चाहेका कुराहरु गुरु र गुरुआमा स्वयम्ले सिकाउने अभ्यास गर्नुपर्छ ।

गुरु र गुरुआमाबीचको सम्बन्ध कुन वातावरणभित्र गुज्रिरहेको छ ? विद्यार्थी सिक्ने र सिकाउने अवस्थामा बढी चनाखो भएर बुझ्ने र निगरानी गरिरहने हुँदा यसतर्फ पनि सजग रही शैक्षिक वातावरण प्रभावकारी बनाउनेतर्फ लागिरहनु पर्छ । यसका लागि शैक्षिक जागरण बढाउने गरुवर्गहरु पनि स्वयम् नैतिक वा चरित्रवान भएर प्रस्तुत हुनु पर्छ । विद्यार्थी, विद्यालयबाट बाहिर आइसकेपछि विद्यालयमा सिकेको व्यवहार र सामाजिक वातावरणमा देखिन शिष्टता र व्यवहारमा कुनै भिन्नता नदेखिने स्थिति बनाउनु पर्छ । विद्यार्थीको निर्णय क्षमतामा कठिनाई भई क्षमताको अभावले विचार कुण्ठित हुने अवस्था पनि आउन नदिनेतर्फ गुरु, गुरुआमाले विशेष ध्यान दिनु पर्छ ।

गुरुबाले मस्तसँग प्रत्यक्ष वा अप्रत्यक्ष चुरोट, रक्सी पिउने अनि विद्यार्थीलाई यस्तो गर्न हुँदैन भनी सिकाइयो भने यो प्रत्युत्पादक हुन पुग्छ । यसले गुरु र विद्यार्थीबीचको सम्बन्धमा असमझदारी उत्पन्न भई शैक्षिक वातावरण धमिलिन सक्छ । त्यत्ति मात्र होइन वाह्य जीवनमा पनि यदि गुरुले गलत कार्य गरिरहेको छ भने बच्चाले पनि त्यही कुरा सिको गर्दै जाने अवस्था रहन्छ । त्यसैले विद्यार्थीको मनोविज्ञानलाई गुरुहरुले बुझ्न जरुरी हुन्छ । विद्यार्थीको चाहना र गराई एकातिर गुरु र अभिभावको चाहना अर्कोतिर भई तालमेल नमिल्ने स्थिति भयो भने यसले समाजलाई सिधै नकारात्मक अवस्थातर्फ धकेल्दछ । तसर्थ घरपरिवारको अभिभावकत्व तथा विद्यालयभित्रको शैक्षिक वातावरण स्वच्छ र नैतिक शिक्षातर्फ आकृष्ट भइरहनु पर्छ ।

शिक्षा प्रणालीलाई प्रविधियुक्त नैतिक शिक्षाउन्मुख गुणस्तरीयता ल्याउने गतिविधिमा सकारात्मक सोच हुन जरुरी हुन्छ । विद्यालयले सरसफाईमा बस्ने स्थान, ध्वनी प्रदूषण, समयको प्रवाह, विद्यार्थी र गुरुबीचको अन्तर सम्बन्ध, व्यावहारिक आचरण र व्यवहार सिक्ने र सिकाउने प्रविधि अनुकूल आफूलाई प्रस्तुत गर्नु पर्छ । घोकन्ते विद्या व्यावहारिक शिक्षा प्रणालीमा नमिल्ने विषय हुन् । त्यसैले वर्तमानले भविष्य निर्धारण गर्छ भन्ने सत्य ग्रहण गरी प्रत्येक विद्यालय क्षेत्र संस्कारयुक्त शृंगारले भरिएको सिर्जनात्मक प्रतिभा उत्पादन गर्ने थलोको रुपमा सबैले सोच्नु पर्छ ।

अब केही समयपछि नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । यसको लागि अहिलेदेखि नै विद्यालयको कामकार्य र योजनाको खाका तयार पार्दै साच्चिकै विद्यालय भाविष्यको कर्णाधार उत्पादन गर्ने पवित्र मन्दिर बनाउनेतर्फ सबै लागिपर्नु परेको छ । वर्तमान संघीय संरचना अनुसार अहिले विद्यालयहरु स्थानीय तहअन्तर्गत् परिचालन गरिँदै आएको छ । अहिलेको अवस्थामा शिक्षा नीतिमा दुई धार देखापरेको छ । एउटा सरकारी स्तरबाट र अर्को अर्धनिकायबाट विद्यालय सञ्चालन भइरहेका छन् । शैक्षिक वातावरणमा राजनीतिक कारणले बढी प्रभाव पारिरहेको अवस्था छ । एकातिर शैक्षिक दरबन्दी आवश्यकताअनुसार नभइरहेको अवस्था छ भने अर्कोतर्फ सुविधा सम्पन्न स्थानमा दरबन्दी कायम गराउने राजनीतिक परिदृश्यले शैक्षिक वातवारण धमिलिँदै गएको छ ।

कतिपय बोर्डिङ स्कूल व्यापारिक सोचअनुसार परिचालित भएका छन् । शिक्षा नीतिमा राजनीतिक आवरणले प्रत्यक्ष प्रभाव पारिरहेको छ । सरकारी विद्यालयको सिकाई प्रविधि कमजोर छ । सरकारी शिक्षक स्वयम् संस्थागत विद्यालयप्रति जिम्मेवार भएर प्रस्तुत भएका छन् । यस्तो अवस्थामा यदि स्थानीय तहका प्रतिनिधि स्वयम गम्भीर नबन्ने हो भने अबको शिक्षा नीतिले हाम्रो भविष्य कस्तो हुने हो ? गम्भीर चुनौती आएको छ । यदि यस अवस्थामा धैर्य र सहनशील भइएन, मुठ्ठीभर व्यक्तिको अधिनमा अधिकार प्राप्त व्यक्ति लागि पर्न थाले अथवा शैक्षिक वातावरणलाई रकममा सटही गर्ने किसिमले परिचालन हुने अवस्था आयो भने यसले ल्याउने परिणामको दोषी हामी सबै नेपाली हुनुपर्ने हुन्छ ।

पानीमाथि ओभानो बन्ने राजनीतिक चरित्रले हिजो देखाएको चरित्र पुनः दोहोरियो र गुणात्मक शिक्षाको अभाव खड्कियो भने हामी स्वयम् यसको कारक बन्नु पर्छ । तसर्थ यसप्रति सबै जनप्रतिनिधि, शिक्षाविद्, आमनागरिक र अभिभावक स्वयम् सजग र सतर्क हुन जरुरी छ । भनिन्छ उत्तेजना र बल भन्दा शिष्टता र मित्रता उत्तम विकल्प हो । यदि शिष्टताले मानिसको आवश्यकता परिपूर्ति गर्दै मानवोचित शिक्षा नीति अवलम्बन गर्न सक्छ भने, मैत्रीभाव, सहानुभूतिले सिर्जनाका नयाँ पालुवा निर्माण गर्न सकिन्छ भने रिस र आवेश र आलोचना होइन नम्रता र शिष्टता एवं अनुशासित आचरण देखाई आदर्श समाज निर्माणको अँकुर पलाउनेतर्फ हामी सबै लागिपर्नु पर्दछ ।

भाषा, संस्कृति, रहनसहन र संस्कारलाई स्वच्छ पर्यावरण र सामाजिक मर्यादाभित्रको शैक्षिक क्षेत्रलाई परिस्कृत गर्दै हामी सबै उदाहरण बन्न सिकौं । भविष्यलाई वर्तमानले डो¥याउने हुँदा वर्तमान समयमा शैक्षिक वातावरणमा देखिएको विकृतिलाई हटाई गुरुकुल शिक्षाको वास्तविक यथार्थसँग मेल खाने गरी आफूलाई प्रस्तुत गर्ने वातावरण तयार गरांै । सामाजिक आदर्श झुल्किने शिक्षा प्रणालीतिर ध्यान केन्द्रित गरौं । आफ्नै माटो सुहाउँदो शैक्षिक प्रणालीतिर ध्यान केन्द्रित गर्नतिर लागिपरौं । यसैमा हाम्रो कल्याण र भविष्य पनि निर्धारण हुन्छ । समय हामीलाई यही गर्न गराउन उत्प्रेरणा जगाओस्, यही कामना ।