स्थानीय पाठ्यक्रम
गोरक्ष समाचारदाता
दाङ, ४ पुस । स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत स्थानीय पाठ्यक्रम लागु गरेर पठनपाठन गर्ने व्यवस्था अनुसार जिल्लाका अधिकांश स्थानीय तहले स्थानीय पाठ्यक्रम लागु गरेका छन्, सँगै थोरै स्थानीय तहले सोही पाठ्यक्रम अनुसार पाठ्पुस्तक पनि निर्माण गरिसकेका छन् । जसका कारण यी स्थानीय तहमा पठनपाठनमा सहज भएको छ तर पाठ्यक्रम तयार नपारिएका स्थानीय तहमा भने पठनपाठनमा असहजता उत्पन्न भइरहेको छ । स्थानीय पाठ्यक्रम लागु भएका तर पाठ्यपुस्तक तयार नभएका स्थानीय तहका शिक्षकले पाठ्यपुस्तक नहुँदा पठनपाठनमा असहज भइरहेको बताएका छन् ।
घोराही उपमहानगरपालिका १५ स्थित सरस्वती माध्यमिक विद्यालय काठेकोहलकी शिक्षक सावित्री श्रेष्ठले विद्यालयमा स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो घोराही’ विषय पढाउँछिन् । कक्षा ५ र ८ का विद्यार्थीलाई यो विषय पढाउने गरेकी श्रेष्ठले आफूलाई पढाउन मात्रै नभई विद्यार्थीलाई बुुझाउन समेत गाह्रो हुने गरेको बताउँछिन् । ‘पाठ्यक्रम मात्रै छ, किताब छैन’, उनले भनिन्, ‘किताब नहुँदा हामीलाई पढाउन त असहज छ नै, विद्यार्थीलाई बुझाउन झनै गाह्रो हुन्छ ।’
श्रेष्ठले स्थानीय पाठ्यक्रमका आधारमा विषयवस्तु तयार पार्छिन् तर विद्यार्थीसँग पुस्तक हुँदैन । फलतः उनले पढाएका कुरा विद्यार्थीले सहजै बुझ्दैनन् । ‘हामीले पढाएका कुरा त विद्यार्थीले सिक्न सक्नु प¥यो नि !’, उनले भनिन्, ‘तर हामीले पढाएका कुरा विद्यार्थीले बुझ्नका लागि त उनीहरूको हात–हातमा पुस्तक हुनु प¥यो नि !’
सोही विद्यालयका शिक्षक हेमराज शर्माले पनि स्थानीय पाठ्यक्रम मात्रै नभएर शिक्षण सिकाइका लागि पाठ्यपुस्तक अनिवार्य चाहिने बताउँछन् । पाठ्यक्रमले उल्लेख गरेका विषयवस्तु खोजेर शैक्षिक सामग्री जुटाउन समेत समस्या हुने भन्दै उनले पाठ्यक्रमका आधारमा मात्रै पढाउन धेरै असहज हुने गरेको बताए । ‘पाठ्यक्रमले उल्लेख गरेका विषयवस्तु अन्तर्गतका पाठ्यसामग्री तयार पार्न शिक्षकलाई समस्या हुने गरेको छ’, उनले भने, ‘कुनै स्थानबारे विद्यार्थीलाई जानकारी दिनु पर्दा शिक्षकलाई उक्त विषयको पूरापुर जानकारी हुँदैन, न त खोजेरै भेटिने खालका नै हुन्छन्, यसर्थ विज्ञ राखेर पाठ्यपुस्तक तयार पारेको खण्डमा मात्रै पठनपाठनमा सहज हुन्छ ।’
उनका अनुसार अहिले पाठ्यपुस्तक नहुँदा सतही ज्ञान मात्रै दिन सकिएको छ । ‘पाठ्यक्रमले निर्दिष्ट गरेका सबै विषयवस्तुको पूर्ण जानकारी प्राप्त हुँदैन’, शर्मा भन्छन्, ‘सतही कुराहरू मात्रै विद्यार्थीलाई सिकाइ गर्नु पर्ने हुन्छ ।’ घोराही उपमहानगरपालिकाले पाठ्यक्रम लागु गरेको छ तर पाठ्यपुस्तक भने तयार पारेको छैन । फलतः शिक्षकलाई शिक्षण सिकाइमा असहजता निम्तिएको छ । जिल्लाकै बंगलाचुली गाउँपालिकाले पाठ्यक्रम लागु त गरेको छ तर पाठ्यपुस्तक भने तयार पारेको छैन । फलतः यहाँका विद्यालयमा पनि प्रभावकारी पठनपाठन हुन सकेको छैन । यहाँका शिक्षकले पनि पाठ्यपुस्तक नहुँदा शिक्षण सिकाइ गर्न धेरै असहज भइरहेको बताएका छन् ।
‘पाठ्यक्रम छ तर पाठ्यपुस्तक छैनन्’, बंगलाचुली गाउँपालिका स्थित महेन्द्र नमुना मावि श्रीवारीका प्रधानाध्यापक इन्द्रबहादुर बुढा मगरले भने, ‘पाठ्यपुस्तक नहुँदा शिक्षण सिकाइमा धेरै असहज भइरहेको छ ।’ शिक्षण सिकाइका लागि पाठ्यक्रमसँगै पाठ्यपुस्तक अनिवार्य हुनु पर्छ तर पाठ्यपुस्तक नभएको अवस्थामा पाठ्क्रमकै आधारमा विषयवस्तु जुटाएर अध्यापन गरिनु पर्ने जिल्ला शिक्षा समन्वय इकाइ बताउँछ । ‘शिक्षण सिकाइका लागि पाठ्यक्रमसँगै पाठ्यपुस्तक पनि अनिवार्य चाहिन्छ’, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख देवमणि चौधरीले भने, ‘तर पाठ्यपुस्तक नभएको अवस्थामा शिक्षकले अलि मिहिनेत गरेर पाठ्यक्रमका आधारमा शिक्षणका लागि शैक्षिक सामग्री जुटाउनु पर्छ ।’ यसका लागि स्थानीय पालिकाले शिक्षकलाई सन्दर्भ सामग्रीको व्यवस्थापनमा सहजीकरण गर्नु पर्ने उनले बताए ।
स्थानीय पाठ्यक्रमले उल्लेख गरेका विषयमा पठनपाठनको लागि आवश्यक स्रोत खोजी गर्न सम्बन्धित शिक्षकहरूलाई तालिमको व्यवस्था गरिनु पर्ने चौधरीले बताए । उक्त तालिमबाट प्राप्त सिकाइका आधारमा शिक्षकले स्रोत सामग्री भेटाउन सके÷नसकेको बारे पुनः उनीहरूको अनुभव पालिकाले सुन्नु पर्छ । तत्पश्चात थप स्रोतका लागि पालिकाले नै उनीहरूलाई जानकारी दिनु पर्ने चौधरी बताउँछन् । ‘पाठ्यपुस्तक नभएको अवस्थामा शिक्षक आफैले स्रोत जुटाएर शिक्षण गर्नु पर्छ तर यसको स्रोत खोजीका लागि पालिकाले सहजीकरण गर्नु पर्ने हुन्छ’, चौधरी भन्छन्, ‘अनि शिक्षकहरूले स्रोत फेला पारे÷नपारेको पुनः जानकारी लिने र उनीहरूलाई स्रोतबारे थप उपाय दिने काम पालिकाले गर्नु पर्छ, यसो हुन सकेको खण्डमा शिक्षकहरूलाई शैक्षिक सामग्रीको स्रोत पहिल्याउन सहज हुन्छ र शैक्षिक क्रियाकलाप प्रभावकारी हुन्छ ।’
पाठ्यपुस्तक नहुँदा शिक्षकभन्दा पनि विद्यार्थीहरूलाई दैनिक अभ्यासमा असहज हुने उनको भनाइ छ । ‘विद्यार्थीले नियमित अभ्यास गर्न पाठ्यपुस्तक नहुँदा असहज हुन्छ’, उनले भने, ‘पाठ्यपुस्तक भयो भने विद्यार्थीले पुस्तक पल्टाइरहन्छन्, यसले पनि सिकाइमा थप मद्दत पु¥याउँछ ।’ स्थानीय पाठ्यक्रमका आधारमा तुलसीपुर उपमहानगरपालिकालगायतका केही पालिकाले भने पाठ्यपुस्तक तयार पारेका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिकाले ‘हाम्रो तुलसीपुर’ नामक पुस्तक तयार पारिसेकोे छ ।
यसैगरी गढवा गाउँपालिकाले पनि ‘हाम्रो गढवा’ नामक पुस्तक तयार पारेको छ । दंगीशरण गाउँपालिकाले पाठ्यक्रम लागु गरेको छैन । बबईमा पनि आगामी शैक्षिक सत्रदेखि मात्रै पाठ्यक्रम लागु हुने भएको छ । यसैगरी राप्ती गाउँँपालिकामा एकदेखि ३ कक्षासम्म पाठ्यपुस्तक तयार पारिएका छन् भने शान्तिनगर गाउँपालिकामा १ देखि ५ कक्षासम्मका पाठ्यपुस्तक तयार पारिएका छन् । यसैगरी राजपुरमा पाठ्यक्रम लागु भएको भए पनि पाठ्यपुस्तक भने छैनन् । लमही नगरपालिकाले पनि पाठ्यपुस्तक तयार पारेको छैन ।